मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
स्वनाम साथी, संयोजक, अक्टुबर क्रान्ति शतवार्षिकी समारोह नेपाल
२०७६ कार्तिक २१ बिहीबार ०७:०५:००
Read Time : > 6 मिनेट
अन्तर्वार्ता

नेकपाका नेताहरू अक्टुबर क्रान्ति सम्झिँदैनन्, कृष्णाष्टमी र शिवरात्रि मनाउँछन् : स्वनाम साथी

Read Time : > 6 मिनेट
२०७६ कार्तिक २१ बिहीबार ०७:०५:००

स्वनाम साथी औपचारिक रूपमा अहिले कुनै कम्युनिस्ट पार्टीको कार्यकारी भूमिकामा छैनन् । दुई वर्षअघि उनको नेतृत्वमा अक्टुबर क्रान्ति शतवार्षिकी समारोहको गठन भएको छ । अक्टुबर क्रान्ति नामले चिनिने रुसी कम्युनिस्ट क्रान्तिबारे उनी नेतृत्वको समितिले हरेक वर्ष काठमाडौंमा कार्यक्रम गर्दै आएको छ । नयाँ अंग्रेजी पात्रोअनुसार नोभेम्बर ७ मा पर्ने अक्टुबर क्रान्ति दिवसको सन्दर्भमा स्वनाम साथीसँग गरिएको कुराकानीः

दुई वर्षदेखि तपाईंहरू नेपालमा रुसमा कम्युनिस्टहरूले गरेको ‘अक्टुबर क्रान्ति’बारे कार्यक्रम गरिरहनुभएको छ । संसार कम्युनिस्टविरोधी एकल ध्रुव बनेको परिवेशमा नेपालमा चाहिँ अक्टुबर क्रान्ति किन सम्झिरहनुपर्‍यो ? 
विगतमा कसैले मानिसको दुःख मेटाउन केही प्रयास गरेका छन् भने त्यस्ता कामलाई हामीले बिर्सनुहुँदैन । हामीले सम्झिनुपर्ने थियो– पहिलोपटक ढुंगाको हतियार बनाउनेहरूलाई, पांग्राको आविष्कार गर्नेहरूलाई, आगो नियन्त्रण गर्न सिकाउनेहरूलाई, भाला बनाउनेलाई, धनुकाँण बनाउनेलाई, अक्षर निकाल्नेलाई, भाषाको निमार्ण गर्नेहरूलाई, धान गहुँ पत्ता लगाउनेलाई । तर, हामीले सबैलाई सम्झन सकेका छैनौँ ।

उनीहरूले आफ्नो समयमा संघर्ष नगरेको भए आज हामी यहाँ आइपुग्ने थिएनौँ । त्यसैले संघर्ष गर्ने हाम्रा अग्रजहरूलाई सम्झिनुपर्छ । मानव समाजमा मोटामोटी १० हजार वर्षदेखि वर्गको सुरुवात हुन लागेको हो । समाजमा वर्गको प्रष्ट रूप देखिन थालेको इसापूर्व चार हजार वर्षदेखि हो । त्यहीबाट राज्य, पुलिस अदालतको प्रष्ट रूप देखिन थाल्यो ।

सार्वजनिक सम्पतिलाई निजी बनाउने चलन त्यहीबाट सुरु भयो । समाजमा वर्ग सुरु भएपछि मानिस–मानिसबीच उच–नीच सुरु भयो । त्यही वर्ग मेटाउन संसारमा धेरैले योगदान गरे । रुसका मजदुरले पनि योगदान गरे । त्यसैले हामीले त्यस दिनलाई सम्झिनुपर्छ । वर्ग मेटाउन संसारमा जहाँ–जहाँ प्रयास भए, सबैलाई सम्झिनुपर्छ । त्यसबाट प्रेरणा लिनुपर्छ । अक्टुबर क्रान्तिलाई पनि त्यसकारण हामीले सम्झेका हौँ ।

