१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक ९ शनिबार १०:३३:००
Read Time : > 6 मिनेट
फिचर

साइकलमा सरर तिलिचो !

Read Time : > 6 मिनेट
२०७६ कार्तिक ९ शनिबार १०:३३:००

सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक तथा माउन्टेन बाइक टुर साइक्लिस्ट सिंहबहादुर श्रेष्ठ, एडभेन्चर माउन्टेन बाइक टुर साइक्लिस्ट दीपक श्रेष्ठ र माउन्टेन बाइक टुर साइक्लिस्ट सुलोचन राजभण्डारीले दसैँभर मनाङको उच्च हिमाली भेगमा बिताए । यस यात्रालाई उनीहरूले नाम दिएका छन्– ‘थ्री हाई पासेस डिएसएस रुट’ । उनीहरू साइकल चढेरै नार र फू गाउँ, काङ्ला पास, तिलिचो ताल, मेसोकान्तो पास र इस्टर्न पास पुगे । यो माउन्टेन बाइक यात्राको नेतृत्व श्रेष्ठले गरेका थिए । १० दिनमा करिब ७० घन्टा साइकल चलाएर दुई सय ३२ किलोमिटरको कठिन उच्च हिमाली भू–भाग छिचोलेका उनीहरूको यात्रा अनुभव :

साइकलमा तिलिचो पुगेका बायाँबाट क्रमशः दीपक श्रेष्ठ, सुलोचन राजभण्डारी र  सिंहबहादुर श्रेष्ठ  ।

डेढ महिनाअघि योजना बनाएका थियौँ । नार र फू गाउँ तथा काङ्ला पास, तिलिचो ताल, मेसोकान्टो पास, इस्टर्न पास साइकलबाट कसैले पार गरेको थिएन । त्यसैले, यो साहसिक काम थियो । र, १४ असोजमा हामीले काठमाडौं छाड्यौँ । सिंहबहादुर श्रेष्ठ र सुलोचन राजभण्डारीका ‘फूल सस्पेन्सन’ साइकल थिए । दीपक श्रेष्ठको साइकल भने अगाडि मात्र सस्पेन्सन थियो ।

पहिलो दिन काठमाडौंबाट गाडीमा लमजुङको बेँसीसहर पुग्यौँ । अर्को दिन चामेसम्म पनि गाडीमै गयौँ । दोस्रो दिनको बास चामेमै भयो । तेस्रो दिन चामेको कोटोबाट बिहान साढे ८ बजे साइक्लिङ सुरु गर्‍यौँ । उकालो, ओरालो, जंगल, नदी (हिम्लुङ खोला) हुँदै सवा तीन घन्टामा फस्ट क्याम्प पुग्यौँ । त्यहाँबाट ३ बजे फेरि यात्रा सुरु भयो । नेटा पुग्दा साँझ ६ बज्यो । धर्मशालाबाट नेटा जान ठाडै उकालो र चिप्लो थियो । ढुंगा, माटो र बालुवा मिसिएको थियो । खच्चड हिँड्ने ठाडो बाटो थियो ।

ठाउँ–ठाउँमा पहरो खोपेर कोप्रो (कर्भ) बाटो बनाइएको थियो । खतरनाक भिर थियो त्यो । त्यस्तो बाटोमा साइकल कुदाउँदा डर त लाग्ने नै भयो, तर निकै रोमाञ्चक अनुभूति भयो । माथिबाट झरना झरिरहेका थिए, झरनाभन्दा भित्रपट्टि पर्ने बाटोमा हामी साइकल कुदाइरहेका थियौँ ।

हामी अगाडि बढिरहेको अफट्रेलमा कतै एक फिट, कतै दुई फिट र बढीमा पाँच फिटको बाटो थियो । साँघुरो बाटोमा सामान बोकेर हिँडिरहेका खच्चडहरूको क्याराभान छिचोल्दै अगाडि बढिरह्यौँ । त्यही बाटोमा डराउँदै हिँडिरहेका विदेशी पर्यटकहरू भन्दै थिए, ‘हे, यू क्रेजी पिपुल ।’ सिंहबहादुर श्रेष्ठको जवाफ थियो, ‘दिज टु आर क्रेजी, आई एम नट क्रेजी, आई एम स्टुपिड म्यान ।’ हामी क्रेजी त क्रेजी नै हौँ । तर, आत्मबल भएको आँटिलो क्रेजी । त्यस्तो बाटोमा साइकलमा दौडिन जोकोहीले आँट्नै सक्दैनन् । तर, हामीले आँट गर्‍यौँ ।

