मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
कुन्दन खड्का वडाध्यक्ष, कागेश्वरी मनोहरा–९
तीर्थराज बस्नेत
२०७६ कार्तिक १८ सोमबार ११:२४:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता

जनताले झमेला व्यहोर्नुपरेको छैन : कुन्दन खड्का

हाम्रा प्रतिनिधि

Read Time : > 2 मिनेट
तीर्थराज बस्नेत
२०७६ कार्तिक १८ सोमबार ११:२४:००

बढ्दो सहरीकरणले कागेश्वरी मनोहरा नगरपालिकालाई खानेपानी र ढलको व्यवस्थापन गर्न समस्या परिरहेको छ । प्लानिङविनाका सडक निर्माण र विस्तारले समस्या थपिएको छ । कागेश्वरी मनोहरा–९ का वडाध्यक्ष कुन्दन खड्कासँग विकास निर्माण र सेवा प्रवाहको विषयमा नयाँ पत्रिकाका तीर्थराज बस्नेतले गरेको संवाद :

निर्वाचित भएको साढे २ वर्षमा के–के काम गर्नुभयो ?  
हामीले शपथ लिँदा (०७४ जेठ) वडाका सडकको अवस्था दयनीय थियो । अहिले ती सडकको व्यवस्थापन गरेका छौँ । मुख्य र शाखा सडक कालोपत्रे गर्ने अभियान नै चलाएका छौँ । म निर्वाचित भएपछि वडाका करिब ७५ प्रतिशत सडक कालोपत्रे भइसकेका छन् । आगामी आर्थिक वर्षसम्म वडाका सबै सडक कालोपत्रे गर्ने हाम्रो योजना छ । वडामा स्वास्थ्य भवन दिएन ।

अहिले रेडक्रसको सहयोगमा मानटार चोकमा स्वास्थ्य भवन बनेर सेवा सुरु भइसकेको छ । बढ्दो जनसंख्या र खानेपानीको अभावलाई ध्यानमा राखेर खानेपानी व्यवस्थापनको काममा खटिएका छौँ । नगरस्तरीय योजनाबाट ट्यांकी निर्माण भइसकेको छ । साढे ४ लाख लिटरको ट्यांकीबाट खानेपानीको व्यवस्थापन गर्नेछौँ । खानेपानी पाइप खरिद प्रक्रिया अघि बढेको छ । चाँडै पाइप बिछ्याउने काम सुरु हुन्छ । टेन्डरको काम भइरहेको छ । अबको २ वर्षभित्र सबै घरधुरीमा खानेपानी पु-याउने लक्ष्य राखेका छौँ । 


कागेश्वरी मनोहरा नगरपालिकाको सबैभन्दा धेरै जनघनत्व भएको वडा नै यही हो । वडामा ३० हजारभन्दा बढी जनसंख्या छ । सनसिटी अपार्टमेन्टमा करिब ४७५ र त्यसबाहेक आठ हजार १५२ परिवार मेरो वडामा बसोबास गरिरहेका छन् । हामी आउनुभन्दा अघि प्रशासनिक क्षेत्र पनि अस्तव्यस्त थियो । जनताले अनेक किसिमका झमेला व्यहोर्नुपरेको थियो । अहिले ती समस्याबाट जनता मुक्त भएका छन् । नियमसंगत आएका सेवाग्राहीको काम तुरुन्त हुने गरेको छ, नियमविपरीतका कुनै पनि काम मेरो वडाबाट हुँदैनन् ।  

आगामी योजना के–के छन् ?  
मुख्य योजना सडक व्यवस्थापन गर्ने छ । उपत्यकाका सडकको अवस्था दयनीय छ । सोही कारण जनतामा आक्रोश बढ्दो छ । त्यसैले पनि म सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्छु । यसका साथै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि राम्रो गर्ने कोसिस रहन्छ । वडाबासीलाई स्वरोजगारमूलक तालिम दिइरहेका छौँ । त्यस्ता तालिमलाई थप प्रभावकारी बनाउनेछौँ । कौसी तरकारी खेती तालिमलाई पनि प्राथमिकतामा राखेका छौँ । जनअपेक्षाअनुसार जनसहभागितामूलक काम अघि बढाउने योजना छ । 

वडाका मुख्य समस्या के–के हुन् ? समस्या समाधान गर्न के गरिरहनुभएको छ ? 
मुख्य समस्या खानेपानीको छ । जमिनमुनिबाट पानी निकालेर प्रयोग गर्नुपर्ने अवस्था छ । जमिनमुनिको पानीमा बढी आइरन हुन्छ । फिल्टर गरेर खाँदासमेत जोखिम छ । वडामा जनसंख्या पनि बढिरहेको छ । सुरक्षा चुनौती अर्को समस्या छ । दुर्घटना हुनै नदिन सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ । स्वास्थ्य क्षेत्रलाई सुधार गरिरहेका छौँ । वडाबासीका समस्यामा साथै उभिएका छौँ । जनअपेक्षाअनुसारका काम गर्न सहजकर्ताको भूमिका निर्वाह गरिरहेको छु । ढल व्यवस्थापनको पनि समस्या छ । सेफ्टीट्यांकी बनाउनुको विकल्प अहिले छैन । जबसम्म नागरिक सचेत हुँदैनन्, तबसम्म काम गर्न समस्या हुन्छ । 

सडक विस्तार कसरी गर्ने योजना छ ? 
कुनै टोलका कुनै सडक निकै साँघुरा छन् । दमकल पनि लान नसक्ने अवस्था छ । त्यसले निकै समस्या भइरहेको छ । घर अघिग्रहण गरेर बाटो बढाउनुपर्ने अवस्था छ । तर, त्यसका लागि हामीले केही गर्न सक्दैनौँ । उपत्यका विकास प्राधिकरणको नाममा सडक विस्तार गरेर अस्तव्यस्त गराउने काम मात्र हुँदै आएको छ । प्लानिङ नै नगरी मनलाग्दी काम गर्दा समस्या आएका हुन् ।

मनोहरा करिडोर बनाउन पनि समस्या छ । व्यक्तिको जग्गाबाट खोला हिँडेको छ । नापीअनुसार खोलाको जग्गामा घर बनेका छन् । धार परिवर्तन गरेर खोला बगेको छ । घर अधिग्रहण गरेर मुआब्जा दिएर काम गर्दा मात्र सहज हुन्छ । 

पेप्सीकोला–हरहरमहादेवसम्मको सडक निकै जोखिमपूर्ण छ । सडकपेटीसमेत छैन, यसतर्फ ध्यान गएको छ कि छैन ?
सनराइज चोकदेखि लाहुरे चोकसम्मको नौ सय मिटर सडक मेरो वडामा पर्छ । जहाँ सडकको जग्गा मिचेर टहरा बनाउने काम भएको थियो । अहिले हामीले त्यस्ता अवैधानिक टहरा भत्काएका छौँ । टहरा भत्काउँदा हामीमाथि मुद्दासमेत हालियो । तर, हामीले त्यसलाई मिलाइसकेका छौँ । आगामी आर्थिक वर्षमा सडकमा पेटी बनाउँछाैँ ।