अक्टुबर क्रान्तिमा खास के भएको थियो ?
लेनिनले माक्र्सको विचारलाई लागू गर्न रुसका मजदुर संगठित गर्नुभयो । सन् १८९८ देखि मदजुरको बीचमा उहाँ काम गर्न थाल्नुभयो । जारको समर्थनमा अरू पनि आन्दोलन चलिरहेका थिए । लेनिनको बोल्सेभिक पार्टीसँगै अन्य आठ पार्टी सक्रिय थिए । लेनिनले सन् १९०५ र १९१७ मा जम्मा २ वटा मात्रै दस्तावेज लेख्नुभयो ।

सन् १९०५ जारशाहीले मजदुरलाई गोलीले भुटेर मारे । त्यसपछि आन्दोलन बढ्दै गयो र चुनाव भयो । त्यसपछि सन् १९०८ सम्म पार्टीलाई बोल्न दिने अधिकार प्राप्त भयो । तीन वर्ष लेनिनले पार्टीका काम गनुभयो । बीचमा जारशाहीले फेरि प्रतिबन्ध लगायो । जेल हाले । भागभाग भयो । सन् १९१२ मा आइपुग्दा लेनिनको पार्टीमा जम्मा ७२ जना मात्रै बाँकी रहे । लेनिन पनि निराश भए । तर, उनकी श्रीमती क्रुप्स्कायले हौसला दिइन् । लेनिन फेरि पार्टीको काममा लागे ।

सन् १९१२ पछि फेरि पार्टीको काम सुरु भयो । सन् १९१६ मा पुग्दा तीन लाख पार्टी सदस्य बने । सन् १९१७ मा पुग्दा पार्टी सदस्य झन्डै १७ लाख पुग्यो । मार्च ८ को अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा लुगा सिउने कारखानाका महिलाले पेट्रोग्राड सहरमा जुलुस निकाले । उनीहरूले पुरुषलाई नामर्द भन्दै थुक्ने, खाली बोतलले हान्ने गर्न थाले । उनीहरूको माग थियो– शान्ति, रोटी र जमिन ।

दुई सय महिलालाई गोलीले भुटियो । त्यसपछि आन्दोलन चर्किँदै गयो । उद्योग कलकारखाना बन्द भएर भोलिपल्ट तीन लाख मदजुर सडकमा आए । त्यसपछि सात लाखको जुलुस र १० लाखको संख्यामा महिला जुलुस लिएर सडकमा निस्किए । बोल्सेभिक पार्टीसँग दुई हजार रेडगार्ड थिए । त्यसैको बलमा जारशाही भाग्नुप¥यो । अक्टुबर क्रान्ति सम्पन्न भयो । 

अक्टुबर क्रान्तिको चर्को आलोचना गर्नेहरू पनि छन् । सन् १९९० को दशकमा सोभियत संघ ढलेपछि त्यो आलोचना झन् बढेको देखिन्छ । अक्टुबर क्रान्ति र सोभियत समाजवादको नकारात्मक पक्षको पनि समीक्षा हुनुपर्दैन र ?
सबैले सधैँ राम्रो काम गर्न सक्दैन । सबै काम सबै पक्षबाट राम्रो पनि हुँदैन । रुसी क्रान्तिकारीले गरेका सबै प्रयास सफल भएनन् । त्यहाँ प्राण रक्षाको आधारभूत पक्ष मात्रै पूरा भयो । कम्युनिजम हुन आवश्यक अरू पक्ष पूरा भएनन्, युद्धका कारणले, वैदेशिक हस्तक्षेपका कारणले । त्यसका अरू पक्षको पनि खोजी गरिनुपर्छ । उनीहरूले अतिविषम परिवेशमा क्रान्ति गरे ।

