मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक १० आइतबार १०:५६:००
Read Time : > 2 मिनेट
अर्थ

मार्जिन लेन्डिङको ब्याजदर १६ प्रतिशतसम्म पुग्ने

Read Time : > 2 मिनेट
२०७६ कार्तिक १० आइतबार १०:५६:००

३ ब्रोकरले लिन थाले आवेदन, कर्जा लिन ग्राहक आएनन्

ब्रोकरमार्फत उपलब्ध हुने मार्जिन लेन्डिङको ब्याजदर १४–१५ प्रतिशतको हाराहारीमा हुने भएको छ । अहिले क्रिस्टल कन्चनजंघा, भिजन सेक्युरिटिज् र कुहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजले यस्तो कर्जा लिन इच्छुक लगानीकर्ताबाट आवेदन लिन थालिसकेका छन् ।  उनीहरूले बैंकबाट कर्जा दिन ११ प्रतिशतमा पुँजी पाएका छन् । 

बैंकबाट पाएको लागतमा ब्रोकरहरूले ३ देखि ४ प्रतिशत थप शुल्क लगाएर लगानीकर्तालाई ऋण दिन सक्छ । यस्तो कर्जाको ब्याजदर तोक्ने अधिकार ब्रोकरमा नै छ । अहिले वित्त कम्पनीबाट लगानीकर्ताले पाइरहेको ब्याजदरसरह नै ब्रोकरमार्फतको कर्जा कायम हुने देखिएको छ,’ क्रिस्टल कन्चनजंघा सेक्युरिटिजका कार्यकारी अध्यक्ष प्रियराज रेग्मीले बताए । वाणिज्य बैंक र विकास बैंकबाट मार्जिन कर्जा लिँदा लगानीकर्ताले केही कम ब्याजदरमा पुँजी पाउने गरेका छन् । 

आवेदन दिने बढे 
मार्जिन कर्जाको अनुमति पाएका ब्रोकरले कर्जा लिन इच्छुक लगानीकर्ताबाट आवेदन लिन थालिसकेका छन् । कुहिनुर सेक्युरिटिजमा सबैभन्दा धेरै लगानीकर्ताको आवेदन परेको कम्पनीले उल्लेख गरेको छ । ‘दैनिक सरदर १५–२० वटा आवेदन आइरहेका छन्,’ कुहिनुर सेक्युरिटिजका प्रबन्ध निर्देशक तथा ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले भने, ‘हामीले सम्झौता गर्न सुरु गरिसकेका भने छैनौँ ।’

क्रिस्टल कन्चनजंघामा भने ३–४ जनाले मात्र आवेदन दिएका छन् । भिजन सेक्युरिटिजमा समेत आवेदन परे पनि सम्झौता गर्न लगानीकर्ता आइनसकेको कम्पनीका अध्यक्ष राजकुमार तिमलसिनाले बताए । नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिजले भने तिहारलगत्तै यस्तो कर्जा दिन सुरु गर्ने भएका छन् ।
 
कसरी पाउँछन् कर्जा ? 
मार्जिन कर्जा प्रवाह गर्न ब्रोकरको चुक्ता पुँजी कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्छ । हाल २१ ब्रोकरले यस्तो कर्जा जारी गर्ने अनुमति पाएका छन् ।  यस्ता कम्पनीले बैंकबाट ऋण ल्याएर र आफ्नो स्वपुँजीबाट कुल नेटवर्थ (सम्पत्ति) को दुई गुणासम्म सेयर कर्जा दिन सक्छन् । यद्यपि, ब्रोकर कम्पनीहरूले आफ्नो नेटवर्थमध्येबाट कम्तीमा २ करोड रुपैयाँ नियमित सञ्चालन र राफसाफका लागि जगेडामा राख्नुपर्छ । 

ब्रोकरहरूले एक ग्राहकलाई आफ्नो नेटवर्थको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैन । त्यस्तै, ग्राहकले एकभन्दा बढी ब्रोकरबाट मार्जिन कर्जा लिएर कारोबार गर्न पाउँदैन । लगानीकर्ताले यसरी कर्जा लिएर कारोबार गर्नुअघि ब्रोकरकहाँ खरिद गर्ने मूल्यको ५० प्रतिशत रकम अग्रिम राख्नुपर्छ । यस्तो सीमालाई ब्रोकरले थप बढाउन सक्नेछन् । यसलाई सुरु मार्जिन भनिन्छ ।  

