मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उपेन्द्र पोखरेल/नवीन अर्याल
२०७६ कार्तिक १७ आइतबार ११:५०:००
Read Time : > 2 मिनेट
नयाँCity

३३ वर्षमा  २५ पटक काठमाडौं

डेनिस पर्वतारोहीको नेपाल अनुभव

Read Time : > 2 मिनेट
उपेन्द्र पोखरेल/नवीन अर्याल
२०७६ कार्तिक १७ आइतबार ११:५०:००

सन् १९८६ मा म पहिलोपटक काठमाडौं उत्रिएको थिएँ । सन् १९६० देखि सुरु भएको हिप्पी संस्कृतिको प्रभाव थियो, त्यतिवेलाको काठमाडौंमा । मेरो देश डेनमार्कका युवा काठमाडौं आएर ‘रिल्याक्स’ हुन्थे । ठमेलको ‘स्ट्रिट लाइफ’ त्यतिवेलादेखि नै मलाई रमाइलो लाग्छ । त्यसैले जतिपटक आउँदा पनि म ठमेलमै बस्छु । व्यापार र आधुनिकीकरण बढ्दै जाँदा पनि ठमेलको पुरानो ‘चार्म’ अझै उस्तै पाउँछु । काठमाडौं निकै रमाइलो सहर हो । पहिलोपटक यहाँ आउँदा अधिकांश घर एक तलाका थिए । हरेकपटक आउँदा घरका तला थपिएको पाउँछु । तर पनि काठमाडौंको रमाइलोपन हराएको छैन । त्यसै पनि नेपालीहरू निकै मित्रवत् छन् ।

सोरेन स्मिथ, पर्वतारोही, डेनमार्क

डेनमार्कजस्तो विकसित छैन, नेपाल । तर पनि नेपालको अलग्गै महत्व छ । काठमाडौंलाई व्यवस्थित बन्न समय लाग्नेछ । डेनमार्कका सहरहरू पनि रातारात व्यवस्थित भएका होइनन् । केही अस्तव्यस्त अवस्थामा पनि जीवन्तता खोज्ने थलो हो, हाम्रा लागि काठमाडौं । किनकि, हरेक कुरामा सम्पन्न हुँदा पनि आनन्द खोज्ने ठाउँ बाँकी रहँदैन । यतिको अस्तव्यस्त अवस्थामा पनि काठमाडौं चलिरहेको छ, आफ्नै रफ्तार र सौन्दर्यलाई आत्मसात् गरेर ।

मोरक्को, इटालीलगायत ५० वटा मुलुकमा पुगिसकेको छु । हरेक मुलुकका आ–आफ्नै विशेषता छन् । नेपाल भौगोलिक विविधतायुक्त मुलुक हो । यहाँको सहिष्णु समाज र सहयोगी मानिसबाट म औधी प्रभावित छु । जतिसुकै दुःख या कठिनाइमा पनि हँसिलो रहन सक्ने नेपाली मुहार संसारभरका सबै मानिसका लागि प्रेरणादायी छ । त्यसैले डेनमार्कका नागरिकका लागि नेपाल रोजाइको गन्तव्य हो । डेनमार्कले आर्थिकलगायत सहयोग गर्ने मुलुकमा नेपाल तेस्रो स्थानमा पर्छ ।

०००

सन् १९८६ मा नेपाल आउनुको एक मात्र कारण थियो, यहाँका हिमशृंखलाहरूप्रतिको मेरो उत्सुकता । यिनै हिमशृंखलाले मलाई यहाँसम्म डोर्याए र कहिल्यै तृष्णा नमेटिने नेपालप्रतिको मायाको विजारोपण गरिदिए । मेरो पहिलो ट्रेकिङ सगरमाथा आधारशिविरसम्मको थियो । गौरीशंकर हिमाल चढ्ने धोको थियो तर दोलखाको जिरीबाट ‘आइल्यान्ड पिक’ (६,१८९ मिटर)तिर मोडिएँ र एक्लै आरोहण गरेँ । त्यतिवेला अहिलेजस्तो आरोहणका लागि क्याम्पहरू, डोरी र भर्याङ थिएनन्, न त आइसफल डाक्टरहरू नै हुन्थे । आफैँले बोकेको स्लिपिङ ब्यागमा सुत्नुपथ्र्यो । आफ्नै भारीमा रहेको स्टोभमा खाना पकाइन्थ्यो । त्यो निकै अविस्मरणीय र अतुलनीय छ । त्यतिवेला खुम्बु क्षेत्रमा नुनमा चोबेर खाएको उसिनेको आलुको स्वाद अझै मेरो जिब्रोमा झुन्डिइरहेजस्तो लाग्छ ।