नेटा तीन हजार ६ सय ६५ मिटरमा छ । साइकल यात्राको पहिलो दिन त्यहीँ बास बस्यौँ । त्यहाँ पुग्दा शरीरमा अल्टिच्युडको असर महसुुस भइरहेको थियो । अलिकति हिँड्यो कि स्वाँ स्वाँ भइहाल्ने । तातोपानी, गार्लिक सुप र अदुवाबाट त्यसको असर कम गर्‍यौँ । पहिलो दिन भएकाले गाह्रो भएको होला । नेटामा खानेबस्ने राम्रो प्रबन्ध थियो । होटेल र होमस्टे थिए । बाटोमा पनि नेपाली र विदेशी पर्यटकको भिड थियो ।

दोस्रो दिन
बिहान ७:४५ मा नेटाबाट हिँडियो । साइकल चलाउन मिल्ने ट्रयाक थियो । तीन हजार सात सय मिटर उचाइमा तेर्सो बाटो साइकलमा गयौँ । ढुंगा भएको ठाउँमा डोर्‍याउँदै अगाडि बढ्यौँ । नेटाबाट च्याखुसम्म करिब ३७ किमि छ । त्यहाँसम्म मज्जाले साइकल चलाइयो । च्याखु चारैतिर पहाडले घेरिएको समथर भाग हो । त्यहाँ दुई घन्टा बितायौँ । लन्च गर्‍यौँ । सिरिसिरि हावा चल्ने आनन्ददायक ठाउँ थियो । त्यहाँबाट दक्षिणतर्फ अन्नपूर्ण शृंखला, चामे र लमजुङ हिमाल देखिँदै थिए । च्याखुबाट दुई बजे हिँडियो । अलिकति उकालो चढेपछि ठाडो ओरालो झर्दै करिब सवा घन्टामा क्याङ भन्ने ठाउँमा पुगेर बास बसियो । क्याङ गाउँ खाल्डोमा पर्ने रहेछ । उचाइ भने तीन हजार आठ सय मिटर थियो । बाटो निकै उबडखाबड र स–साना ढुंगाले भरिएको थियो ।

त्यहाँ होटेलहरू थिए, खानेबस्ने सुविधा थियो । होटेलहरू खचाखच पनि थिएनन् । नार–फू उपत्यकाको बाटोमा मान्छे त्यति नहिँड्ने रहेछन् । थोरंलातिरको बाटोबाट जाँदा भने गाडीहरू चल्ने भएकाले मान्छेको भिडभाड बढी हुने रहेछ । हामी नार–फू उपत्यका हुँदै अगाडि बढ्यौँ । त्यसक्षेत्रमा गाडी पुर्‍याउन बाटो फराकिलो पारिँदै रहेछ ।  

तेस्रो दिन
जतिमाथि उक्लियो, त्यति नै रुखबिरुवा र हरियाली हराउँदै थियो । ‘फू’ पुग्दा मरुभूमिजस्तो देखियो । क्याङबाट तेस्रो दिन ‘फू’तिर लागियो । त्यहाँ पनि ठाडो उकालो चढ्दै डाँडोमा पुगियो । छोर्तेन र ध्वजापताकाहरू देख्दा उकालो सकियो, डाँडोमा पुगियो भन्ने थाहा हुँदो रहेछ ।

क्याङबाट फू पुग्न करिब चार घन्टा लाग्यो । त्यसदिन ‘फू’मै बस्ने भएकाले हामी बिस्तारै गयौँ । हिमालमा परेको पारिलो घामले तस्बिर खिच्न लोभ्याउने । करिब ‘फू’सम्मै साइकल चलायौँ । पहिरो झर्ने क्षेत्र पार गर्दै दिउँसो एक बजे ‘फू’ पुग्यौँ ।

