मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ११ सोमबार १३:३१:००
Read Time : > 4 मिनेट
अन्तर्वार्ता

वडाको मुख्य प्राथमिकतामा सडक : इन्द्रबहादुर प्रजापति

Read Time : > 4 मिनेट
२०७६ कार्तिक ११ सोमबार १३:३१:००

हाम्रा प्रतिनिधि

सांस्कृतिक महत्वका सम्पदासहित परम्परागत बस्ती रहेको भक्तपुरस्थित मध्यपुरथिमि नगरपालिका–६ मा बहाखाबजार, पाचो, गुंगटिवा, दुवाफल्चा, बाघटुठी, स्वँगा पुखु, गार्चा, चपाचो, सिद्धिकालीजस्ता परम्परागत बस्ती छन् । मध्यपुरथिमिमा बिस्केट जात्रामा निकालिने ३२ खटमध्ये दुईवटा खट यस वडामा पर्दछन् । करिब आठ हजार जनसंख्या रहेको वडामा घना र परम्परागत बस्ती छन् । वडाका कामकारबाहीका विषयमा वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिसँग नयाँ पत्रिकाका प्रकाश धौलाकोटीले गरेको संवाद : 

इन्द्रबहादुर प्रजापति
वडाध्यक्ष, मध्यपुरथिमि नगरपालिका–६

जनप्रतिनिधिमा निर्वाचित भएपछि के–के काम गर्नुभयो ?
सधैँ जनताको सल्लाह, सुझाब र धारणा लिएर काम गरेका छौँ । जनताको माग र आवश्यकतालाई केन्द्रमा राखेर हामीले योजना छनोट र सञ्चालन गर्दै आएका छौँ । कतिपय काम हामीले चाहेर पनि गर्न सक्ने अवस्था छैन, हाम्रो अधिकार क्षेत्र र पहुँचले भ्याउने क्षेत्रमा सधँै वडावासीको पक्षमा लागेर काम गरिरहेका छौँ । चुनावताका हामीले मतदातामाझ गरेका प्रतिबद्धताका आधारमा क्रमशः वडाको विकासका योजना बनाएर काम गरिरहेका छौँ । वडा कार्यालयको आफ्नै भवन छैन । भाडाका घरबाट भए पनि सेवालाई चुस्त र सहज बनाउने कोसिस गरेका छौँ । कर्मचारीको खासै अभाव छैन, वडामा प्रशासकीय अधिकृत र इन्जिनियरसहित सातजना कर्मचारी कार्यरत हुनुहुन्छ । कर संकलन गर्नेसहित वडाका सेवालाई शीघ्र सम्पादन गरेर आवश्यकताअनुसार कार्यालय समयबाहेकको समयमा पनि सेवा दिएका छौँ । काम पर्दा म आफैँ साँझ ५–६ बजेसम्म बसेर पनि वडावासीको समस्या सुल्झाउन सहयोग गरेको छु ।

वडाका मुख्य–मुख्य समस्या के–के हुन् ?
हाम्रो वडा नगरपालिकाको सदरमुकाम हो । नगरपालिकाको कार्यालय नै हाम्रै वडामा भएकाले यहाँका समस्यालाई नगरप्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधि साथीहरूले नजिकबाट बुझ्न सक्नुभएको छ । पुरानो मध्यपुरथिमि क्षेत्रको मुख्य बजार बहाखा बजार पनि हाम्रो वडामा पर्छ । साँघुरो सडक छ, सडकमै पार्किङसमेत गरिदिँदा झन् साँघुरिन्छ । वडाका अन्य सडकहरू पनि सबै कालोपत्रे छैनन् । कच्ची र साँघुरा सडक वडाका लागि समस्या बनेका छन् । अर्को मुख्य समस्या फोहोरको हो । यहाँ सर्वसाधारण आफैँले फोहोर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ, वडा र नगरपालिकाले फोहोर उठाउन सकिएको छैन । जसका कारण अव्यवस्थित फोहोरको मात्रा बढेर दुर्गन्ध फैलिने गर्छ । नयाँ बस्ती विकास भइरहेका टोलहरूमा खानेपानी र ढलको समस्या पनि छ । सामुदायिक विद्यालयहरूको अवस्था नाजुक छ । 

