कुखुराको मासु अवैध रुपमा भारतबाट नेपालमा तस्करी गरेको आशंकामा राजश्व अनुसन्धान विभागले दुई ट्रक नियन्त्रणमा लिएर छानबिन थालेको छ । विभागले मंगलबार भारतबाट आउँदै गरेका दुई ट्रकलाई नागढुंगाबाट नियन्त्रणमा लिएको हो । यूपी बि ३ एटी ९६४७ र एआर ५५ आर ४८५० नम्बरका ट्रक चालकसहित विभागले नियन्त्रणमा लिएर छानबिन थालेको हो ।
फ्रोजन आलु, हरियो केराउ भन्दै उनीहरुले कुखुराको मासु नेपालमा तस्करी गरेको विभागको आशंका छ । ‘बोनलेस चिकेन अवैध रुपमा ती ट्रकमा तस्करी हुने गरेको सूचना छ,’ विभागका महानिर्देशक दीर्घराज मैनालीले भने, ‘ट्रक खोलिसकेका छैनौँ धनीलाई बोलाएर खोल्ने छौँ ।’ सर्लाहीस्थित भन्सार कार्यालयबाट ती ट्रकको भन्सार पास भएका थिए । विभिन्न सामानभित्र लुकाएर काठमाडौंमा अवैध रुपमा उनीहरले कुखुराको मासु तस्करी गर्दै आएको आशंका गरिएको छ ।