मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ कार्तिक १९ मंगलबार ०७:३१:००
Read Time : < 1 मिनेट
अर्थ

नवीकरणीय ऊर्जामा काम गर्ने ३ संस्था पुरस्कृत

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १९ मंगलबार ०७:३१:००

नवीकरणीय ऊर्जा प्रवर्द्धनको क्षेत्रमा काम गर्ने ३ वटा संस्थालाई ‘सुप्रविध स्मृति नवीकरणीय ऊर्जा पुरस्कार’ प्रदान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को २३औँ वार्षिकोत्सवमा सोमबार आयोजित एक कार्यक्रममा मञ्चुका स्मृति अक्षय कोषद्वारा स्थापित सो पुरस्कार दिइएको हो । २५ हजार नगदसहित पुरस्कार पाउनेहरूमा दर्ना लघु जलविद्युत् सहकारी संस्था, सनफार्मर नेपाल प्रालि र नेपाल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् ।  

स्थानीय महिला मात्र सदस्य रहेको दर्ना लघु जलविद्युत्ले ८३ किलोवाटको लघु जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । त्यस्तै, सनफार्मर नेपालले सौर्य ऊर्जाबाट खानेपानी र सिँचाइका लागि प्रयोग हुने सौर्य पम्पको जडान गरी नयाँ प्रविधि सञ्चालन गरिरहेको छ । नेपाल इनर्जी डेभलपमेन्टले विराटनगरको श्रीकृष्ण गौसेवा सदनमा २ सय घनमिटरको बायोग्यास प्लान्ट जडान गरेको छ । सो प्लान्टबाट उत्पादित ग्यासलाई पाइपलाइनबाट ३२ स्थानीय उपभोक्तको घरमा प्रयोग भइरहेको छ ।          

हालसम्म वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत विभिन्न सस्थाहरूसँगको सहकार्यमा लघु जलविद्युत्बाट ३२.५ मेगावाट विद्युत् उत्पादन भएको छ । सहरी क्षेत्रबाट निस्किने जैविक फोहोर, पोल्ट्री फार्मबाट निस्किने सुली र गाईफार्मबाट निस्किने गोबरलगायतबाट २ सय ४७ ठूलासहित ४ लाख २५ हजार बायोग्यास प्लान्ट जडान भएका छन् । त्यस्तै ९ लाख ११ हजार घरेलु सौर्य विद्युत् प्रणाली र १५ लाख ९ हजार सुधारिएको चुलो जडान हुनुका साथै ११ हजार पानीघट्ट सुधार भएको छ । सार्वजनिक संस्था, विद्यालय, स्वास्थ्य चौकी, अस्पतालजस्ता संस्थामा देशभर झन्डै २ हजार संस्थागत सौर्य ऊर्जा प्रणाली जडान भएका छन् ।