सडकको अवस्था कसरी सुधार्नुहुन्छ ?
सडक नभई विकास हुँदैन । र, सडक विकास गर्दा विनाश पनि हुनुहँुदैन । अहिले हाम्रो वडामा सल्लाघारी–पेप्सीकोला खण्ड मुख्य सडक हो । साँघुरो र सवारी चाप हुने सडक यही हो । यसबाहेक अरू सडकमा धेरै समस्या छैन । वडामा सबैभन्दा बढी बजेट खर्च भइरहेको क्षेत्र नै सडक हो । यही वर्ष पनि सडककै लागि मात्रै वडाको ६० लाख रुपैयाँभन्दा बढी बजेट सडकमा विनियोजन गरिएको छ । नगरपालिका, प्रदेश र संघीय सरकारले दिने बजेट पनि सडकमै छन् । पेप्सीकोला–सल्लाघारी सडक विस्तार गर्ने काम ठिमी क्षेत्रमा हुन सकेको छैन । सडक विस्तार गर्दा यहाँका परम्परागत बस्ती मासिने र झन्डै ६० घरपरिवार पूर्ण रूपले नै विस्थापित हुने भएकाले सडक विस्तारमा समस्या भएको छ । सरकारले ती परिवारलाई अन्यत्र पुर्नवासको व्यवस्था नगरेसम्म सडक विस्तार गर्न सकिँदैन । सडक विस्तार गर्न स्थानीय पनि चाहन्छन्, तर सडकले उठिबास लाग्ने विषय कसैको लागि पनि लाभदायी छैन । यसैले यो एउटा समस्याको विषय बनेको छ । 

गत वर्षहरूमा थुप्रै सडक मर्मत र सुधारका काम भए । हामीले वडाबाट विनियोजन बजेटमध्ये ३८ लाख रुपैयाँले पाचो–बाघटुठी सडकमा इँटा छाप्ने र मर्मत सुधार गर्ने योजना बनाएका छौँ । नगरपालिका कार्यालयअगाडिको सडक पनि लगत्तै कालोपत्रे गर्ने तयारी छ । अन्य सडक मर्मत, स्तरोन्नति र कालोपत्रेका लागि पनि केही योजना छन् । 

वडाका योजना

  • फोहोर व्यवस्थापन
  •  सडक कालोपत्रे÷स्तरोन्नति
  •  सबैलाई खानेपानी सुविधा 
  •  वडा कार्यालय भवन निर्माण
  •  शैक्षिक गुणस्तर विकास

मुख्य समस्या 

  •  अव्यवस्थित फोहोर
  •  भाडाको कार्यालयबाट सेवा प्रवाह
  •  साँघुरा र कच्ची सडक
  •  खानेपानीको समस्या
  •  कमजोर सामुदायिक शिक्षा 

चालू आर्थिक वर्षमा कस्ता योजना सञ्चालन हुँदै छन् ?
चालू आर्थिक वर्षमा वडाका लागि नगरपालिकाले दुई करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसबाहेक ठूला योजनामा नगरपालिका, प्रदेश र संघको बजेट पनि प्राप्त भएका छन् । हामीले वडाको बजेटबाट सडकमा ६१ लाख, कुन्डोल क्षेत्रमा ढलका लागि १० लाख, कुन्डोल खानेपानीका लागि ५० लाख, खेलकुदका लािग २५ लाख, भ्रमण वर्षका लागि ६ लाख, सोचाहिटी ट्रस्ट निर्माणका लागि नौ लाख, शिक्षा क्षेत्रका लागि १० लाख, स्वास्थ्यका लागि चार लाख, जात्रा पर्वका लागि १० लाख रुपैयाँ विनियोजन गरेका छौँ । नगरपालिकाले सिद्धिकाली मन्दिरका लागि डेढ करोड रुपैयाँ, विद्युत् विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ, नगर भवन अगाडि कालोपत्रे गर्न एक करोड, महादेव मन्दिरका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

