मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ११ सोमबार १७:०५:००
Read Time : > 1 मिनेट
फिचर

चाडपर्व भन्दा जिम्मेवारी महत्वपूर्ण : प्रजिअ बञ्जाडे

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ११ सोमबार १७:०५:००

दुर्गा बञ्जाडे जुम्लाको प्रमुख जिल्ला अधिकारी हुन् । उनी गतबर्षको फागुन १७ गते प्रमुख जिल्ला अधिकारीको रुपमा जिल्ला प्रशासन कार्यालय जुम्लामा आएकी हुन् ।जुम्लाको इतिहासमा बञ्जाडे पहिलो महिला प्रमुख जिल्ला अधिकारी हुन् । महत्वपुर्ण काम बाहेक चाडपर्वमा सार्वजनिक विदा हुँदा समेत उनले जिल्ला छोड्ने गरेकी छैनन् ।  यस अघिका प्रमुख जिल्ला अधिकारीहरु दसैँमा घर नगए तिहारमा जाने गर्थे । कतिपय अधिकारीहरु दसैँमा घर गए पछि एकैपटक तिहारपछि आउने गर्थे । 

तर प्रजिअ बञ्जाडे तीज, दसैँ, तिहार कुनै बेला पनि जिल्ला छोडेर गइनन् । चाडपर्वको समयमा शान्ति सुरक्षामा बढी नै चुनौती हुने सम्भावना हुन्छ भनेर जिल्ला बाहिर नगएको उनी बताउँछिन् ।  दाजुभाइ दिदी बहिनीबीचको आत्मीयता उजागर गर्ने पर्व तिहारमा पनि उनले जिल्ला छोडेर गइनन् । 

उनी यहाँ आएदेखि जिल्लामा ठुला प्रकृतिका आपराधिक घटना भएका छैनन् । शान्ति सुरक्षा चुस्त दुरुस्त नै छ ।  बालविवाह न्यूनिकरण, अपराध, ब्राउन सुगर जस्ता आपराधिक गतिविधिलाई कडाइका साथ लिने गरेको उनी बताउँछिन् ।  जिल्लाको विपद् व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउँदै जिल्लामा आपत्कालिन कार्य पनि सञ्चालनमा आएको छ । विपद् व्यवस्थापनमा आवश्यक पर्ने उद्धारका सामग्रीको व्यवस्थापन समेत गरिएको उनको भनाइ छ । 

यसैगरी सरकारी सवारी साधन दुरुपयोग गर्न निरुत्साहित गरिएको छ । बित्तिय अनुशासन कायम गर्दै गत बर्षको पुँजीगत खर्चमा बृद्धि भएको छ । सेवाग्राहीको सहजताकाे लागि सेवा प्रवाहलाई पनि चुस्तदुरुस्त बनाइएको उनको भनाइ छ ।  चाडपर्वमा आफन्त, दाजुभाई तथा घरपरिवारसँग भेटघाटमा रमाउने भन्दा पनि निजामती प्रशासनमा रहेर बञ्जाडेले सिडिओको महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । 

जिल्लामा अन्य सरकारी कार्यालयको भन्दा प्रशासन कार्यालयको महत्व ठूलो हुने भएकाले आफूले ठूला चाडपर्वमा पनि जिम्मेबारीका साथ काम गरेको उनी बताउँछिन् । दुर्गाले भनिन्, 'चाडपर्वमा बिदा भन्दा पनि जिम्मेवारी महत्वपुर्ण हुन्छ ।' यसपालीको तीज र दसैँ पनि जुम्लामै मनाइयो, 'तिहार पनि यहीँ मनाउँदै छु । चाडपर्वमा शान्ति सुरक्षा चुस्त राख्नु पर्ने भएकोले घर जाने कुरा पनि भएन ।'

२०६८ सालमा शाखा अधिकृतमा नाम निकालेकी उनले शाखा अधिकृत हुनुअघि दुर्गम क्षेत्रमा बसेर काम गरिसकेकी थिइन् । निजामती सेवामा रहँदा सञ्चार मन्त्रालय अन्तर्गत ललितपुर जिल्ला हुलाक र इमाडोल ईलाका हुलाकमा काम गरेकी बञ्जाडे शाखा अधिकृत हुँदै ०७४ मा उपसचिवमा सिफारिस भएकी हुन् । उनी सिन्धुपाल्चोकमा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर जुम्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएकी हुन् ।