हिउँदको बेला छ, हुरी चलिरहेको छ, अनिकाल र भोकमरी छ, पहिलो विश्वयुद्धका कारण चार लाख रुसी सिपाही मारिएका छन् । जर्जर छ अवस्था, युद्धले क्षतविक्षत भएको अवस्था छ । त्यस्तो प्रतिकुल वेला पुरानो सरकार फालेर सोभियतको सरकार गठन भयो । उहाँहरूको उद्देश्य संसारबाट वर्ग मेटाउने थियो । त्यो उद्देश्य विविध कारणले पूरा हुन सकेन । त्यस्तो ऐतिहासिक र महान क्रान्तिलाई नेपालले त झन् सधैँ सम्झिनुपर्छ । 

सोभियत संघमा जे–जे भयो, त्यो सबै सही थियो त ?
थिएन । त्यहाँ जे गर्न खोजियो त्यहाँका धेरै मानिसलाई पाच्य पटक्कै थिएन । खान लउन दिएर मात्रै नहुने रहेछ । खाना र लाउन पुगेपछि मानिस मनोरन्जनका सस्ता सामग्रीतिर भुल्न थाल्छन् । पुँजीवादले त्यही सस्तो सामग्री उपलब्ध गराइदियो । त्यो अति भइसक्यो । अब हामीले क्रान्ति नगरे पनि हुन्छ, तर, खप्न सक्नुपर्‍यो । पुँजीवादलाई खप्न सकिन्छ, सकिन्न । त्यसैले यो सिस्टम नै फाल्नुपर्छ । अक्टुबर क्रान्तिले गरेकै त्यही हो । नयाँ जीवन शैलीमा जाऊँ भन्न खोजेको हो । मान्छेलाई खाना मात्रैले पुग्दैन । रुसले त्यति मात्रै सोच्यो । माानिसलाई अन्य अधिकार पनि आवश्यक पर्छ । सोभियत संघ तीन राज्य बेलारुस, युक्रेन, रुसका महासचिव बसेर भंग गर्ने निर्णय गर्नुभयो । सबै स्वायत्त भएर चलाउने कुरा थियो । सबै अधिकारमाथि मात्रै केन्द्रित गरियो ।

अक्टुबर क्रान्ति नभएको भए बितेको सय वर्षको इतिहासमा के फरक पथ्र्यो ? 
मानिस खोजी गरिरहने प्राणी हो । पशुपक्षी जगतले खाना र आफ्नो जीवनसाथीको खोजी गर्छ । मानिसको १५ सय सिसिको गिदीले अरू धेरै कुराको खोजी गर्छ । अनेक उपाय खोजी गर्छन् । त्यसैले अक्टुबर क्रान्ति नभएको भए पनि अन्य उपाय खोजी गर्ने थिए मानिसले । किनकि साम्यवादको कुरा गर्ने मार्क्स र लेनिन मात्रै होइनन् पूर्वमा बुद्ध र महावीरले पनि साम्यवादको कुरा गरेका थिए । उहाँहरूले साम्यवाद भन्नु भएन, तर जस्तो जीवनको परिकल्पना गर्नुभएको छ त्यो भनेको साम्यवाद नै हो । उहाँहरूलाई व्यक्तिगत र सामूहिक तहको कम्युनिस्टमा राख्न सकिन्छ । उहाँहरू भौतिक नरहन सक्नुहोला भाववादी र अध्यात्मवादी तहमा राख्न सकिन्छ । समाजको अगाडि बढ्ने यात्रा रोकिँदैन थियो । समय त अगाडि बढिनै रहन्थ्यो । माक्र्सले परितर्वनको छोटो बाटो र कम नोक्सानीबाटै परिवर्तन गर्ने बाटो खोज्नुभएको मात्रै हो ।