फोहोर व्यवस्थापन गर्न के पहल गर्नुभएको छ ?
वडाको मुख्य समस्या भनेकै फोहोरको हो । यहाँ नगरपालिकाले फोहोर व्यवस्थापन गर्न सकेको छैन । हामी निर्वाचित भएपछि तुरुन्तै फोहोर व्यवस्थापनका लागि साढे पाँच लाख रुपैयाँ विनियोजन गरी उठाउन थाल्यौँ । अघिल्लो वर्ष २५ लाख रुपैयाँ विनियोजन गरेर मासिक डेढ लाख रुपैयाँमा नेप्सेम्याकसँग फोहोर उठाउने सहमति भएको थियो । नगर प्रशासनले त्यो सम्झौता खारेज गरिदिएपछि त्यसयता वडाको फोहोर उठेको छैन । वडाबासीले आफ्नो घरको फोहोर पैसा तिरेर उठाउने गरे पनि वडामा फोहोरको मात्रा उत्तिकै छ । सार्वजनिक स्थल र टोल–टोलमा समेत फोहोरको डंगुर थुप्रिने गर्छन् । फोहोरसँग जोडिएर वडाबासीबाट धेरै गुनासो पनि आउँछ । अब पनि हाम्रो प्राथमिकता फोहोर व्यवस्थापनमै हो । यस वर्षका लाागि २० लाख रुपैयाँ विनियोजन भएको छ । टेन्डर गरेर फोहोर उठाउने तयारी भइरहेको छ । 

खानेपानी र ढल व्यवस्थापनका लागि के पहल गर्दै हुनुहुन्छ ? 
अन्य वडामा भन्दा हाम्रोमा पानीको समस्या ठूलो होइन । तैपनि, नयाँ बस्ती विकास भइरहेको क्षेत्रमा खानेपानीको समस्या छ । कुन्डोल टोलमा करिब दुई सय परिवारले राम्रोसँग खानेपानी पाउन सकेका छैनन् । त्यहाँ खानेपानी लाइन विस्तारका लागि वडाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ । काठमाडौं उपत्यका खानेपानी बोर्डले पनि खानेपानीका लागि साझेदारी गर्ने भनेकाले चालू आर्थिक वर्षमा सबै वडाबासीलाई खानेपानीको सुविधा दिन्छौँ । 

वडामा सामुदायिक शिक्षाको अवस्था कस्तो छ ? 
वडामा जनक सिद्धिकाली माध्यमिक विद्यालय र बालसेवा आधारभूत विद्यालय गरी दुईवटा सामुदायिक विद्यालय छन् । सिद्धिकाली माविमा विद्यार्थी सख्ंया अत्यन्तै कम छ । बालसेवामा भने बढ्दो छ । सामुदायिक शिक्षाको गुणस्तर बढाउन हामीले वडाबाट बजेट, नियमित अनुगमन र छलफललाई अघि बढाएका छौँ । बालसेवामा वडाबाट ६ वटा कम्प्युटरसहितको इ–लाइब्रेरी स्थापना भएको छ । सिद्धिकालीमा सबै विद्यार्थीलाई ट्रयाक सुट वितरण गरेका छौँ । १० लाख रुपैयाँ विनियोजन गरेर विद्यालयमा खाजा कार्यक्रम पनि सञ्चालन गर्ने तयारी छ । भवनलगायत पूर्वाधार निर्माण र मर्मतका लागि पनि बजेटको व्यवस्था गरेका छौँ । 

वडा कार्यालय भवन बनाउने योजना छैन ? 
हाम्रो आफ्नो भवन नहुँदा साँघुरो ठाउँबाट काम गर्नुपरेको छ । भवन नबनाई उपाय नै छैन । भवन बनाउने प्रक्रिया पनि अघि बढेको छ । म मेरै कार्यकालमा आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य लिएर अघि बढेको छु । चार करोड रुपैयाँमा भवन निर्माणको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र निर्माण सम्पन्न हुन्छ ।