सुन्दर ठाउँ थियो, फू । घाम लागेपछि चारैतिर रंगिन देखिँदो रहेछ । रुखका पातहरू झर्नका लागि पहेँला भएका थिए । पानी पनि रंगिन देखिन्थ्यो । काँडैकाँडा भएको झाडी थियो । झाडीमा बयरजस्तै फल फलिरहेको थियो ।

चारैतिर पहाड र पहाडको तल्लो ढिस्कोमा गाउँ रहेछ । साइकलमै ठाडो ओरालो झर्‍यौँ र थासी गुम्बामा पुग्यौँ । त्यो गुम्बा चार हजार दुई सय १० मिटर उचाइमा छ । गुम्बा घुमेर होटेलमा आएर बस्यौँ । ‘फू’मा फुसफुस हिउँ झरिरहेको थियो । तथापि, यात्रा अवधिभर हामीलाई मौसमले साथ दियो, पारिलो घाम लागिरह्यो ।

 चौथो दिन
‘फू’बाट साइकलमै फर्कियौँ । फर्किंदा बीचमा क्याङ, च्याखु हुँदै नेटा आउने बाटो ‘डाइभर्ट’ भएर खोलामा झर्‍यौँ । ठाउँको नाम नारफेदी । दिउँसो तीन बजे तीन हजार ६ सय मिटर उचाइको सती गुम्बा पुग्यौँ । गुम्बा व्यवस्थित रहेछ, जहाँ हामीले नुहाउन पायौँ । शाकाहारी भोजन गर्‍यौँ । चौथो दिनको बास त्यहीँ भयो ।

 पाँचौँ दिन
नारफेदीबाट बिहान नौ बजे मात्र यात्रा सुरु ग¥यौँ । त्यहाँबाट चार हजार दुई सय मिटर उचाइको नार गाउँ चार घन्टाको पैदल दूरीमा रहेछ । साइकलमा पौने दुई बजे नार पुग्यौँ । त्यहाँ लन्च गर्‍यौँ । लन्चमा याकको मासु र भात थियो । त्यो दसैँको नवमीको दिन थियो । त्यहाँको साम्दोछ्योलिङ गुम्बामा अष्टमी, नवमी र दशमीमा पूजा हुँदो रहेछ । के को पूजा ? हामीलाई जिज्ञासा लाग्यो । तीन दिन पूजा गर्ने विशेष कारण रहेछ । अष्टमी, नवमी र दशमीमा देशभर जति पनि मारकाट हुन्छ, त्यसमा ज्यान गुमाएका पशुपन्छीको आत्मशान्तिको कामना गरिँदो रहेछ, त्यस पूजामा । गुम्बामा करिब दुई घन्टा ध्यान गर्‍यौँ । ध्यान गर्दा थकान मेटियो, शान्ति मिल्यो । त्यो अभावै अभावको क्षेत्र हो । चिसो अनि उजाड छ । जमिनमा अन्न कम उब्जिन्छ । बस्न राम्रो घर छैन । तैपनि, त्यहाँका मान्छे खुसी छन् । सानो कुरामा हाँस्ने । त्यहाँ अभावका बीच देखिएको ह्याप्पिनेस सुविधा सम्पन्न काठमाडौंमै देख्न पाइँदैन । उनीहरू ‘ॐ माने पद्मे हुँ’ वाचन गर्दा बिग्रियो भने पनि दिल खोलेर हाँस्ने र जिस्किने गरिरहेका थिए । साह्रै खुसी देखिन्थे । उनीहरूको आम्दानीको स्रोत यार्चागुम्बा रहेछ ।

१० दिनमा हामीले करिब ७० घण्टा साइकल चलायौं । यो यात्राको कुल दूरी दुई सय ३२ किलोमिटर थियो । यो रुटमा साइकल यात्रा गर्ने हामी पहिलो यात्री बन्यौं ।
 

