मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
उज्वल काफ्ले काठमाडाैं
२०७६ कार्तिक १४ बिहीबार ०९:०६:००
Read Time : > 1 मिनेट
नयाँCity

सहरका बालबालिका : लामो छुट्टी स्टाइलिस केश

Read Time : > 1 मिनेट
उज्वल काफ्ले काठमाडाैं
२०७६ कार्तिक १४ बिहीबार ०९:०६:००

सहरका अधिकांश बालबालिका दसैँअघिदेखि छठसम्मको एकमहिने बिदामा छन् । यही मौका हो, उनीहरू ‘स्टाइलिस लुक्स’मा देखिने पनि । काठमाडौं टोखाकी खुसी मरासिनीले टेलिभिजनमा देखेको ‘बब कट’ स्टाइल दिइन्, आफ्नो कपाललाई । एलकेजीमा अध्ययनरत छोरीको ढिपीका सामु उनका बाबु हरि मरासिनीको जोर चलेन । ‘लामो स्कुल बिदामा छोरीको इच्छा पूरा गरिदिएँ,’ उनी भन्छन् ।

काठमाडौंमलस्थित फेसियल हाउसकी सञ्चालक सुष्मा महराका अनुसार यसपटक बालबालिकामा ‘बब कट र ‘फेसनेबल कलर’ गर्ने ट्रेन्ड बढी देखियो । अगाडिपट्टि लामो राखेर ‘मग स्टाइल’मा कपाल काट्नुलाई ‘बब कट’ नाम दिइएको छ । यस्तै, कपाललाई रंगीन बनाउनुलाई ‘फेसनेबल कलर’ भनिन्छ । ‘बालबालिकाबीच ‘बब कट’ लोकप्रिय देखिएको छ,’ महरा भन्छिन्, ‘एक समय ‘थाई कट’ स्टाइल लोकप्रिय थियो । अहिले त्यसको स्थान ‘बब कट’ले लिएको छ ।’

बालबालिकामाझ राष्ट्रिय/अन्तर्राष्ट्रिय कलाकार र खेलाडीहरूको हेयर स्टाइलले प्रभाव पार्ने गरेको महरा बताउँछिन् । कपालमा गरिने ‘कलर स्प्रे’मा पनि त्यस्तै प्रभाव देखिने गरेको छ । कपाल ठाडो पारेर हरियो, पहेँलोलगायत रङ कपालमा लगाउने ट्रेन्ड बालबालिकामा देखिन्छ । अधिकांश अभिभावकको रुचि भने आफ्ना सन्तानको कपाल छोटो बनाउने हुने गर्छ ।
युकेजी अध्ययनरत थापाथलीकी अक्षता बस्नेतले आफ्नो लामो कपाललाई सर्टमा ‘बब कट’ स्टाइल दिइन् । ‘लामो बिदामा साथीहरूको हेयर स्टाइल देखेर उनले पनि त्यस्तै बनाउँछु भनिन्,’ उनकी आमा सावित्री ढकाल बस्नेतले भनिन् ।

 यसपटक बालबालिकामा ‘बब कट र ‘फेसनेबल कलर’ गर्ने ट्रेन्ड बढी देखियो । अगाडिपट्टि लामो राखेर ‘मग स्टाइल’मा कपाल काट्नुलाई ‘बब कट’ र कपाल रंगीन बनाउनुलाई ‘फेसनेबल कलर’ भनिन्छ ।

ललितपुर नख्खुडोलस्थित ‘मनोज हेयर कटिङ सैलुन’का सञ्चालक मनोज ठाकुरका अनुसार यसपटक बालबालिकाबीच ‘सी कट’, ‘कोरियन कट’ र ‘मग कट’को ट्रेन्ड निकै देखियो । माथिल्लो भागमा ‘सी’ आकार थोरै कपाल राख्नुलाई ‘सी कट’ नाम दिइएको छ । आँखासम्म कपाल आइपुग्ने स्टाइललाई ‘कोरियन कट’ भनिन्छ । 

क्यानडाबाट बाबुआमासँग दसैँ–तिहार मनाउन आएका क्यारलिन श्रेष्ठ र ह्यार्मनी श्रेष्ठले पनि काठमाडौंको हेयर ट्रेन्ड पछ्याए । ‘छोरीहरूको सोखमा साथ दिँदै आएको छु । मलाई पनि उनीहरूको हेयर स्टाइल परिवर्तन गर्ने रहर लाग्यो,’ उनीहरूका बाबु विवेक श्रेष्ठले भने । विवेक र उषा श्रेष्ठ दम्पती छोरीहरूसहित क्यानडा बस्दै आएका छन् ।

क्यारलिन र ह्यार्मनी उतैको विद्यालयमा पढ्छन् । दुवैले यसपटक कपालमा ‘फेसनेबल कलर’ गरे । कपालको तल्लो भागमा नीलो रङ लगाए । ‘चार घन्टा लाग्छ भन्दा पनि धैर्यपूर्वक खुसी भएर बसे,’ विवेकले भने । कपालको स्टाइलिस लुक्ससहित क्यारलिन र ह्यार्मनी नोभेम्बरमा क्यानडा फर्किंदै छन् ।

बालबालिकाकाको स्टाइलिस कपाल केही दिनभित्रै सामान्य अवस्थामा फर्किनेछ । किनभने, विद्यालयले स्टाइलिस कपालमा उनीहरूलाई कक्षाकोठामा प्रवेश दिँदैनन् । ‘लामो बिदाको सुरु र अन्तिममा बालबालिका सैलुनसम्म आइपुग्छन्,’ मनोज हेयर कटिङ सैलुनका सञ्चालक ठाकुर भन्छन्, ‘फेरि कपाललाई स्टाइलिस लुक्स दिन उनीहरूले अर्को लामो बिदा पर्खिनुपर्नेछ ।’