२०७६ कार्तिक २१ बिहीबार ०७:४९:००

यसकारण अकुपाइ टुँडिखेल

रानीपोखरीदेखि दशरथ रंगशालासम्मको टुँडिखेल कुनैवेला एसियाकै ठूलो परेड मैदान थियो

हामी सानो छँदा खेल्ने र चंगा उडाउने ठाउँ थियो, रत्नपार्क । घाँसे मैदानमा साथीहरू कुस्ती खेल्थ्यौँ । रत्नपार्कको पोखरीमा डाइभ हान्दा धेरैपटक टाउकोमा चोट लागेको थियो । हामी त्यहीँ खेलेर हुर्कियौँ । अहिले पनि रत्नपार्क जान सकिन्छ, तर प्रवेश गर्न शुल्क तिर्नुपर्छ ।

टुँडिखेलमै खेलेर धेरैजना राष्ट्रिय खेलाडी भए । त्यहीँ दौडेर वैकुण्ठ मानन्धर अन्तर्राष्ट्रिय धावक बन्नुभयो । आरसिटी, मच्छिन्द्र, संकटालगायत आधा दर्जन फुटबल क्लब टुँडिखेलले नै जन्मायो । काठमाडौंको सम्भ्रान्त वर्ग टुँडिखेलमै क्रिकेट खेल्थे । टुँडिखेल भन्नाले रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको विशाल मैदान हो । यो खुम्चिँदै गएर अहिलेको पुस्ताले काठमाडौं मल अगाडिको खुला भाग मात्र बुझ्छ ।

उनीहरूलाई टुँडिखेलको विशालता थाहा नै छैन । किनभने, बसपार्क, सैनिक मुख्यालय, सेनाकै पार्टीप्यालेस, स्विमिङ पुल, सेनाको परेडस्थललगायत खण्डखण्डमा विभाजित छ, अहिले टुँडिखेल । अलिकति बचेको खुला ठाउँ पनि जस्तापाताले बारेर धरहराको माटो थुपारिएको छ । खुलामञ्च भएको ठाउँमा अस्थायी बसपार्क र पसलका सटर बनाइएको छ । टुँडिखेल कुरूप बनेको छ । जस्तापाताले बारिएको, गिटी, बालुवा, माटो थुपारिएको र गाडीको भिड लागेको छ । अझ खुलामञ्चमा बसपार्कसँगै भ्यु टावरको ठेकेदारलाई व्यापारिक सटर बनाउन दिएर बचेखुचेको भाग पनि जनताबाट फुत्काउन खोजिँदै छ ।

त्यसैले नयाँ पुस्ताका लागि अतिक्रमित विशाल रंगशाला फिर्ता गराउन ‘अक्युपाइ टुँडिखेल’ अभियान सुरु गरेका हौँ । स्वतःस्फूर्त निस्कने मानव लहरले अतिक्रमित टुँडिखेललाई पुरानै स्वरूपमा फर्काउन राज्यमाथि दबाब पर्नेछ । रानीपोखरीदेखि दशरथ रंगशालासम्मको टुँडिखेल कुनैवेला एसियाकै ठूलो परेड मैदान थियो । काठमाडौंको फोक्सो, भूमिगत जल भण्डारको पुनर्भरणको स्रोत, मूर्त/अमूर्त सम्पदा स्थल र भूकम्पलगायत दैवी प्रकोपको आश्रय केन्द्र मात्र होइन, ऐतिहासिक राजनीतिक परिवर्तनको साक्षी पनि हो टुँडिखेल ।

धेरै लिखित दस्ताबेजअनुसार ग्रेटर टुँडिखेलको अतिक्रमण जंगबहादुरको पालादेखि सुरु भयो । उनी युरोप घुम्न जाँदा त्यहाँ ठूलो मैदानमा सेनाले परेड खेलेको देखे । त्यो समय काठमाडौंको छाउनीमा सेनाको परेड हुन्थ्यो । स्वदेश फर्केपछि उनले टुँडिखेलको विशाल मैदानमा परेड खेलाउन थाले । बिस्तारै टुँडिखेल सेनाले कब्जा गर्दै गयो, जुन अहिले पनि निरन्तर छ । सेनाले पार्टीप्यालेस नै बनाएर व्यापार गरिरहेको छ । टुँडिखेलको धार्मिक महत्व पनि उत्तिकै छ ।

अस्थायी बसपार्क बनाएको ठाउँमा गुठीको जग्गा छ । मल्ल राजाहरूका इष्ट देवताको जग्गा हो त्यो । सैनिक मञ्च भएको ठाउँमा धावक वैकुण्ठ मानन्धरहरूका इष्ट देवताको पूजा हुन्थ्यो रे । महांकाल, भद्रकालीलगायत देवस्थल त्यहीँ छन् । काठमाडौंका अजिमाहरूको जमघट हुने ठाउँ पनि टुँडिखेल नै थियो ।

रानीपोखरीदेखि दशरथ रंगशालासम्म टुँडिखेल भएको लिखित दस्तावेज र पुराना तस्बिरहरू अद्यापि भेटिन्छन् । करिब तीन सय वर्षअघि काठमाडौं आएका इटालियन पादरीले आफ्नो किताबमा लेखेका छन्, ‘रानीपोखरीको दक्षिणतिर दुई माइल फैलिएको विशाल मैदान छ, जुन स्थानीय देवताको डेडिकेटेड ठाउँ हो ।’ उनी सन् १७१२ देखि १७२७ सम्म तिब्बत यात्रामा निस्कँदा काठमाडौं हुँदै गएका थिए ।

आलोकसिद्धि तुलाधर /विजय श्रेष्ठ : अभियन्ता, अकुपाइ टुँडिखेल

ऐतिहासिक र पुरातात्विक स्थलहरूको संरक्षण गर्नुपर्ने दायित्व रहेको काठमाडौं महानगरपालिका आफैँ अतिक्रमणमा सक्रिय छ । पुरानो बसपार्कमा भ्यु टावर बनाउन ठेक्का दिएर अस्थायी बसपार्क खुलामञ्चमा सारिएको छ । अस्थायी भनिएको बसपार्क लामो समय हुँदा पनि हटाइएको छैन । महानगरले खुलामञ्च षड्यन्त्रपूर्वक ठेकेदारलाई सुम्पेको छ । त्यो खुलामञ्चको अस्तित्व नामेट बनाउने योजना हो ।

काठमाडौं उपत्यकामा हावा पास हुने ठाउँहरूको अभाव छ । हाम्रा पुर्खाले सहरको डिजाइन गर्दा ‘कोर सिटी’को छेउछाउमा ठुल्ठूला खुला मैदान राखेका थिए । काठमाडौंमा टुँडिखेल, ललितपुरमा जावलाखेल र लगनखेल, भक्तपुरमा हाल सैनिक स्कुल भएको ठाउँ, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय भएको ठाउँ खुला छाडिएको थियो । यस्ता खुला मैदानलाई बचाउन सक्दा आकाशबाट परेको पानी जमिनले सोसेर जलका स्रोतहरू रिचार्ज हुन्छन् । अनि मात्र इनार, कुवा, ढुंगेधारा र पधेँरामा पानी रसाउँछ । त्यसैले खुलामञ्चको अस्थायी बसपार्क तत्काल हटाइनुपर्छ । पुरानो बसपार्कमा भ्यू टावर बनाउने योजना रद्द हुनुपर्छ ।