१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
राजेश विद्रोही
२०७६ कार्तिक २१ बिहीबार ०९:०१:००
Read Time : > 3 मिनेट
दृष्टिकोण

दलित कि शिल्पी ?

दलित समुदायको गौरवशाली इतिहासमाथि प्रश्न उठाउँदै शिल्पी नामकरण गर्न खोज्नु दलितसँग सम्बन्धविच्छेद गर्न खोज्नु हो

Read Time : > 3 मिनेट
राजेश विद्रोही
२०७६ कार्तिक २१ बिहीबार ०९:०१:००

यतिवेला राजनीतिक बजारमा फेरि नयाँ–नयाँ शब्दको खेती सुरु भएको छ । अहिले आएर युगौँदेखि विभेद र उत्पीडनमा पारिएका समुदायमाथि उक्त खेती गरिन लागिएको छ । तर, यो कत्तिको जायज छ बुझ्न जरुरी छ । आजको युगसम्म आइपुग्दा दलित एउटा संघर्ष र बलिदानको नाम बन्न पुगेको छ । यसअघि दलितलाई अपहेलित र अछुतका रूपमा चिनाउने खेल भयो । त्यो कार्य नरोकिएको भए पनि धेरथोर भए पनि फेरिएको छ ।

 इतिहास जहाँबाट बिग्रेको छ, त्यहाँबाट शासकले त्यसको जिम्मा लिनुपर्छ र नयाँ शिराबाट इतिहास सच्याउन जरुरी छ । हिजो पेसाका आधारमा जसरी जातीय नामकरण भयो र दलित समुदायसँग जुन अमानवीय व्यवहार भयो, त्यो दुःखद् थियो । आज दलितमाथि नयाँ ढंगको जातीय विभेद कायम गर्न केही राजनीतिक दल, केही ढोँगी बौद्धिक र दलितको नाम भजाउने बाहुनवादी प्रवृत्ति बोकेकाहरू दलितलाई नै सखाप गरी शिल्पी नामकरण गर्न लागिपरेका छन् ।

उनीहरू दलितलाई अपमानजनक र पछि लादिएको शब्द भन्छन् । तिनको भनाइमा शिल्पी हाम्रो इतिहास हुदाँहुँदै पनि शासकले त्यसलाई ओझेलमा पारे र नयाँ शब्द राखेर अपमानित गर्दै आए । अर्कोतिर दलित शब्दका पक्षधरको नजरमा दलित शब्दले इतिहासको नकारात्मक पक्षको सम्झना गराउँछ । इतिहासलाई पल्टाउने हो भने दलितलाई सम्बोधन गर्ने पुराना शब्द कागजको पानामा थुप्रै भेटिन्छन् । 

केही एनजिओवादी र दलितको नाममा सिंहदरबार छिरेकाहरू वर्ग फेरिएको अवस्थामा पुगेपछि ‘दलित’ शब्दबाट आतंकित छन् । र, आफ्नो इतिहाससँग सम्बन्धविच्छेद गर्न नयाँ शब्दको खोजीमा लागेका छन् ।

उनीहरू दलितको पहिचान छोप्न ‘शिल्पी’ शब्दको प्रयोग गर्न थालेका छन् । यो भनेको नेपालको राजनीतिमा संघर्ष र बलिदानमा गौरवशाली इतिहास कायम गरेको दलित समुदायको इतिहासमाथिको घोर अपमान त हो नै, दलित समुदायमाथिको धोका र गद्दारी पनि हो । वर्ग फेरिएका त्यस्ता दलित समुदायका व्यक्तिले आफ्नो थर फेरे हुन्छ । राज्य र संविधानले तिनलाई त्यो अधिकार दिएको छ । तर, उनीहरूलाई सिंगै समुदायको अस्तित्व नामेट पार्न खोज्ने अधिकार छैन । वर्ग फेरिएको अवस्थामा सोच, चिन्तन, विचार, तर्क र दर्शन पनि आफ्नो वर्गअनुकूल फेर्नु नयाँ कुरा होइन ।

आमदलित समुदायको स्थिति हेर्ने हो भने अहिले पनि उनीहरूको अवस्था उपेक्षित, उत्पीडित र शोषित तथा अपहेलित नै छ । सिंगो दलित समुदायको प्रतिनिधित्व गर्ने वाचा गरेका एकथरी नयाँ वर्गमा फेरिए पनि समग्र समुदायको अवस्था फेर्न सकेनन् । सत्तानजिक भएपछि तिनले ‘खोलो त¥यो लौरो बिर्सियो’झैँ गरेका छन् । र, दलित शब्द उनीहरूलाई घाँडो हुन पुगेको छ । उनीहरू नाफामा मात्र ध्यान दिने व्यापारीजस्ता भएका छन् । राजनीतिक व्यापारीलाई दलित समुदायको गौरवशाली इतिहासमाथि प्रश्न उठाउने कुनै अधिकार छैन ।

मुलुकमा कुनै पनि जाति वा मानिस सीपविनाको छैन । के ती सबै समुदायलाई सिल्पी भनियो भने दलितको पहिचान मेटिँदैन ? आफूलाई शिल्पी भनाउन चाहनेले अरू समुदायको जातीय पहिचान पनि मेटाउन सक्छन् ? २०६८ को जनगणनाअनुसार मुलुकमा दलितको जनसंख्या १३.६३ प्रतिशत छ । दलितहरू देशैभरि छरिएका छन् ।

