१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १७ आइतबार ११:०१:००
Read Time : > 1 मिनेट
खेलकुद

खेलाडी वैदेशिक प्रशिक्षणमा केन्द्रित

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १७ आइतबार ११:०१:००

आसन्न १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा उत्कृष्ट नतिजा निकाल्ने योजनासहित खेलाडी प्रशिक्षणमा केन्द्रित छन् । यद्यपि, साग आउन एक महिना पनि बाँकी छैन, तर छोटो तयारीमै राम्रो नतिजा निकाल्न सम्बन्धित खेलका संघहरू खेलाडीलाई थप एक्सपोजर प्रदान गराउन विदेशी प्रशिक्षण र मैत्रीपूर्ण खेलमा जोड दिइरहेका छन् । शुक्रबार र शनिबार मात्रै सागमा समाविष्ट तीन खेलका खेलाडी वैदेशिक प्रशिक्षण, च्याम्पियनसिप र मैत्रीपूर्ण खेलमा सहभागी हुन त्यसतर्फ लागेका छन् । 
 
सुटिङका खेलाडी दोहामा
नेपाल सुटिङ संघले सागको क्लोज क्याम्पमा रहेका खेलाडीलाई कतारको दोहामा हुने १४औँ एसियन सुटिङ च्याम्पियनसिपमा सहभागिताका लागि पठाएको छ । ३ देखि १४ नोभेम्बरसम्म दोहामा हुने प्रतियोगितामा दुई महिला खेलाडीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन् । खेलाडीमा सुस्मिता नेपाल र कल्पना परियार छन् । यी दुवै खेलाडी सागका लागि छनोट भएका छन् । प्रतियोगिता टोकियो ओलम्पिकका लागि खेलाडी छनोटका रूपमा समेत रहेको छ ।

बिच भलिबलको तयारी श्रीलंकामा
आयोजक नेपालले बिच भलिबललाई पहिलोपटक सागमा समावेश गरेको छ । पहिलोपटकको सहभागितामै पदक जित्ने लक्ष्य राखेको नेपाली बिच भलिबल टोलीले सागको तयारी श्रीलंकामा गर्ने भएको छ । बिच भलिबलमा पुरुष र महिला टोली छन् । पुरुष टोलीमा सन्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार छन् । महिलामा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनीषा चौधरी छन् । प्रशिक्षण र अभ्यास खेलपछि टोली १३ नोभेम्बरमा नेपाल फर्किनेछ । दुवै टोलीले समान पाँच अभ्यास खेल खेल्ने कार्यक्रम रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले जनाएका छन् । 

अन्य खेलाडी पनि बाहिर
पदक दिलाउन सक्ने खेलका खेलाडी पछिल्लो सातादेखि नै वैदेशिक प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन विभिन्न राष्ट्र पुगे । पहिलोपटक सागमा सहभागी फेन्सिङका खेलाडी दुई सातादेखि थाइल्यान्डमा प्रशिक्षण गरिरहेका छन् । यसैगरी, थाइल्यान्डमै महिला भलिबल टोलीले पनि प्रशिक्षण गरिरहेको छ । शुक्रबार मात्र कबड्डीका खेलाडी सागको तयारी गर्न भारत पुगका थिए । यता सागको पहिलो तथा दोस्रो संस्करणमा सानदार प्रदर्शन गरेका करातेका खेलाडी मलेसियामा छन् । कराते खेलाडीले मलेसियामा च्याम्पियनसिपमा सहभागिता जनाउनुका साथै अभ्यास गर्नेछन् । लगातार पछिल्लो दुई संस्करणमा खराब प्रदर्शन रहेको तेक्वान्दोका खेलाडी सागको तयारीस्वरूप प्रारम्भिक चरणमा इन्डोनेसियामा आयोजित च्याम्पियनसिपमा भाग लिन पुगेका छन् । च्याम्पियनसिपपछि खेलाडीले स्थानीय खेलाडीसँग प्रशिक्षण गर्नेछन् ।