मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
विश्वराज पछल्डङ्ग्या
२०७५ पौष २६ बिहीबार १२:४१:००
Read Time : > 1 मिनेट
समाचार

हर्न निषेधित क्षेत्रमा लाउडस्पिकरले ध्वनि प्रदूषित 

Read Time : > 1 मिनेट
विश्वराज पछल्डङ्ग्या
२०७५ पौष २६ बिहीबार १२:४१:००

नेपालगन्ज उपमहानगरपालिकामा हर्न निषेध छ । सवारीसाधनबाट निस्कने ध्वनिले मानवीय स्वास्थ्यमा प्रत्यक्ष असर पारेको भन्दै ट्राफिक प्रहरी कार्यालयले यहाँ हर्न निषेध गरेको हो । हर्न निषेधित क्षेत्रमा हर्न बजाउनेलाई ट्राफिक प्रहरीले जरिवाना गर्न थालेको छ । तर, निद्रा बिगार्ने गरी बज्ने भजन, कीर्तन, नाचगान रोक्नेतर्फ सरोकारवाला निकायले चासो दिन नसकेको सर्वसाधारणले गुनासो गरेका छन् । 

‘जुन कुरा रोक्न जरुरी छ, त्यतातर्फ सरोकारवाला निकायको ध्यान पुग्न सकिराखेको छैन,’ नागरिक समाजका अगुवा प्रकाश उपाध्यायले भने । नेपालगन्जमा लाउडस्पिकरबाट भजन, कीर्तन र संगती हुने मात्र नभई विवाह, पार्टी, धार्मिक महोत्सव, प्रवचनमा समेत लाउडस्पिकर प्रयोग हुने गरेको छ । धार्मिक स्थलबाट ठूलो स्वरमा भजन, कीर्तनको आवाज आउँदा सर्वसाधारणको निद्रा खल्बलिने गरेको छ । 

इस्लाम धर्मावलम्बीले मृत्यु, अन्तिम संस्कार, शुभसाइत, सन्देश वा अन्य कार्यको सूचना प्रवाह गर्न मस्जिदमा लाउडस्पिकर प्रयोग गर्दै आएका छन् । धार्मिक स्थलबाट प्रसारण हुने सूचना र भजन पाँच किलोमिटर टाढासम्म सुनिन्छ । यही सूचनालाई आधिकारिक मानेर आसपासका सर्वसाधारण, शुभचिन्तक र आफन्त अन्तिम संस्कारमा सहभागी हुने गरेको नेपालगन्जका स्थानीय हाजी सकिल अहमद कादरी बताउँछन् । ‘मस्जिदका धर्मगुरुले लाउडस्पिकरबाट प्रवाह गरेको सूचना आधिकारिक हुने भएकाले त्यसैका आधारमा अन्तिम संस्कारमा सहभागी हुने गरिन्छ,’ उनले भने । 

इस्लाम धर्मावलम्बीले मृत्यु र अन्तिम संस्कारका लागि मात्र लाउडस्पिकरमार्फत सूचना प्रवाह गर्दैनन् । इदका वेला निराहार व्रत बस्ने, खाना खाने र खाना बन्द गर्ने समयको सूचना पनि लाउडस्पिकरबाटै प्रवाह हुन्छ । नमाज पढ्ने समय भएको जानकारी लाउडस्पिकरबाटै गराइन्छ । 

ध्वनि नियन्त्रण गर्न माग
मस्त निद्राबाट ब्युँताउने गरी भजन, कीर्तन बजाउने कार्य नेपालगन्जका लागि नौलो होइन । तर, पछिल्लो समय मन्दिर, मस्जिद, चर्च र गुम्बा सञ्चालकबीच चर्को स्वरमा ध्वनि बजाउने होडबाजी चलेको छ । ‘एउटा धार्मिक समुदायले ठूलो स्वरमा भजन बजाउँदैमा अरूले पनि त्यस्तै गर्नु राम्रो होइन,’ अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित साहले भने । चर्को स्वरमा बज्ने ध्वनिले आजित भइसकेको नेपालगन्ज उपमहानगरपालिका–६, फुल्टेक्राका प्रेमबहादुर साहले बताए । उनले ध्वनि प्रदूषण रोक्न प्रहरी, प्रशासनले पहल गर्नुपर्ने बताए । 

प्रशासनको पहल निष्प्रभावी
स्थानीय प्रशासनले मन्दिर, मस्जिद, गुम्बा र चर्चलगायत टेन्टहाउस र साउन्ड सिस्टमबाट आउने ध्वनि प्रदूषण न्यूनीकरण गर्न सर्वपक्षीय छलफल गरे पनि अहिलेसम्म निष्कर्षमा पुग्न सकेको छैन । ‘चर्को स्वरमा लाउडस्पिकर बजाउने कार्य बिस्तारै नियन्त्रण गर्ने निर्णय भएको छ,’ बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भने । 

धार्मिक प्रवचनले ध्वनि प्रदूषण
नेपालगन्जका मस्जिदमा मात्र नभई यहाँका मन्दिर, गुम्बा र चर्चमा पनि लाउडस्पिकरमार्फत भजन, कीर्तन, संगती हुने गरेको छ । विवाह, पार्टी र धार्मिक महोत्सव तथा प्रवचनमा पनि टोल थर्किने गरी चर्को स्वरमा गीत, भजन र प्रवचन हुने गरेको छ । त्रिभुवन चोक आसपासमा भइरहेको धार्मिक प्रवचनमा सदरलाइन, त्रिवेणी मोड, रानी तलाउसम्म सुनाउन लस्करै लाउडस्पिकर राखिएका हुन्छन् । बिपी चोकमा भएको धार्मिक प्रवचन वा कार्यक्रमको आवाज नगरका अधिकांश ठाउँमा पुग्ने व्यवस्था आयोजकले मिलाउने गरेका छन् । 

धार्मिक संस्था र व्यक्तिले आफ्नो कुरा धेरै ठाउँमा पु¥याउने माध्यम लाउडस्पिकरलाई बनाएको कानुन व्यवसायी विश्वजित तिवारी बताउँछन् । उनीहरूका लागि धेरैलाई सुनाउन पाउनु राम्रो होला । तर, सर्वसाधारणले यसलाई ध्वनि प्रदूषणको संज्ञा दिएका छन् । धार्मिक, राजनीतिक वा अन्य कुनै नाममा अरूलाई असर पर्ने गरी ध्वनि प्रदूषण गर्न नहुने तिवारीले बताए ।