त्यसदिन नार गाउँमै बस्यौँ । नेपालकै उच्च भागमा भएको बस्ती हो रे, त्यो । नारमा पनि साउनमा घोडेजात्रा हुने रहेछ । गुम्बापछाडिको समथर मैदानमा जात्रा हुँदो रहेछ । नारमा पनि होटेल रहेछन् । खानेबस्ने समस्या रहेनछ ।

 छैटौँ दिन
दशमीका दिन नारबाट बिहान साढे सात बजे निस्कियौँ । त्यहाँबाट उकालो जानेबाहेक अरू उपाय छैन । काङ्लाफेदी पुग्यौँ । त्यहाँबाट एक घन्टा जति हिँडेपछि मौसम तुरुन्तै परिवर्तन भयो । पानी परेजस्तो अनुभव भयो । हामी करिब चार हजार नौ सय मिटर उचाइमा हिँडिरहेका थियौँ । बिस्तारै हिउँ पर्न थाल्यो । करिब दुई घन्टा फुरुरुरु परिरहेको हिउँमै हिँड्यौँ । 

दिउँसो पौने दुई बजेतिर पाँच हजार तीन सय २० मिटर उचाइको काङ्ला पास पुग्यौँ । त्यो पास खुकुरीको धारजस्तो रहेछ । करिब तीन फिटको बाटो । डाँडामा बस्नै नसकिने रहेछ । हतारहतार तस्बिर खिचेर हामी ओरालो झर्‍यौँ । औँलामा निकै चिसो अनुभव भयो । अनुहार पनि चिसोले हल्का खायो ।

तल झर्ने बाटो उबडखाबड रहेछ । होसियारसाथ तल झर्‍यौँ । करिब पाँच सय मिटर छिचोल्न गाह्रो थियो । साइकललाई टेक्ने लौरोजस्तो सहारा बनाएर छिटोछिटो तल झर्‍यौँ । पाँच हजार तीन सय २० मिटरबाट चार हजार ६ सय मिटरसम्म झर्दा साइकल चलाउने बाटो नै पाएनौँ । तल झरेपछि न्याउलसम्म साइक्लिङ गरियो ।

न्याउल पुग्दा दिउँसोको सवा तीन भएको थियो । माथि हिउँ र तल पानी परिरहेको थियो । न्याउल तीन हजार ६ सय ६५ मिटर उचाइमा पर्छ । पानी परेकाले निकै जाडो भयो । त्यहीँ बास बस्यौँ । अघिल्लो दिनको चार हजार दुई सय मिटरको बासबाट पाँच हजार तीन सय २० मिटर चढेर तीन हजार  ६ सय ६५ मिटरमा झर्‍यौँ । त्यसका कारण लेक लाग्ने समस्या भएन ।

सातौँ दिन
हाम्रो लक्ष्य थियो, तिलिचो ताल । न्याउलबाट तिलिचो करिब आठ घन्टाको पैदल दूरीमा रहेछ । साइकलमा अलिकति छिटो हुन्थ्यो । न्याउलबाट खान्सारसम्म साइक्लिङ गर्न सक्छौँ भन्ने थाहा थियो ।  न्याउलबाट बिहान साढे आठ बजे अगाडि बढ्यौँ । मुम्ची, ब्रागा, मनाङ, हुम्दे हुँदै अगाडि बढ्यौँ । मनाङमा टी ब्रेक लियौँ । मनाङबाट खान्सार पुगियो । त्यहाँ नयाँ गुम्बा बन्दै थियो । गुम्बासम्म साइक्लिङ गर्‍यौँ, त्यहाँबाट हिँडेर जानुपथ्र्यो । करिब चार हजार एक सय मिटर उचाइमा ‘अपर सेरी खर्क’ भन्ने ठाउँ छ । त्यहाँ गएर बस्यौँ । त्यहाँ पनि टी हाउस थिए, खानबस्न समस्या भएन । 

