मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक १५ शुक्रबार ०६:१३:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

साढे सात वर्ष कैद सजाय मागसहित महराविरुद्ध मुद्दा दायर

यस्तो थियो सरकारी वकिलसँग महराको बयान

Read Time : > 4 मिनेट
२०७६ कार्तिक १५ शुक्रबार ०६:१३:००

जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध साढे सात वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दायर भएको छ । पक्राउ परेको २६औँ दिनमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो । 

संघीय संसद्कै कर्मचारीमाथि गत १२ असोजमा बलात्कार प्रयास गरेको पर्याप्त प्रमाणहरू भेटिएकाले अधिकतम सजायको मागदाबी लिइएको छ ।  १८ वर्षभन्दा माथिको महिलामाथि बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा छ ।

सरकारी उच्च ओहोदाको व्यक्तिको हकमा त्यसमा ५० प्रतिशत सजाय थप हुने भएकाले महराविरुद्ध साढे सात वर्ष कैद तथा पीडितलाई क्षतिपूर्तिको समेत माग गरिएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महराविरुद्ध अधिकतम सजाय दाबी गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए । 

मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलामाथि जबर्जस्ती करणी गरे सात वर्षदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । महराले जबर्जस्ती करणी प्रयास मात्रै गरेकाले सो ऐनको दफा ३४(३) अनुसार आधा सजाय हुनेछ । त्यस्तै, महरा सार्वजनिक ओहोदामा रहेर कसुर गरेकाले थप सजायको माग गरिएको छ । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५ (ङ) बमोजिम थप सजायको माग गरिएको हो । यस व्यवस्थाअनुसार महरालाई डेढी अर्थात् ५० प्रतिशत थप सजाय हुनेछ । 

 शुक्रबार थुनछेक आदेश हुने 
अभियोगपत्र दायर भए पनि कार्यालय समय सकिएकाले न्यायाधीशले लिने बयान र त्यसपछि हुने थुनछेक बहस भने हुन सकेन । बयान र थुनछेक बहसका लागि शुक्रबार पुनः महरालाई जिल्ला अदालत पेस गरिने अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

गत १२ असोजमा काठमाडौंको तीनकुनेस्थित आफ्नै डेरामा आएर महराले बलात्कार प्रयास गरेको भन्दै पीडित महिलाले १८ असोज (फूलपाती) मा प्रहरीसमक्ष किटानी जाहेरी दिएकी थिइन् । जाहेरीको भोलिपल्ट १९ असोजमा अदालतबाट पक्राउ पुर्जी लिएर प्रहरीले उनलाई सभामुखनिवास बालुवाटारबाट पक्राउ गरेको थियो ।

प्रहरीले तिहारअघि नै अनुसन्धान प्रतिवेदन बुझाए पनि लगत्तै बिदा परेकाले कार्यालय खुलेको पहिलो दिन नै मुद्दा दायर भएको हो । शुक्रबार सुरुमा महराको बयान हुनेछ । त्यसपछि दुवै पक्षका वकिलको बहस सुनेपछि न्यायाधीशले महरालाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने आदेश दिनेछन् । 

तीन वर्षभन्दा धेरै कैद सजाय हुने मुद्दामा अदालतले सामान्यतया थुनामा पठाउने गरेको छ । तर, घटनाकी पीडित महिलाले आफूलाई धम्की दिएर प्रहरीले महराविरुद्ध जाहेरी दिन लगाएको भनेर अदालतमा अर्काे निवेदन दिएकी थिइन् । 

 फरेन्सिक रिपोर्ट मिलेन 
प्रहरीले पीडित महिलाको कोठाबाट बरामद गरेको मदिराको बोतल तथा गिलासबाट ‘फिंगर प्रिन्ट’ लिएर परीक्षण गरेको थियो । तर, त्यससम्बन्धी परीक्षण महरासँग नमिलेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले बिहीबार दिउँसो मात्र रिपोर्ट सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