अहिले नेपालमा कम्युनिस्ट पार्टीकै नेतृत्वमा दुईतिहाइ मतको सरकार छ । सत्तारुढ पार्टीले नै कम्युनिस्ट परम्परा सम्झेको देखिन्नँ । तपाईंजस्ता एक–दुई व्यक्तिले सम्झेर त्यसको औचित्य पुष्टि होला र ? 
अस्ति भर्खर चीनले १ अक्टुबरमा आफ्नो स्थापना दिवस धुमधाम मनायो । माओले देखाएको बाटोमा अहिले चिनियाँ हिँडिरहेका छैनन् । उनीहरू सामानको छ्यालब्याल भयो भने साम्यवादी समाज बन्छ भन्ने ठूलो भ्रममा छन् ।

अहिले नेकपा (नेकपा)को सरकार पनि त्यही सामानको छेलोखेलो गर्ने र समृद्ध नेपाल बनाउने उद्देश्यमा छ । यो भ्रमबाट जबसम्म नेता निस्कन सक्दैनन्, त्यसवेलासम्म यस्ता दिन उनीहरूले बिर्सिरहनेछन् । सेवा र सूचना छेलोखेलो गर्न सकिन्छ, तर समान छेलोखेलो गर्न सकिँदैन । पृथ्वी सानो छ, पृथ्वीका स्रोतसाधन सीमित छन् ।

पुँजीवादले देखाएजस्तो सुविधा भोग्न पृथ्वीको साधन स्रोतले १० प्रतिशत मान्छेलाई मात्रै पुग्छ । पृथ्वीको आधा स्रोतसाधान हामीले सकाइसक्यौँ । छेलोखेलो, विकास, समृद्धि र उन्नतिको पछि लाग्दा पृथ्वी हामी बाच्नै नसकिने बनेको छ । त्यही भएर नै हामीले अक्टुबर क्रान्तिलाई सम्झिनुपरेको हो । तर, नेकपाका नेताले अक्टुबर क्रान्ति सम्झिँदैनन्, बरु कृष्णाष्टमी, शिवरात्रि सम्झिन्छन् र मनाउँछन् । 

अक्टुबर क्रान्तिले नै संसारभरि मार्क्सवाद फैलायो भनिन्छ नि ? 
हो, रुसमा अक्टुबर क्रान्ति नभएको भए माक्र्सको विचार बौद्धिक कर्ममा मात्रै सीमित हुन सक्थ्यो । माक्र्सको विचारलाई लिएर रिसर्च सेन्टर खोलेर अध्ययन मात्रै गरिरहन्थे । संसारको एकचौथाइ भूभाग ओगटेको रुसमा मार्क्सको सिद्धान्त व्यवहारमा लागू भएपछि त्यसको प्रभाव भारतमा पर्‍यो । संसारका उपनिवेशवादी देशमा त्यसको प्रभाव पर्‍यो । जनजातिको विद्रोहमा त्यसले असर गर्‍यो । छुवाछुत विरोधी आन्दोलन र महिला आन्दोलनमा त्यसको असर पर्‍यो । अक्टुबर क्रान्तिले जीवनका सबै पक्षमा प्रभाव पर्‍यो । 

सत्तामा नपुगुन्जेल अक्टुबर क्रान्ति, मे दिवस सम्झने, तर सत्तामा पुगेपछि सबै बिर्सेको देखिन्छ नि ? 
अहिले यहाँका ठूला बुर्जुवालाई चित्तबुझ्दो संविधान बनेको छ । हाम्रा नेता यही बुर्जुवा व्यवस्थाको सत्तामा छन् । त्यसकारण बुर्जुवा व्यवस्थामा बसेर उहाँहरूले अक्टुबर क्रान्ति बिर्सनु आश्चर्यको विषय होइन । उहाँहरूले बुर्जुवा व्यवस्थाको समर्थन गर्छौँ भनिसक्नु भएको छ । 

