मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक १९ मंगलबार ०८:४८:००
Read Time : > 1 मिनेट
खेलकुद

सागको तयारी अब फास्ट ट्रयाकमा

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार ०८:४८:००

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को सबै प्रक्रिया छिटो–छरितो र प्रभावकारी बनाउन विकल्प खुला भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साग राष्ट्रिय गौरवको प्रतियोगिता भएकाले कुनै पनि प्रक्रियागत झन्झटविना सबै गतिविधि फास्ट ट्रयाकमार्फत गर्न बाटो खुला गरेको खेलकुदमन्त्री जगत विश्वकर्माले जानकारी दिएका छन् । ‘दक्षिण एसियाली खेलकुद प्रतियोगिता राष्ट्रको गौरव भएकाले यसलाई भव्य बनाउन सबै विकल्प खुला गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकमा भएको छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘पारदर्शी तरिकाले सागमा आवश्यक पर्ने सामग्री खरिदका लागि टेन्डरको लामो प्रक्रिया हुँदैन, अति आवश्यक सामग्री मितव्ययी रूपले फास्ट ट्रयाकमार्फत खरिदको बाटो खोलिएको छ ।’

आर्थिक अभाव हुँदैन
मन्त्री विश्वकर्माले सिंगो राष्ट्रकै प्रतिष्ठाको विषय बनेको सागका लागि आर्थिक हिसाबले कुनै कमी हुन नदिने बताए । उनले भने, ‘सरकारले सागका लागि आवश्यक बजेट प्रक्रियागत रूपमा निकासा गर्दै जानेछ । हामीले सक्दो कम खर्चमा सागलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नु जरुरी छ ।’ मन्त्री विश्वकर्माले सहभागी राष्ट्रका पाहुनाका लागि गरिने आतिथि सत्कारमा कमी आउन नदिने विश्वास दिलाए । उनले भने, ‘विदेशी अतिथिको स्वागतमा कमी आउनेछैन, यसका लागि सरकार जुनसुकै सहयोग गर्न तयार छ । यसबीचमा आइपर्न सक्ने वाधाहरू पनि मन्त्रिपरिषद्ले फुकुवा गरेको छ ।’ 

चुनौती रंगशाला नै
मन्त्री विश्वकर्माले मुख्य चुनौती नै दशरथ रंगशाला र पोखरा रंगशाला नै रहेको बताए । ‘हाम्रा लागि अझै पनि चुनौती भनेको रंगशाला नै हो । यद्यपि, भिभिआइपीतर्फको प्याराफिटमा पोल ठडिएसँगै अब आशा बढेको छ, अब हामी रंगशाला तयार गर्नेछौँ ।’ ठेकेदार कम्पनीलाई एयर कार्गोमार्फत  भिभिआइपीतर्फको छत ल्याउने वातावरण मन्त्रालयले तयार गरेको उनले बताए । ‘रंगशालाको छत समयमा नआउने अवस्था थियो, अब हामीले एयर कार्गोमार्फत छत ल्याउने वातवरण तयार गरेका छौँ ।’ 

नियमित अनुगमन
मन्त्री विश्वकर्माले पछिल्लो समयमा नियमित रंगशालाको गतिविधि नजिकबाट अवलोकन गरिरहेका छन् । ‘रंगशाला निर्माणका लागि सबैजनाको सक्रियताले आशावादी बनाएको छ । मैले आफ्नो र राज्यको तर्फबाट गर्न सक्ने पहल सबै गरेको छु,’ उनले भने । यता ठेकेदार उपेन्द्र बमले सरकारबाट आवश्यक सहयोग भएपछि कार्गोमार्फत भिभिआइपीतर्फको छत आउने बताए । उनले भने, ‘खेलकुदमन्त्रीले एयर कार्गोमार्फत टेन्सटाइल फेब्रिक (रंगशालाको छत) ल्याउने वातावरण बनाउनुभएको छ । अब सबै प्रक्रिया पूरा गरेर कात्तिकभित्रमा चाइनाबाट सामान आइपुग्छ ।’

रकम तय हुन बाँकी 
खेलकुद मन्त्रालयले सुरुमा नेपाल एयरलाइन्सबाट छत ल्याउन छलफल गरेको थियो । तर, एयरलाइन्सले छत अटाउन सक्ने जहाज आफूसँग नभएको जनाएपछि सरकारले थाई एयरवेजबाट कार्गो गर्ने निर्णय गरेको मन्त्री विश्वकर्माले बताए । थाई एयरलाई सामग्रीको सबै विवरण पठाइएको तर कति रकम लाग्ने भन्ने तय हुन बाँकी रहेको ठेकेदार उपेन्द्रले जानकारी दिए । उनले भने, ‘स्वाभाविक रूपमा एयर कार्गो गरेपछि महँगो पर्छ, तर कति रकम लाग्ने भन्ने तय हुन बाँकी छ ।’ 

भुक्तानीपछि वातावरण
समुद्री बाटोभन्दा एयर कार्गोबाट सामग्री ल्याउँदा तेब्बर खर्च हुन्छ । ‘पानीजहाजबाट सामग्री ल्याउँदा १० लाखमा नेपाल उत्रन्थ्यो भने एयर कार्गो गर्दा ३० देखि ४० लाखसम्म आर्थिक भार पर्न सक्ने देखिन्छ,’ परिषद् स्रोत भन्छ । एयर कार्गो गरेर ल्याउँदा लाग्ने खर्च भने सरकारले बेहोर्ने सम्झौता भएको छ । चाइनिज कम्पनीलाई रकम भुक्तानी नगर्दा नै छत नेपालमा नआएको हो । ‘सुरुमा सिएमईलाई एक लाख ५० हजार डलर भुक्तानी भएको थियो, थप ६५ हजार डलर पनि पठाएपछि एयर कार्गोमार्फत छत आउने वातावरण तयार भएको हो,’ स्रोतले भन्यो ।