सघन बसोवास भएको कुनै निश्चित भूगोल नभएकाले दलितको कुनै विशेष भूगोल छैन । सिंहदरबार र काठमाडौंबाट एकथरी समाजवादमा दलित हुँदैन, शिल्पी हुन्छ भनिरहेका छन् भने अर्काथरीले दलितविनाको समाजवादको कल्पना गर्न नसकिने भनिरहेका छन् । यसले दलितलाई विभाजित गरेको छ । यो विभाजन र विवादले केही राजनीतिक व्यक्तिलाई सत्तामा पुग्न र सत्ता टिकाउन सहयोग पुग्ला, तर दलित समुदायले पूर्ण मुक्ति पाउन सक्दैैनन् ।

आज दलितमाथि नयाँ ढंगको जातीय विभेद कायम गर्न केही राजनीतिक दल, ढोँगी बौद्धिक र दलितको नाम भजाउने बाहुनवादी प्रवृत्ति बोकेकाहरू दलितलाई शिल्पी नामकरण गर्न लागिपरेका छन् ।
 

दलितभित्र जातीय विभाजनकै कारण दलितभित्रै पनि छुवाछुत छ । तर, दलितलाई नयाँ शब्दले पुकारेपछि एउटा दलितले अर्को दलितको अस्तित्व र नेतृत्व नस्विकार्ने स्थिति झन् मजबुत बन्दै जाने देखिन्छ । यसबाट दलित समुदाय झन् विभाजित हुने खतरा बढ्छ । ‘फुटाऊ र शासन गर’ भन्ने शासकको षड्यन्त्रकै एउटा चाल त होइन ? सम्पूर्ण दलित समुदाय सचेत हुनुपर्नेछ । दलित समुदायको आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक विभेदबाट उन्मुक्तिका लागि ठूलो रूपान्तरणको खाँचो छ । यसरी शब्द फेर्दैमा यो समुदायमाथिको विभेद र उत्पीडन फेरिन सक्दैन ।

इतिहासकै कुरा गर्ने हो भने पहिले युद्धमा जसको हार हुन्थ्यो, त्यसलाई दास र नोकर बनाइन्थ्यो । तिनलाई केही बोल्ने अधिकार हुँदैनथ्यो । दलितको शासनको पनि छुट्टै इतिहास छ । सिरहामा सल्हेस राज्य रहेको इतिहास छ, जसमा सल्हेश दुसाद जातिका राजा थिए । सप्तरीमा दिनानाथ दिनाभद्री मुसहर जातिका राजा थिए । नवलपरासीमा कामीको राज्य र शासन थियो ।

प्युठानको बादीकोटमा बादी जातिको राज्य र शासन थियो । अछामको दर्नाकोट र सल्यानको दर्माकोटमा दमाईको राज्य थियो । बझाङको सुनिकोट र जुम्लामा पनि सुनारको राज्य थियो । त्यसका राजा देशवदेव थिए । मुगुको विलयकोट, कास्कीको सारंकोट, जुम्लाको सार्कीकोटमा सार्कीको शासन थियो । यस्ता थुप्रै ऐतिहासिक ठाउँ अझै पनि छन्, जहाँ दलितको राज्य र शासन थियो ।

आज अछुत बनाइएका ती दलितको राज्य र शासन कहाँ हरायो र किन हरायो ? कसरी दलित गैरभौगोलिक भए ? दलितको पहिचान र सामथ्र्य कहाँ हरायो ? प्रश्न र स्थिति गम्भीर छैन र ? हिजोका शासकमाथि कामचोर र चतुरे भन्दै आक्रमण भयो र ती दास बनाइए र तिनै कालान्तरमा दलित बनाइए । दास अवस्थामा तीमाथि नवशासकले आफ्नो भाषा र संस्कृति जबर्जस्त बोकाए । नवशासकले दलितको सारा इतिहास पनि सखाप पारेका र विभेदको प्रणाली स्थापित गरे । बाईसे–चौबीसे राज्यको निर्माण र एकीकरणको समयमा पृथ्वीनारायण शाहले चार वर्ण ३६ जातको साझा फूलबारीको रूपमा परिभाषित गरेपछि दलितलाई त्यहाँ पनि शूद्रको संज्ञा दिएर घोर अपमान गरियो । अहिले पनि नेपाली शब्दकोषमा दलितलाई अछुत र पानी नचल्ने तथा इज्जत प्रतिष्ठा नभएको जातको रूपमा परिभाषित गरिएको छ । 

दलित भनेको एउटा इतिहास हो भने शिल्पी शब्दको खेती मात्र हो । समाजवादी व्यवस्थामा राजनीतिक दल र नेताले दलितलाई विभेदविनाको शब्द प्रयोग गरेर सम्मानजनक ढंगले क्षतिपूर्तिसहितको विशेषाधिकार दिन सक्दैन भने ती राजनीतिक दल वा राजनीतिक अभियानले कहिले पनि दलितलाई अमानवीय जीवनबाट मुक्त गर्न सक्दैनन् । अहिलेसम्म दलित समुदायमा आएको परिवर्तन कसैले दया–माया गरेर दिएर आएको परिवर्तन होइन, धेरै ठूलो त्याग, तपस्या, संघर्ष र बलिदानबाट आएको परिवर्तन हो । राज्यस्तरबाटै यसको रक्षा, प्रयोग र थप विकास गर्न जरुरी छ । 

(लेखक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा गैरभौगोलिक विशेष प्रदेशका सहइन्चार्ज हुन्)