Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
केदार लाफा खोटाङ
२०७६ कार्तिक १७ आइतबार ११:२९:००
Read Time : > 1 मिनेट
अर्थ

हलेसीमा धर्मशाला बनाउन आयल निगमको ५ करोड

Read Time : > 1 मिनेट
केदार लाफा खोटाङ
२०७६ कार्तिक १७ आइतबार ११:२९:००

धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा सुविधासम्पन्न धर्मशाला निर्माण गर्न नेपाल आयल निगम लिमिटेडले ५ करोड रुपैयाँ प्रदान गरेको छ । आयल निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत विनियोजित बजेटबाट हलेसीमा धर्मशाला निर्माणका लागि रकम प्रदान गरेको प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘हलेसीमा धर्मशाला निर्माणका लागि रकम सहयोग गर्न पाउँदा धेरै खुसी छौँ,’ पौडेलले भने । निगमले हलेसी तुवाचुङ नगरपालिकासँग समन्वय गरी धर्मशाला निर्माण अघि बढाउनेछ । दुई पक्षबीच भएको सम्झौताअनुसार नगरपालिकाले २ वर्षभित्र धर्मशाला निर्माण सम्पन्न गरिसक्नुपर्नेछ । धर्मशाला निर्माणका लागि पहिलो किस्ताबापत निगमले शुक्रबार नै २ करोड रुपैयाँ नगरपालिकालाई उपलब्ध गराइसकेको छ ।

पार्किङस्थलसहितको धर्मशाला निर्माण भएपछि हलेसी आउने सर्वसाधारणदेखि उच्च तहका व्यक्तिसमेत सोही धर्मशालामा राखिने हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । ‘ठेक्का प्रणालीबाट निर्माण गरिने धर्मशालाका लागि सम्झौता गरेलगत्तै ठेक्का दरखास्त आह्वान गर्ने तयारीमा लागेका छौँ,’ उनले भने, ‘ठेक्का खोलेर निर्माण कम्पनीसँग सम्झौता गरेको दुई वर्षभित्र धर्मशाला निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।”

हलेसीस्थित गुराँसेमा निर्माण गरिने धर्मशालाका लागि नगरपालिकाले यसअघि नै १८ रोपनी जग्गा निःशुल्क व्यवस्था गराएको थियो । पछिल्लो समय दर्शनार्थी र भक्तजनको निकै भिडभाड हुने हलेसीमा यसअघि निर्माण गरिएको धर्मशाला पुरानो र सानो भएपछि सुविधासम्पन्न धर्मशाला निर्माणको पहल थालिएको हो । 

आयल निगमले ०७१–७२ देखि नाफा आर्जन गर्न थालेपछि सामाजिक उत्तरदायित्वका शीर्षकमा खर्च गर्न सुरु गरेको हो । यसअघि निगमले पशुपति क्षेत्रको फोहोर संकलन गर्न दुईवटा ट्रक उपलब्ध गराएको थियो । ती ट्रकका चालकलाई निगमले नै मासिक तलब उपलब्ध गराइरहेको छ ।

नगरपालिकाद्वारा मन्दिरको जीर्णोद्धार
धार्मिक मान्यताले मात्रै नभई प्राकृतिक सौन्दर्यले पनि उत्तिकै प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीमा पुरानो संरचना हटाएर भर्खरै जीर्णोद्धारको कामसमेत सम्पन्न गरिएको छ । ०४४÷४५ सालमा सिमेन्ट प्रयोग गरेर निर्माण गरिएको सिँढी, शिवलिंगलाई घेरिएको सिमेन्टको पिल्लर, ध्यान तथा पूजाअर्चना गरिने ठाउँलगायतमा सिमेन्ट हटाएर प्राकृतिक रूपले नयाँ संरचना निर्माणको काम गरिएको हो ।