मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
सम्पादकीय काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार ०७:४९:००
Read Time : > 1 मिनेट
सम्पादकीय

बल्झिरहने विवाद

Read Time : > 1 मिनेट
सम्पादकीय काठमाडाैं
२०७६ कार्तिक २१ बिहीबार ०७:४९:००

दुई दिनदेखि नेपाली समाज तरंगित छ । भारतले हालै जारी गरेको आफ्नो औपचारिक नक्सामा लिम्पियाधुरालगायत कालीवारिको त्रिदेशीय सीमाक्षेत्रसमेत समेटी प्रकाशन गरेपछि नेपाल तरंगित भएको हो । बुधबार काठमाडौंमा विद्यार्थी र युवाको एक समूहले प्रदर्शन आयोजना ग-यो । सबैजसो राजनीतिक दलले यस सम्बन्धमा आफ्नो चासो र सरोकार व्यक्त गरेका छन् ।

बुधबार परराष्ट्र मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी भारत सरकारले हालै सार्वजनिक गरेको राजनीतिक नक्सा अस्वीकार्य भएको बताउँदै दुई राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्ताबेज एवं तथ्य प्रमाणहरूका आधारमा कूटनीतिक माध्यमबाट खोजिनुपर्ने प्रस्ट पारेको छ । यसले नेपाल र भारतबीच केही समयदेखि सुध्रिँदै  गएको ठानिएको सम्बन्धलाई केही हदसम्म अप्ठेरोमा धकेलेको छ । भारतका लागि यो घटना ‘कोल्याटोरल ड्यामेज’को महँगो घटना साबित हुन सक्छ । किनभने, यसले राजनीतिक नेतृत्वको तह या कूटनीतिक वृत्तमा मात्र होइन, सर्वसाधारण जनताबीच पनि भारतले नेपाललाई हेपेको हो भन्ने धारणा बन्ने निश्चित छ । तर, यो नयाँ घटना भने अवश्य होइन ।

नेपाल र भारतबीच सीमा विवाद कुनै नयाँ विषय होइन । लामो समयदेखि सीमाक्षेत्रका अनेक गाउँ या खेत र वन अथवा नदीसमेत यताबाट उता सारिँदै आएको नेपालीको बुझाइ छ । देखिने गरी नै सुस्ता र कालापानीजस्ता ठूला भूक्षेत्रमा भारतले नेपालको भूमिमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ । कालापानीको वर्तमान विवादको क्षेत्र सन् १९६२ सम्म कुनै विवादमा थिएन ।

नेपाल–भारत सीमाबारे प्रश्न उठेको समयमा नेपाल सरकारले उत्तेजनामा नआईकनै भारतीय पक्षसँग कूटनीतिक पहल आरम्भ गर्नु जरुरी छ

नेपालको राजनीतिक प्रशासनिक नियन्त्रणको क्षेत्र थियो । तर, भारत–चीन युद्धका समयमा भारतले आफ्नो सुरक्षा फौज चीनसँगको त्रिदेशीय सीमाबिन्दुको रणनीतिक भागमा सा-यो । यस क्रममा नेपालको भूमि मिचियो । भारतले त महाकालीको मुहानसमेत सार्दै यताका खोल्सालाई नै महाकालीको मुहान बताउन थाल्यो । सैन्य क्याम्प खडा ग-यो र बिस्तारै भूमि नियन्त्रणमा लियो ।

रणनीतिक महत्वको यस क्षेत्रबाट नहटेको भारतसँग नेपालले कूटनीतिक दबाब सिर्जना गर्न सकेन । ०५० पछि आएर मात्र कालापानी क्षेत्रमा भारतीय सैन्य उपस्थिति र नेपालको मिचिएको सीमाक्षेत्रको विषय आमजनताबीच सार्वजनिक जानकारी र बहसको विषयका रूपमा प्रवेश गरेको हो । त्यसयता नेपाल र भारत सम्बन्धमा अनेक उतारचढाव आएको छ ।

भारतप्रति नेपाली जनताको एउटा धारणा भने सधैँजसो प्रबल रहेको छ कि भारत नेपाललाई समान हैसियत र सम्मानको हकदार छिमेकी ठान्दैन । बरु वेला न कुवेला नेपालमाथि अनेक खालका हस्तक्षेप गर्दै आएको छ । पछिल्लोपटक ६ महिना लामो भारतीय नाकाबन्दीले अघिका सबै भारतीय ज्यादतीलाई फिका बनाएको थियो । त्यसको प्रभाव बिस्तारै सेलाउन थालेको समयमा आएको यो नयाँ प्रकरणले फेरि नेपाली जनताबीच भारतको नियतमाथि प्रश्न उठेको छ ।

यस्तो प्रश्न उठेको समयमा नेपाल सरकारले उत्तेजनामा नआईकनै भारतीय पक्षसँग कूटनीतिक पहल आरम्भ गर्नु जरुरी छ । नेपाल–भारत सीमा विवाद समाधान गर्न गठित कार्यदलमार्फत नै तत्काल सीमा विवादलाई सम्मानजनक ढंगले इतिहासका अभिलेखका आधारमा समाधान गर्नु बेस हुनेछ । नेपाल र भारतबीचको सम्बन्धलाई दुवै देशको हितमा समाधान गर्ने उपाय पनि यही हो ।