१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक १९ मंगलबार ०७:४५:००
Read Time : > 1 मिनेट
अर्थ

कर्णाली करिडोर बनाउन १५ टन विस्फोटक पदार्थ उपलब्ध गराउन बारुदखाना तयार

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार ०७:४५:००

राष्ट्रिय गौरवको कर्णाली करिडोर आयोजना निर्माणले गति लिने भएको छ । विस्फोटक पदार्थको अभावले गत आर्थिक वर्षदेखि ठप्प भएको आयोजनामा बारुदखानाले तत्काल ८ टन विस्फोटक पदार्थ उपलब्ध गराउने भएपछि निर्माणले गति लिने भएको हिल्सा सिमिकोट सडक आयोजनाका प्रमुख शशांक मिश्रले जानकारी दिए । ‘चालू आवमा पनि दसैँअघि नै २ महिनादेखि विस्फोटक पदार्थको अभावले काम ठप्प थियो,’ उनले भने, ‘मागअनुसारको विस्फोटक पदार्थ पाउने भएपछि अब निर्माणले गति लिन्छ ।’

यसअघि आयोजनाले असारमा चालू आर्थिक वर्षका लागि १५ टन विस्फोटक पदार्थ उपलब्ध गराउन फाइल उठाएको थियो । तर, कात्तिक दोस्रो हप्तासम्म पनि आयोजनाले विस्फोटक पदार्थ पाउने वा नपाउने अनिश्चित थियो । बारुदखानाले भने तत्काल ८ टन र आवश्यकताअनुसार पछि ७ टन पठाउन सहमति दिएको आयोजना प्रमुख मिश्रले जानकारी दिए । 

कर्णाली करिडोरअन्तर्गत नेपाली सेनाले कालीकोटको खुलालुदेखि सल्लीसल्लासम्म करिब १ सय ५० किलोमिटर निर्माण गरिरहेको छ भने सडक विभागअन्तर्गत आयोजना कार्यालयले सल्लीसल्लादेखि सिमिकोट हुँदै हिल्सासम्म १ सय ४५ किलोमिटर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ । यसअघि पनि विस्फोटक पदार्थको अभावले च्यासला भिरमा सडक निर्माण गर्ने काम साढे २ वर्ष रोकिएको थियो ।

सम्पन्न हुन ९ वर्ष ढिला हुने  
कर्णाली करिडोर निर्माण सम्पन्न हुन अपेक्षित समयभन्दा ९ वर्ष ढिलाइ हुने भएको छ । नयाँ संशोधित समयावधिअनुसार यो आयोजना अव  आर्थिक वर्ष (आव) ०७९/८० मा मात्र सम्पन्न हुनेछ । यसअघि आव ०६५/६६ देखि थालिएको यो आयोजना ०७०/७१ मा सम्पन्न हुने अपेक्षा थियो । आव ०७५/७६ मा यस आयोजनाको हिल्सा सिमिकोट सडकखण्डमा २० करोड २० लाख र नेपाली सेनाद्वारा सञ्चालित खुलालु सल्लीसल्ला खण्डमा ३० करोड गरी जम्मा ५० करोड २० लाख रुपैयाँ विनियोजन गरिएकोे थियो । आव ०७५/७६ को समग्र भौतिक र वित्तीय प्रगति शतप्रतिशत रहेको छ ।

आयोजनाको खुलालु लैफु सिमिकोट खण्डमा १ सय ६ किलोमिटर ट्र्याक निर्माण कार्य सम्पन्न भएको छ । साथै, बिभिन्न लम्बाइका ४ वटा बेलीब्रिज निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाअन्तगर्तको हाल जितेगडादेखि लेब्डेसम्म गरी जम्मा ७६ किमि सडकखण्डमा सार्वजनिक यातायत सञ्चालनमा आएको छ ।
 
आयोजना कार्यान्वयनमा देखिएका प्रमुख समस्याहरू 
यस आयोजना निर्माण गर्न अग्ला भिर छिचोल्नुपर्छ । त्यसका लागि विस्फोटक पदार्थ अनिवार्य हुन्छ । तर, समयमा विस्फोटक पदार्थ प्राप्त नहुँदा आयोजना निर्माणमा स्वाभाविक गति लिन सकेको छैन । त्यस्तै, निर्माण सामग्री तथा इन्धन ढुवानीमा कठिनाइ रहेको छ । यी सामग्रीको अनुगमनमा समेत अप्ठ्यारो भोगिरहनुपरेको आयोजना प्रमुख मिश्रले जानकारी दिए । सडकको धेरैजसो रेखांकन गोरेटो तथा घोडेटो हुँदै जाने भएकाले निर्माण कार्यमा कठिनाइ हुने गरेको छ । 

चार भिर छिचोल्न विस्फोटक पदार्थ अनिवार्य
हिल्सा सिमिकोट सडक आयोजनाअन्तर्गत सल्लीसल्लादेखि सिमिकोट हुँदै हिल्सा (नेपाल–चीन सीमानाका) पुग्ने सडकखण्डको ट्रयाक खोल्ने काम भइरहेको छ । तर, त्यो खण्डमा पर्ने ४ वटा भिरमा विस्फोटक पदार्थ विस्फोट गरेर मात्र ट्रयाक खोल्न सकिने आयोजना प्रमुख शशांक मिश्रले जानकारी दिए । ती भिर पोक्चेगौडा, लालीको भिर, सुनाखडा र छारे भिर हुन् । यीमध्ये पनि छारे र सुनाखडा भिर छिचोल्न कठिन भएकाले धेरै विस्फोटक पदार्थ आवश्यक पर्ने देखिएको छ । चालू आर्थिक वर्षमा १५ टन विस्फोटक पदार्थ पर्याप्त हुने आयोजना कार्यालयको भनाइ छ । चालू आर्थिक वर्षभित्र ट्रयाक खोलिसक्ने आयोजना कार्यालयको लक्ष्य छ ।