मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक १९ मंगलबार ११:००:००
Read Time : < 1 मिनेट
प्रदेश

गुराँसे–पोखरी क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार ११:००:००

ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पुराना सम्पदाको संरक्षण गर्दै गुराँसे–पोखरी क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने भएको छ ।

गाउँपालिकाले गुराँसे–पोखरी क्षेत्रलाई आन्तरिक पर्यटकीय केन्द्रका रूपमा संरक्षण गर्दै इस्बा नेम्बा पोखरीलाई समेत मिनी–पर्यटकीय केन्द्रका रूपमा विकास गर्दै लगेको छ । गुराँसे–पोखरी क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटनको केन्द्र बनाउन पोखरी संरक्षणदेखि यहाँको प्राकृतिक सम्पदालाई थप व्यवस्थित गर्ने प्रयासस्वरूप गाउँपालिकाले योजना तयार गरी संरक्षणको काम सुरु गरेको हो ।

गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूले गत आर्थिक वर्ष ०७५/०७६ मा गाउँपालिकाले २५ लाख रुपैयाँ खर्च गरेर पोखरी क्षेत्रको संरक्षणका लागि स्थायी घेराबार तथा पोखरीवरिपरि पक्की पदमार्ग निर्माण गरिसकेको छ । सोही रकमबाट साङडाँडाबाट पोखरी क्षेत्रसम्म कच्ची मोटरबाटो बनाउने तथा पोखरीवरिपरि सफाइसमेत गरेको छ । 


पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले सुरु गरेको अभियानलाई यस वर्ष पर्यटन मन्त्रालयले पनि सहयोग गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यमान ओख्राबुका अनुसार पर्यटन मन्त्रालयले गुराँसे–पोखरी क्षेत्रको संरक्षण तथा पर्यटकीय केन्द्रको विकासका लागि चालू आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

गाउँपालिकाले थप पाँच लाख रुपैयाँसहित १५ लाख रुपैयाँ लगाएर पोखरी क्षेत्रको संरक्षण तथा प्रवद्र्धनका लागि कार्य गर्ने योजना बनाएको निमित्त प्रमुख ओख्राबुले बताए । गाउँपालिका अध्यक्ष लिम्बूका अनुसार चालू आवमा विनियोजन भएको १५ लाख रुपैयाँले पोखरी क्षेत्रमा अन्य आवश्यकीय पूर्वाधारको विकास गरिनेछ ।