मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक १७ आइतबार १५:४४:००
Read Time : > 1 मिनेट
प्रदेश

नेपाली भूमि : भारुमा कारोबार 

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार १५:४४:००

नेपाली भूमिमा अहिले पनि भारतीय रुपैयाँमा उपभोग्य वस्तुहरूको कारोबार हुने गरेको छ । जिल्लाको नरैनापुरमा केही समययता नेपाली रुपैयाँ चल्तीमा आउन थाले पनि स्थानीय व्यापारीले भारुमा मोलमोलाइ गर्ने र यसले उपभोक्तासमेत अन्योलमा पर्ने गरेका छन् । 

नेपालगन्जबाट नरैनापुर पुगेकी निशु जोशीले कपडाको मूल्य सोध्दा व्यापारीले अढाइ सय रुपैयाँ बताए । नेपालगन्जभन्दा सस्तो पर्ने भन्दै उनले किन्ने सोँच बनाइन् । नेपाली रुपैयाँ सम्झेर उनले नेपालगन्जभन्दा सस्तो भएको भन्दै किन्ने मनसाय बनाएको बताइन् । ‘नेपाली रुपैयाँ होला भनेर किन्ने सोँच बनाएको थिए, भारतीय रुपैयाँ भनेपछि झस्किए,’ उनले भनिन्, ‘किन्नै लागेको सामान पनि फिर्ता गरेँ ।’ 

बाँकेको बघौडा क्षेत्रको रूपमा चिनिने नरैनापुर गाउँपालिकाको सदरमुकाम नरैनापुर बजारमा नेपाली रुपैयाँ चलन चल्तीमा आए पनि त्यहाँका व्यापारीले भारतीय रुपैयाँमा सामानको मोलमोलाइ गर्छन् । अधिकांश भारतीय रुपैयाँमा कारोबार हुने भएकोेले सामानको मोलमोलाइ भारतीय रुपैयाँमा हुने गरेको इलेक्ट्रोनिक्स पसलका सञ्चालक गिरिश मिश्रले बताए । ‘यहाँ नेपाली रुपैयाँमा पनि कारोबार हुन्छ, तर सामानको मोलमोलाइ भारतीय रुपैयाँमा मात्र हुन्छ,’ उनले भने । 

पार्टीको कार्यक्रममा नरैनापुर पुगेका नेकपाका नेता अम्मर खड्काले स्थानीय खाजा घरमा चिया खाए । चियाको मूल्य कति भनेर सोध्दा व्यापारीले पाँच रुपैयाँ प्रतिगिलास भनेर जवाफ फर्काए । उनले नेपाली पाँच रुपैयाँ दिएपछि व्यापारीले नेपाली होइन भारतीय भनेपछि उनी पनि झस्किए । त्यसपछि खड्काले प्रतिगिलास नेपाली दश रुपैयाँका दरले चियाको पैसा तिरे । ‘हुन त भारतीय पाँच रुपैयाँको नेपाली आठ हुन्छ, तर भारतीय रुपैयाँ भए पाँच र नेपाली भए १० रुपैयाँ लिने गरेका छौँ,’ एफयुयू रेस्टरेन्टका प्रोप्राइटर फारुक खानले भने । 

उनले बिर्यानी, अन्डा करी, कुखुराको फ्राइड लेग पिस बिक्री गर्दै आएका छन् । उनले कुखुराका फ्राइड लेग पिस प्रतिकिलो भारु तीन सयमा बिक्री गर्दै आएको बताए । ‘नेपाली रुपैयाँमा कारोबार भए प्रति किलो २० रुपैयाँ बढी लिएर पाँच सयमा बिक्री गर्छु,’ उनले भने । इलेक्ट्रोनिक्स व्यवसायी मिश्रले पनि भारतीय ३० रुपैयाँ पर्ने सोलार बल्भको नेपाली ५० रुपैयाँ लिन्छन् । उनले भारतीय दिए ३० रुपैयाँ र नेपाली भए ५० रुपैयाँ लिँदै आएको बताए । ‘नेपाली रुपैयाँलाई भारतीय बनाउँदा बट्टा लाग्छ, त्यसैले दुई रुपैयाँ बढी लिनै पर्छ,’ उनले भने । 

कहिलेकाहीँ मात्र हुन्छ नेपालीमा कारोबार
अधिकांश ग्राहक भारतीय रुपैयाँ लिएर आउने गरेको उनले बताए । भारतीय बजारबाट कारोबार हुने भएकोले नरैनापुरमा पनि अधिकांश भारतीय रुपैयाँमा नै कारोबार हुने गरेको उनको भनाइ छ । ‘सरकारी तथा वित्तीय कर्मचारी र कुनै कार्यक्रम लिएर आएकाहरूसँग मात्र नेपाली रुपैयाँमा कारोबार हुने हो, त्यही पनि कहिलेकाहीँ मात्र,’ मिश्रले भने । 

गाउँपालिकाको कार्यालय नरैनापुरमा स्थापना भएपछि अन्य सरकारी कार्यालय पनि त्यहाँ पुगेका छन् । एक स्थानीय तह एक बैँक भन्ने सरकारी नीतिअनुसार बैंक पनि पुगेपछि नेपाली रुपैयाँ चलन चल्तीमा आएको छ । तर, अझैँ पनि भारतीय रुपैयाँमा नै सामानको मोलमोलाइ हुन्छ र व्यापारीले सामानको मूल्य पनि भारतीय रुपैयाँमा नै तोक्छन् । ‘पहिलेको भन्दा नेपाली रुपैयाँको चलन चल्ती सहज भएको छ, तर कारोबार अझैँ पनि भारतीय रुपैयाँमा मात्र हुन्छ,’ नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले भने । दुई वर्षअघि नरैनापुर क्षेत्रमा भारतीय रुपैयाँ नभए भोकभोकै बस्नुपर्ने अवस्था थियो । नेपाली रुपैयाँ चलन चल्ती नआउने भएकोले त्यहाँ जानेहरू भारतीय रुपैयाँको जोहो गरेर जानुपर्ने अवस्था थियो । ‘थाहा नपाएर नेपाली रुपैयाँ मात्र लिएर आउनेहरू भोकभोकै फर्किनुपर्ने अवस्था थियो, तर यो अवस्था अहिले रहेन,’ उनले भने ।

हुलाकी सडक निर्माणले गति लिएपछि नेपालगन्जसँग सिधा सम्पर्क बढेको नरैनापुर गाउँपालिकाका प्रमुख सैयद इस्तियाक अहमद शाहले बताए ।