१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक २१ बिहीबार ०७:३४:००
Read Time : > 1 मिनेट
सेयर बजार

नेप्सेसँगै घट्यो कारोबार रकम

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २१ बिहीबार ०७:३४:००

बुधबार नेप्से परिसूचक शून्य दशमलव १३ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । तिहारअघि उकालो लागेर उत्साहित भएका लगानीकर्ताहरू तिहारपछि बजार पुनः ओरालो लाग्दा निराश भएका छन् । बैंकहरूको ब्याजदर बढ्न थालेपछि त्यसको प्रभाव सेयरबजारमा पर्न थालेको एक विश्लेषकले बताए । वाणिज्य बैंकहरूले प्रकाशित गरेको पछिल्लो ब्याजदरअनुसार बैंकहरूको ब्याजको आधारदर बढेको छ । आधारदर बढेपछि ऋणको ब्याज पनि महँगिने भएका कारण त्यसले सेयरबजारलाई नकारात्मक प्रभाव पारेको उनको भनाइ छ । वित्तीय क्षेत्रमा बारम्बार लगानीयोग्य पुँजीको समस्या दोहोरिरहे पनि नियामक निकायहरूले दीर्घकालीन समाधान गर्ने नीति नबनाएका कारण वेलावेला सेयरबजार प्रभावित हुने गरेको उनले बताए ।

साल्ट ट्रेडिङको सेयरमूल्यमा सकारात्मक सर्किट
यस दिन कारोबारमा आएको साल्ट ट्रेडिङ कर्पोरेसनको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको सेयरमूल्य ६५ रुपैयाँ ७ सय २३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । २१ दशमलव शून्य ५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ५ दशमलव ७५ प्रतिशत अर्थात् २५ रुपैयाँ बढेर ४ सय ६० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिनर्जी पावर डेभलपमेन्ट र गुराँस लाइफ इन्स्योरेन्सको सेयरमूल्य यस दिन ४ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, नेसनल हाइड्रोपावर कम्पनीको सेयरमूल्य यस दिन ३ दशमलव ९२ प्रतिशत बढेको छ । बजार ओरालो लागे पनि कम्पनीहरूको सेयरमूल्यमा आएको कमी भने कम रहेको छ । ४ दशमलव २८ प्रतिशत घटेको महालक्ष्मी विकास बैंक यस दिन सर्वाधिक गुमाउने १० कम्पनीहरूको सूचीमा शीर्ष स्थानमा रहेको छ । कारोबारमा आएका युनियन हाइड्रोपावर, गुडविल फाइनान्स, तिनाउ मिसन डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ । 

प्रभु बैंकको सेयर कारोबार बढी
कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन २ सय ४९ पटकको कारोबारमा ४ करोड ३६ लाख ७५ हजार रुपैयाँबराबरको १ लाख ६४ हजार १ सय ५१ कित्ता सेयर खरिदबिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेसँगै सेयर खरिदबिक्री बढेको छ । कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको नबिल बैंकको यस दिन ९१ पटकको कारोबारमा १ करोड ३ लाख ६७ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । अन्य कम्पनीहरूको कारोबार रकम भने १ करोड नाघेको छ । कारोबार संख्याका आधारमा यस दिन सान्जेन जलविद्युत् कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ७३ पटक सेयर कारोबार भएको छ । पछिल्लो समयमा कारोबार संख्याका आधारमा अगाडि रहेको रसुवागढी हाइड्रोपावरको यस दिन ३ सय १ पटक सेयर कारोबार भएको छ ।