१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक १४ बिहीबार ०६:२४:००
Read Time : < 1 मिनेट
प्रदेश

मधेसका जनतासँग हृदयदेखि प्रेम छ : प्रचण्ड

Read Time : < 1 मिनेट
२०७६ कार्तिक १४ बिहीबार ०६:२४:००

नेकपा अध्यक्ष प्रचण्डले मधेसका जनतासँग हृदयदेखि नै प्रेम रहेको बताएका छन् । महोत्तरीको पिपरा गाउँपालिकामा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रचण्डले आफू सधैँ मधेसका जनताको पक्षमा रहेको बताए । 

आगामी उपनिर्वाचनमा भ्रष्टाचारको विपक्ष तथा सुशासनको पक्षमा मतदान गर्नसमेत उनले आग्रह गरे । प्रचण्डसँगै नेकपाका अन्य केन्द्रीय नेता तथा मन्त्रीहरू पनि शुभकामना कार्यक्रममा पुगेका थिए । आगामी १४ मंसिरमा हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी नेताहरू जिल्ला दौडमा निस्किएका हुन् । महोत्तरीको पिपरा गाउँपालिका अध्यक्ष, बल्वा नगरपालिकाका दुई वडाध्यक्ष र मटिहानी नगरपालिकाको एक वडाध्यक्षको पदमा उपनिर्वाचन हुँदै छ ।

अध्यक्ष प्रचण्डले तराई–मधेसको विकासमा सधैँ प्रयत्नशील रहेको पनि बताए । ‘भिठामोड–जनकपुर हुलाकी सडक म प्रधानमन्त्री भएकै वेला शिलान्यास भएको हो,’ उनले भने, ‘अहिले निर्माणको काममा ढिलाइ भएको पाएँ, काठमाडौं फर्किएपछि प्रधानमन्त्रीसँग तत्काल कुरा गरी सडक निर्माणको कार्य द्रुत गतिमा अगाडि बढाउन प्रयास गर्नेछु ।’ सडक निर्माणमा सरकारले तदारुकता नदेखाए आन्दोलनको नेतृत्व गरेर आफू सडकमै आउनसमेत तयार रहेको उनले दाबी गरे । 

 विकासमा पछाडि फर्कन नपर्ने दाबी
नेकपा महासचिव विष्णु पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पर्यटनमन्त्री योगेश भट्टराईलगायतले नेकपालाई मतदान गरे महोत्तरीले विकास निर्माणमा पछाडि फर्कन नपर्ने दाबी गरे । सरकारका उपलब्धिबारे चर्चा गर्दै उनीहरूले विद्यापतिको पवित्र भूमि महोत्तरीको बनौलीस्थललाई पर्यटकीयस्थलका रूपमा विकास गर्न सरकार पूर्ण सकारात्मक रहेको बताए ।

आगामी निर्वाचनमा नेकपालाई मतदान गरे महोत्तरीले विकास निर्माणमा पछाडि फर्केर हेर्न नपर्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर नेकपामा आएकाहरूलाई प्रचण्डले माला लगाई स्वागत गरेका थिए ।