पीडित महिलाले महरा मदिराको बोतल लिएर आफ्नो डेरामा आएको र मदिरा पिउन कर गरेको भनेर जाहेरीमा उल्लेख गरेकी थिइन् । सोही आधारमा प्रहरीले महराको समेत फिंगर प्रिन्टको परीक्षण गरेको थियो । ‘फिंगर प्रिन्ट नेगेटिभ आएको छ,’ काठमाडौं परिसरका एक अधिकारीले भने, ‘बोतल र गिलास पछि अरूले छोएको अवस्थामा पनि यस्तो रिपोर्ट आउन सक्छ ।’ 

पीडित महिलाले १२ असोजको राति नै प्रहरीको कन्ट्रोलमा फोन गरेर आफूमाथि बलात्कार प्रयास भएको उजुरी गरेकी थिइन् । लगत्तै महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोली पीडित महिलाको सुविधानगरस्थित डेरामा पुगेको थियो । पीडित महिलाले श्रीमान्सँग सल्लाह गरेर उजुरी गर्न आउने बताएकी थिइन् । तर, त्यस दिन बेलुका प्रहरीले घटनास्थलका प्रमाणतर्फ चासो दिएन । भोलिपल्ट मिडियामा घटना सार्वजनिक भएपछि मात्र प्रहरी प्रमाण संकलनमा गएको थियो । जसकारण प्रमाणहरू दूषित भएको हुन सक्ने सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन् । 

 चस्मा महराकै भएको पुष्टि 
घटनास्थलबाट बरामद भएको फुटेको चस्मा महराकै भएको पुष्टि प्रहरीले चस्मा पसलबाट समेत गराएको छ । महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे । घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएकाले सो चस्मा महराकै भएको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ । महराले चस्मा खरिद गरेको नागपोखरीस्थित डा. सन्दुक रुइतको ‘आई केयर क्लिनिक’ ले नै त्यसको पुष्टि गरिदिएको हो । 

महराविरुद्धको प्रमाण ‘फर्गेट एस्टर्डे’ एसएमएस 
पीडितको जाहेरीबाहेक उनलाई महराले पठाएको ‘एसएमएस’लाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ । घटनाको भोलिपल्ट उनले ‘फर्गेट एस्टर्डे आई एम भेरी सरी’ भनेर एसएमएस पठाएका छन् । त्यो म्यासेजबाट समेत अघिल्लो दिन उनले बलात्कार प्रयास गरेको पुष्टि हुने अभियोगमा उल्लेख गरिएको छ । अभियोगमा भनिएको छ, ‘उक्त मेसेजले पनि प्रतिवादी घटनास्थलमा उपस्थित भई पीडितसँग भएका कसुरजन्य कार्यको उजागर हुन नदिन प्रयास गरेको तथ्य स्थापित भएको छ ।’ महराले पठाएका अन्य एसएमएसहरूलाई समेत प्रहरीले प्रमाणका रूपमा पेस गरेको छ । 

यद्यपि प्रहरीले म्यासेज पठाएको मोबाइल र सिमकार्ड भने बरामद गर्न सकेन । सो मोबाइल महराकी श्रीमती सीताले फुटाएको र सीमकार्डसमेत हराएको भनेर उनले प्रहरीसँग बताएकी छिन् । साथै, त्यो दिन महरा सुविधानगर नै गएको पुष्टि गर्न मोबाइलको लोकेसन विवरणसमेत प्रहरीले बुझाएको छ । त्यस्तै, सिसिटिभी फुटेज, मिडियामा दिएको भिडियो अन्तर्वार्तालाई समेत प्रमाणका रूपमा पेस गरिएको छ । प्रहरीले पीडितको डेराबाट बरामद गरेको मदिरा, काजु, मुला, काँक्रो, बदामलाई समेत प्रमाणका रूपमा अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले महराका सुरक्षामा खटिएका सई किशोर आचार्य, डबलबहादुर बम, हवल्दार विष्णुबहादुर थापा, सशस्त्र प्रहरी हवल्दार श्यामहरि आचार्य, सेनाका जमदार काजीराम राना मगरसँग समेत कागज गराएको थियो । त्यस्तै, कांग्रेस सांसद उमा रेग्मीले त्यस दिन राति पीडित महिलाले आफूलाई ‘न्याय पाऊँ माननीयज्यू’ भनेर फोन गरेको भन्दै कागज गरिदिएकी छिन् । 