रुसी क्रान्तिका नेता लेनिनले पुँजीवादी मरणासन्न छ भन्थे । तर, यो व्यवस्था त अहिले पनि झनै मजबुत हुँदै गएको देखिन्छ नि ? 
पुँजीवाद मौलाइरहेको देख्नु पुँजीवादको वास्तविक रूपको अध्ययन गर्न चुक्नु हो । पुँजीवाद आफ्नै कारणले ढल्दै छ । यसलाई केही पनि गर्नुपर्दैन । यति भन्न कम्युनिस्ट घोषणापत्र र लेनिनको विचार कसैको पनि सहारा लिनुपर्दैन । मानव समाज चल्ने आफ्नो नियम छ । प्रकृतिको आफ्नै नियम छ । हावापानी र माटोको आफ्नै नियम छ । हामीले त्यहाँ हस्तक्षेप गरिरहेका छौँ ।

विगतको पाँच सय वर्षमा मान्छेले आफू बस्ने घर आफैँले ध्वस्त गर्दैछ । मानिसले गर्ने क्रान्ति भनेको ढंगले गर्ने क्रान्ति हो । समाजको नियममा पहिला वर्गविहीन समाज थियो । पछि वर्गीय व्यवस्था आयो र यो वर्गीय व्यवस्था मेटिएर जान्छ । यो द्वन्द्वात्मक नियम सबैतिर लागू हुन्छ । निषेधको निषेध नियममा संसार चल्छ । एउटा चक्रमा चल्छ संसार । पहिला वर्ग थिएन, वर्ग आयो । यो वर्ग फालिन्छ अनि वर्गविहीन समाज बन्छ । यो चक्र चलिरहन्छ । पुँजीवाद आफ्नै कारणले जान्छ । पुँजीवादी औद्योगीकरण र भोकवादी जीवनशैलीले पर्यावरण ध्वस्त पार्‍यो । पुँजीवादले अब यो थेग्न सक्दैन । 

अक्टुबर क्रान्तिको सम्झनामा तपाईंहरू नेपालमा के–के गर्दै हुनुहुन्छ ? 
मिठो खाने, राम्रो लागाउने, सफासुग्गर हुने । आफूसँग भएको सबैभन्दा राम्रो लुगा लगाउने । अबिर फूलमाला लगाउनेले आफैँले आफूलाई लगाए हुन्छ । बालबालिकालाई भन्नुपर्छ, ‘१०२ वर्षअघि आजैको दिन मान्छेको जिन्दगीमा ठूलो काम भएको थियो । बाबुनानी हो ! त्यो दिनलाई हामीले सम्झिनुपर्छ ।’ आफूसँग जे छ मिठो खाने । मिलेसम्म सबैजना एकैठाउँमा जम्मा भएर रमाइलो कुरा गर्ने, हाँस्ने, नाच्ने, गाउने । एकअर्कामा शुभकामना र बधाई दिने । जीवनशैली र समाज बदल्ने कुरा गर्ने । यो तरिकाले नबाच्ने अर्को तरिकाले बाच्ने भन्ने । कानमा फूल सिउरिन मन लाग्नेले सिउरिने । अरू केही गर्नुपर्दैन । 

अब अक्टुबर क्रान्ति दिवस आन्दोलनबाट विरक्तिएका अघिल्लो पुस्ताले मात्रै सम्झिने दिन त बन्दैन ?
होइन, यस्ता दिवसलाई नयाँ पुस्ताले पनि सम्झिने दिन बनाउनुपर्छ । भिटेनलाई पनि बोलाउनुपर्छ । दुर्गेश थापालाई पनि बोलाउनुपर्छ । ब्रेक डान्स गर्नेहरूलाई पनि बोलाउनुपर्छ । उहाँहरूलाई यहाँनिर अन्याय भएको छ, त्यसबारेमा गीत लेख्न भन्न पाएको छैन । अहिले उहाँहरूलाई थाहा छैन, टिभी, युट्युब र मिडियाले उहाँहरूको दिमाग छोपिदिएको छ । पुँजीवादको ठूलो भ्रममा हुनुहुन्छ उहाँहरू । नयाँ पुस्तासँग यो दिवसलाई जोड्नुपर्छ ।

तस्बिर : संजित परियार