१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १४ बिहीबार ०६:२८:००
Read Time : < 1 मिनेट
प्रदेश

व्यावसायिक फूलखेतीमा गलकोटका स्थानीय

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १४ बिहीबार ०६:२८:००

गलकोटमा व्यावसायिक रूपमा फूलखेती थालिएको छ । गलकोट नगरपालिका–३ हटिया सिमखेतका स्थानीयले पहिलोपटक व्यावसायिक पुष्पखेती थालेका हुन् । गलकोट नगरपालिका–३ वडा कार्यालयको सहयोगमा गलकोटलाई फूलमा आत्मनिर्भर बनाउन दीर्घकालीन उद्देश्यका साथ परीक्षणस्वरुप लगाइएको फूलले अहिले बगैँचा ढकमक्क भएको छ । परीक्षणका लागि लगाइएको फूल राम्रोसँग फुलेपछि गलकोटबाट बाग्लुङ, पर्वत र पोखरासम्म फूल पठाइएको छ ।  

गलकोट नगरपालिका ३ को वडा कार्यालयले गत वर्ष एक लाख विनियोजन गरी गल्कोट फ्लोरी कल्चर एन्ड नर्सरीका १५ जनालाई व्यावसायिक फूल खेतीका बारेमा १५ दिने तालिम प्रदान गरेको थियो । सुर्खेतबाट दुईजना प्रशिक्षक ल्याएर प्रदान गरेको फूलखेती तालिम लिएका १५ जनाले परीक्षणका लागि टनेल बनाएर फूल खेती सुरु गरेका थिए ।

परीक्षण गरेको फूलले अहिले व्यावसायिक आम्दानी दिन थालेको गलकोट नगरपालिका–३ का वडाध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । सुरुवाती प्रयास नै सफल हुन थालेपछि स्थानीय कृषकसमेत उत्साहित देखिएका भण्डारीले बताए । ‘हामीले गलकोटलाई फूलमा आत्मनिर्भर बनाएर व्यावसायिक योजना बनाएका हौँ ।

परीक्षणका लागि एक रोपनी क्षेत्रफलमा लगाइएको फूलखेती बिस्तारका लागि थप दुई रोपनी जग्गा भाडामा लिइएको गलकोट फ्लोरी कल्चर एन्ड नर्सरीका अध्यक्ष मिना श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार, उक्त समूहले गलकोटलाई फूलको नगरी बनाउने उद्देश्यका साथ सयपत्री फूल मात्र नभई आगामी दिनमा दुबो तथा अन्य सजावटका फूल उत्पादन गर्ने लक्ष्य राखेको छ । 

गलकोट नगरपालिकाको पहिचान स्थापित गर्ने गरी आगामी दिनमा समेत उक्त नर्सरी समूहलाई अनुदानको व्यवस्था गर्ने गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले बताए । पहिलो चरणमा दुई सय फूलका बिरुवा बिक्री गरिएको छ भने करिब एक लाखबराबरको फूल बिक्रीका लागि तयार भएको अध्यक्ष श्रेष्ठले बताइन् ।