यस्तो थियो सरकारी वकिलसँग महराको बयान
२०४७ सालदेखि झन्डै चार वर्ष मेरो घरमा बसेकी हुँदा निजलाई मैले सोही समयदेखि चिन्छु । उनी मेरी विद्यार्थीजस्तै हुन् । उनले अहिले पनि मलाई महरा सर भनी सम्बोधन गर्छिन् । उनको म अभिभावक हुँ । विवाहमा समेत अभिभावकको भूमिकामा थिएँ । पहिले घरमा बस्ने भएकाले भेट हुन्थ्यो ।

२०४८ सालमा म सांसदमा निर्वाचित भएपछि करिब तीन वर्ष भेट भएन । त्यसपछि तीन वर्षअगाडि उनले म अस्वस्थ छु भनी आफूलाई संसद् सचिवालयमा काजमा ल्याइदिनुप-यो भन्ने सन्दर्भमा भेट भएको हो । त्यसपछि पटक–पटक निरन्तर उनको परिवार र मेरो परिवारबीच सँगै आउने–जाने खाना खाने सन्दर्भमा भेट भइरहन्थ्यो । त्यस अलवा साबिकका म सम्बद्ध पार्टीमा निजले आफ्नो र श्रीमान्को सरुवाका लागि पटक–पटक भन्ने सिलसिलामा भेट हुन्थ्यो ।

सोही क्रममा १२ असोजमा म सिंहदरबारस्थित अफिस गएकोमा उक्त दिन अन्दाजी ३–४ बजेको समयमा उनी मेरो अफिसमा आई मेरो समायोजन मिलेन, आफ्नो समायोजन मिलाउन भनी मलाई पटक–पटक अनुरोध गर्दै म अन्यायमा परेँ भनी आक्रोशपूर्ण रूपमा गुनासो गरेकी थिइन् । मैले धेरै सम्झाएँ, समायोजनको प्रसंगबारे सम्बन्धित निकायलाई भनिदिएको हुँ । तर, कम्प्युटर सेटिङले मिलाउने भएकाले अहिले सकिएन भन्ने कुरा उनलाई सुनाएको हुँ, तर उनको आवेग र आक्रोश मत्थर भएन । 

मैले सरकारले जहाँ खटाएको छ, अहिले त्यही जानू, पछि काजमा मिलाउने कोसिस गर्नेछु भनी जवाफ दिएँ । उनलाई मेरो जवाफ चित्त बुझेको थिएन र आवेगकै अवस्थामा अफिसबाट फर्किएकी थिइन् । म पनि सभामुखनिवासतर्फ लागेँ । प्रश्नमा सोधेजस्तो १८:३० बजे म निवासमै पूर्ववनमन्त्री वकिल मोहम्मदसँग छलफलमा थिएँ ।

म र पीडितको त्यतिवेला फोन सम्पर्क भएको छैन । पहिलो कुरा, म रक्सीमा हाइड्रिंक्स सेवन गर्दिनँ । कहिलेकाहीँ औपचारिक समारोहहरूमा वाइन थोरै मात्रमा लिने गरेको छु । करिब १२ वर्षयता बजारमा मैले रक्सी किनेको पनि छैन, बोकेर हिँड्ने प्रसंग नै भएन ।

त्यसैले रक्सी बोकेर आएको भन्ने कुरा बिल्कुलै निराधार हो । त्यस दिन दिउँसो उनीसँग भएको संवादमा उनी आक्रोशमा आएपछि उनको स्वास्थ्य प्रतिकूल हुने र विक्षिप्त अवस्थामा पुग्ने भएकाले सिभिल अस्पतालमा उपचार गराएको कुरा पनि मैले उनका श्रीमान्बाट थाहा पाएको थिएँ । एकपटक फेरि सम्झाउनुपर्छ भन्ने उद्देश्यले म निजी गाडीमा सुरक्षाकर्मीसहित अन्दाजी बेलुका ७ बजेपछि उनको कोठा रहेको इलाकामा गएको हुँ ।