ग्राहकले सेयर किनिसकेपछि मूल्य घटबढ भएमा हरेक दिन कम्तीमा मूल्यको ४० प्रतिशतबराबर रकम ग्राहकको मार्जिन खातामा भएको ब्रोकरले सुनिश्चित गर्नुपर्छ । यस्तो मार्जिनको गणना सूत्र कार्यविधिले उल्लेख गरेको छ । यदि घटबढका कारण ग्राहकले राखेको रकम सोबराबर नभए ब्रोकरले रकम पुर्‍याउन लगानीकर्तालाई मार्जिन कल गर्छ । ब्रोकरले मार्जिन कल गरेको तीन कार्य दिनभित्र ग्राहकले मिलान नगरे चौथो दिन ब्रोकरले लगानीकर्ताको मञ्जुरीमा ग्राहकको मार्जिन खातामा रहेको सेयर बिक्री गरेर ४० प्रतिशत मार्जिन पुर्‍याउन सक्छ । तर, मूल्य घटेका कारण वास्तविक मार्जिन ३० प्रतिशतभन्दा कम भएमा ब्रोकरले ग्राहकको अनुमति नै नलिएर सेयर बिक्री गरेर ४० प्रतिशत मार्जिन पुर्‍याउन सक्छ । यस्तो कर्जा दीर्घकालीन लगानीकर्ताले नभई छोटो अवधिमा नाफा देख्ने लगानीकर्ताले लिने गर्छन् । 

बजारमा कारोबार हुनेमध्ये नेप्सेले तयार पारेको सूचीमा रहेका कम्पनीहरूको सेयर किन्नका लागि मात्रै ग्राहकले यस्तो कर्जा पाउँछन् । कम्तीमा १० हजार सेयरधनी भएको, चुक्ता पुँजीभन्दा खुद सम्पत्ति कम नभएकोलगायत मापदण्ड तोकिएको छ । हाल नेप्सेको सूचीमा १२ वटा वाणिज्य बैंक, ९ वटा लघुवित्त, ७ वटा विकास बैंक, ३ जलविद्युत् कम्पनी, एउटा होटेल र एक सञ्चार कम्पनी छन् । 

के हो मार्जिन कर्जा
अहिलेसम्म सेयर लगानीकर्ताले बैंकमा आफूसँग भएको सेयर राखेर कर्जा लिँदै आएका थिए । यस्तो कर्जालाई सेयर धितो कर्जा या मार्जिन कर्जासमेत भनिन्छ । यसरी कर्जा लिइएको रकम जुनै कामका लागि पनि प्रयोग गर्न मिल्छ । तर, वास्तविक मार्जिन कर्जा भने योभन्दा फरक हुन्छ । 

सेयर किन्नुअगाडि लगानीकर्ताले तोकिएको रकम (५० प्रतिशत) मात्र राखेर बाँकी पर्ने आवयश्यक रकम कर्जाका रूपमा सेयर ब्रोकरबाट लिन सकिन्छ । यस्तो कर्जालाई मार्जिन लेन्डिङ भनिन्छ । यसरी लिएको कर्जा सेयर किन्न नै प्रयोग गर्नुपर्छ । यस्तो कारोबारको राफसाफका लागि लगानीकर्ताले मार्जिन कारोबारअन्तर्गत खरिद गरेको धितोपत्र जम्मा हुने गरी छुट्टै हितग्राही खाता ‘मार्जिन कारोबार पुल खाता’ खोलेको हुनुपर्छ । 

१० प्रतिशतको गणना प्रविधिबाटै गर्न आग्रह

मार्जिन कर्जा प्रवाह गर्दा एउटा ग्राहकलाई ब्रोकरले आफ्नो नेटवर्थको १० प्रतिशतभन्दा बढी लगानी गर्न पाउँदैन । यसको गणना ब्रोकरहरूले म्यानुअल्ली गरिरहेका छन् । यसलाई नेप्सेकै प्रविधिले गणना गरिदिन ब्रोकरको माग छ । 

‘कुन ग्राहकले यो सीमा कटायो भनेर हेर्न केही कठिनाइ छ,’ भिजन सेक्युरिटिजका अध्यक्ष तिमलसिना भन्छन्, ‘त्यसैले पनि हामीले यसलाई प्रणालीबाटै गणना गर्ने व्यवस्था गर्न माग गरेका हौँ ।’ यस्तै माग कुहिनुर सेक्युरिटिजका रानाभाट र अनलाइन सेक्युरिटिजका अध्यक्ष दिनेश शर्मा (बिडारी) ले पनि गरे ।

तर, यस्तो गणनामा कुनै समस्या नभएको क्रिस्टल कन्चनजंघा बताउँछ । ‘ब्रोकरको आफ्नै सफ्टवेयरले यस्तो गणना गर्न सक्छ,’ क्रिस्टलका रेग्मी भन्छन्, ‘कतिपय ब्रोकरमा आफ्नो नेटवर्थको १० प्रतिशत हो वा कारोबार गरिने कम्पनीको चुक्ता पुँजीको १० प्रतिशत हो भन्ने अझै द्विविधा रहेकाले समस्या भएको हो ।’