१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
टोपलाल अर्याल
२०७५ पौष २६ बिहीबार १२:३२:००
Read Time : > 1 मिनेट
समाचार

५० शय्याको जिल्ला अस्पताल समस्याग्रस्त, अप्रेसन कोठामै चुहिन्छ पानी

Read Time : > 1 मिनेट
टोपलाल अर्याल
२०७५ पौष २६ बिहीबार १२:३२:००

५० शय्याको जिल्ला अस्पतालमा पर्याप्त जनशक्ति र भौतिक पूर्वाधारको अभाव भएको छ । दैनिक डेढ सय बिरामीले सेवा लिने सो अस्पतालमा एउटा कोठामा दुई डाक्टरले बिरामीको उपचार र परीक्षण सेवा दिइरहेका छन् । सो अस्पतालको आवासगृहसमेत जीर्ण भएपछि कर्मचारीलाई समेत समस्या भएको छ । 

अस्पतालका प्रमुख डाक्टर उत्तम पाच्याले अत्यधिक गर्मी र चिसोमा बिरामीको संख्या बढ्दा र अन्य सेवा थप गर्न अस्पतालको भौतिक पूर्वाधार अभाव भएको बताए । आवासगृह पनि जीर्ण भएपछि बाहिरबाट आउने डाक्टरलाई व्यवस्थापन गर्न निकै समस्या रहेको पाच्याले बताए । स्रोत साधनको अभावमा आधारभूत कुराहरूको व्यावस्थापनमा पनि निकै समस्या रहेको पाच्याले बताए ।

अप्रेसन गर्ने कोठामा पानी चुहिने समस्या
जिल्ला अस्पताल आफैँ जीर्ण अवस्थामा छ । पोस्टमार्टम गर्ने ठाउँको समेत अभाव भएको अस्पतालका डाक्टर रामचन्द्र पन्थीले बताए । २४सै घन्टा बिजुली अथवा जेनेरेटरसमेत नहुँदा भरपर्दो सेवा दिन सकेको छैन । त्यस्तै, अप्रेसन गर्ने कोठामा पानी चुहिन्छ । सो अस्पतालको स्तरोन्नतिका लागि डिपिआर भइरहेको छ ।

नर्स ६ महिनासम्म तलबविहीन
जिल्ला अस्पतालका दुई नर्सले यो आर्थिक वर्षको पाँच महिनामा एकपटक पनि तलब पाएका छैनन् । सामाजिक विकास मन्त्रालयबाट बजेट नआएकाले अझैसम्म पनि तलब आएको छैन । प्रतिमहिना २३ हजार पाँच सयका दरले दुई नर्सको दुई लाख ३५ हजार रकम सामाजिक विकास मन्त्रालयले अझै नपठाएको पाच्याले बताए । 

अस्पताल सुधारका योजना
अस्पताल प्रशासनले सुधारका केही योजना सुरु गरेको छ । अस्पतालले कम्प्युटर प्रणालीबाट सेवा प्रदान गर्ने, क्यान्टिन सञ्चालन गर्ने, आफ्नै एम्बुलेन्स प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना बनाएको छ । त्यसैगरी, प्रयोगशाला सेवा थप विस्तार गर्नेसमेत योजना छ । त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका एमडीका अन्तिम वर्षका आवासीय डाक्टरहरूलाई ग्रामीण क्लिनिकल अनुभवका लागि समन्वय गर्नेलगायतका योजना पनि अस्पतालका रहेको पाच्याले बताए । 

दैनिक सरदर एक सय बिरामी
अहिले जिल्ला अस्पताल तम्घासमा दैनिक सरदर एक सय बिरामीले उपचार गराइरहेको अस्पतालका कम्प्युटर अपरेटर देवराज खनालले बताए । आइतबार मात्रै जिल्ला अस्पतालमा ओपिडी र इमर्जेन्सीमा गरी एक सय ४० र सोमबार एक सय १८ जनाले उपचार तथा स्वास्थ्य परीक्षण गराएको अपरेटर खनालले बताए । त्यस्तै, जिल्ला अस्पतालसँगै बाहिर मेडिकलहरूमा पनि चिसोका बिरामी बढ्दै गएका छन् । दैनिक क्लिनिकमा आउने बिरामीमध्ये ३० प्रतिशत बिरामी चिसोबाट प्रभावित आउने गरेको शुभलक्ष्मी क्लिनिकका सञ्चालक होम पल्लीले बताए । बिरामीमध्ये सबैभन्दा बढी १० वर्षभन्दा मुनिका बालबालिका रहेका छन् भने वृद्धवृद्धा पनि चिसोबाट बिरामी हुने गरेका छन् ।

विशेषज्ञ डाक्टरको ९० प्रतिशत दरबन्दी रिक्त
५० शय्याको जिल्ला अस्पताल तम्घासमा अत्यावश्यक सेवा सुविधा र भौतिक पूर्वाधारको अभाव मात्र होइन, दरबन्दीअनुसारको जनशक्तिसमेत छैन । गुल्मी तथा अर्घाखाँचीका बिरामी आउने सो अस्पतालमा सेवा लिन सहज छैन । अस्पतालमा कुल १० जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । 

तर, अहिले एकजना मात्र विशेषज्ञ डाक्टरले १० जनाकै काम चलाएका छन् । अस्पतालमा विशेषज्ञ डाक्टरहरू ९० प्रतिशत छैनन् । ‘१० जना विशेषज्ञ डाक्टरमध्ये म एक्लैले काम चलाउनुपर्छ, बिरामी र कार्यालयको काम धेरै, जनशक्ति थोरै,’ पाच्याले भने, ‘सेवा प्रवाहमा निकै कठिनाइ छ ।’ दरबन्दी चार र चार छात्रवृत्ति करार र एक एनएसआईका गरी नौ मेडिकल अधिकृत छन् । एक दरबन्दी र एक छात्रवृत्ति करारका डेन्टल डाक्टर कार्यरत छन् ।