यसबीचमा करिब २५ पटक म नेपाल आइसकेको छु । आल्पस् पर्वत चढेर मात्र मेरो आरोहणको भोक मरेको थिएन । मलाई नेपालका सुन्दर र विशाल हिमालहरूको शिखर चुम्नु थियो । सन् १९८९ मा अस्ट्रेलियाली कम्पनीले पर्वतारोहणका लागि प्रायोजन गर्ने भयो । उनीहरूलाई नाम चाहिएको थियो, हामीलाई पर्वतारोहणका लागि दाम । उनीहरूले आमादब्लम हिमाल (६,८१२ मिटर) आरोहणका लागि प्रायोजन गरिदिए । हामी अल्पाइन शैलीमा आमादब्लमको चुचुरोमा पुग्यौँ ।

त्यसपछि मे १९९१ मा धौलागिरि हिमाल (८,१६७ मिटर) आरोहण गरेँ । आठजना आरोहीले धौलागिरिको चुचुरोमा पनि अल्पाइन शैलीमै पुग्ने प्रयास गरेका थियौँ । तर, सबै ठाउँमा त्यो सम्भव भएन । केही ठाउँमा डोरीको सहायता लियौँ । डेनमार्कबाट आठ हजार मिटर अग्लो हिमाल चढेको त्यो पहिलो रेकर्ड थियो । डेनमार्कका टेलिभिजनले त्यस आरोहणलाई निकै प्रमुखताका साथ प्रसारण गरेका थिए ।

सन् १९९४ देखि सुमन पाण्डेको कम्पनी ‘एक्स्प्लोर हिमालय’सँग जोडिएँ । त्यसपछि ‘मेरा पिक’ (६,४७६ मिटर) आरोहण गरेँ । ‘मेरा पिक’को चुचुरोबाट सगरमाथा, मकालु, कञ्चनजंघा, चो–ओयु, ल्होत्सेलगायत संसारका अग्ला हिमाल देखिन्छन् । २५ वर्षपछि हालै (सन् २०१९) फेरि ‘मेरा पिक’को चुचुरोमा पुगेँ ।

जनवरी २००८ मा हेनरिक क्रिस्टियनसेन नामक एक व्यापारी सातै महादेशका अग्ला हिमाल चढेर रेकर्ड राख्न चाहन्थे । उनले मलाई त्यसका लागि सहयोगको आग्रह गरे । अन्टार्कटिका, दक्षिण अमेरिका, अस्ट्रेलिया र उत्तर अमेरिकाका अग्ला पहाडपछि २४ मे २००८ मा सगरमाथाको आरोहण गर्याैँ, हामीले । सगरमाथाको चुचुरोबाट देखिने हिमालहरू स–साना पहाडी शृंखलाजस्ता लाग्थे । शिखरबाटै मैले आमादब्लम देखेँ, जसको चुचुरोमा म १९ वर्षअघि नै पुगिसकेको थिएँ । सगरमाथा शिखरबाट चारैतिर फर्केर हेर्दा सुन्दर, शान्त र सौम्य दृश्य देखिन्थ्यो । एकप्रकारको आध्यात्मिक भाव पैदा भएथ्यो, त्यतिवेला । सातै महादेशका हिमाल २० दिनमा चढेको त्यसअघिको रेकर्ड हेनरिकले १७ दिनमै चढेर तोडेका थिए ।

पर्वतारोहणमा आधारित भएर हालसम्म मेरा तीनवटा पुस्तक प्रकाशित भएका छन् । त्यसमध्ये एउटामा आमादब्लम आरोहणको कथा छ । अर्को ‘एन्थ्रोलोजी अबाउट डेनिस क्लाइम्बर इन दी वल्र्ड’ भन्ने छ । तेस्रो पुस्तक डेनिस व्यापारी हेनरिक क्रिस्टियनसेनको ‘सेभेन्थ समिट’बारे छ ।

प्रस्तुति : उपेन्द्र पोखरेल/नवीन अर्याल