 आठौँ दिन
अपर सेरी खर्कबाट बिहानै साइक्लिङ सुरु गरियो । एउटा खोल्सा तर्नेबित्तिकै ७५ मिटर जति उकालो चढियो । उकालो सकेपछि साइकल चलायौँ । तिलिचो आधारशिविरसम्म मज्जासँग साइकल चलायौँ । पहिरो जाने क्षेत्र, बाटो टेक्निकल डाउन रहेछ, साइकल निकै चिप्लिने । भिरालो बाटोमा चिप्लियो भने तल खसिन्थ्यो । मान्छे हिँड्न नसक्ने ठाउँमा पनि साइकल चलायौँ । धन्न हावा लागेन ! साँघुरा घुम्ती र ओरालो छिचोल्दै डरलाग्दो बाटो काटेर १० बजे तिलिचो आधारशिविर पुगियो । त्यहाँ टी ब्रेक लियौँ । आधार शिवर चार हजार एक सय ६० मिटर उचाइमा छ । त्यहाँबाट ठाडै उकालो लाग्न तीनैजना शारीरिक, मानसिक दुवै हिसाबबाट तम्तयार भयौँ । थोरै ठाउँमा मात्र अलिअलि साइकल चलाउन सक्यौँ । ठाडो उकालो करिब तीन सय मिटर बाटो निकै उबडखाबड थियो । तिलिचो ताल पुग्नु ३० मिनेट अगाडिदेखि साइकल चलाउन सक्यौँ । फ्ल्याट जमिन रहेछ । साइकल चलाउँदा २० मिनेट जति लाग्यो । उचाइमा साइकल चलाउँदा निकै स्वाँस्वाँ हुने रहेछ ।

बिस्तारै उकालो लाग्दै करिब तीन घन्टाको बाटो दिउँसो तीन बजे तिलिचो ताल पुग्यौँ । करिब पाँच हजार १४ मिटरमा थियो, तिलिचो लेक टी सप हाउस । तालमा पुग्नासाथ त्यहाँको सौन्दर्यले लठ्ठ बनायो । निकै आनन्द आयो । विश्वकै सबैभन्दा अग्लो ठाउँमा भएको ताल । तस्बिरहरू खिच्यौँ । हामी पुग्दा घाम लगिरहेको थियो । चिसो हावा चलिरहेको थियो । हुस्सुले ढाकेर अँध्यारो भयो । साँझ सात बजे खाना खाएर सुत्यौँ ।

नवौँ दिन
चिया खायौँ अनि चकलेट बिस्कुट किनेर तिलिचो तालबाट बिहान पौने ६ बजे हिँड्यौँ । चिसोले गर्दा पन्जाले पनि काम गरेन । एकदमै चिसो भयो । अहिलेसम्म औँला झमझम भइरहेका छन् । त्यसपछि हामी पाँच हजार तीन सय ८२ मिटरको इस्टर्न पास पुग्यौँ । त्यो पास पुग्नुअघिको कठिन उकालो पार गर्न करिब आधा घन्टा लाग्यो । तिलिचोबाट मेसोकान्टो पुग्न करिब ६ घन्टा लाग्यो । सबैभन्दा डरलाग्दो पास पनि इस्टर्न नै हो । एकले अर्कोलाई सहयोग नगरी अगाडि बढ्न समस्या थियो । हामी पैदलै अगाडि बढ्यौँ ।

मध्याह्न १२ बजे पाँच हजार दुई सय ४५ मिटरको मेसोकान्टो पास पुग्यौँ । त्यहाँबाट तल झर्न हिउँ परेको बाटो काट्नुपथ्र्यो । हिउँको ब्ल्यांकेट ओछ्याएझैँ लाग्ने उबडखाबड ठाडो भिरालो बाटो भएर झर्‍यौँ । मेसोकान्टोबाट करिब ४६ सय मिटरमा झर्न एक घन्टाभन्दा बढी लाग्यो । ४५ सय मिटरमा झरेपछि साइकल चलाउने बाटो भेटियो । बीचमा एक ठाउँ ठाडो उकालो चढियो ।  मज्जासँग साइकल चलाएर मुस्ताङको ठिनी हुँदै जोमसोम पुगियो । दुम्बा तालभन्दा तलको गाउँ हो, ठिनी । र, त्यसदिन जोमसोममै बास बस्यौँ ।

दशौँ दिन
साइकल चलाउने अन्तिम दिन थियो । झन्डै ७५ किमि साइकल चलाएर बेनी झरियो । कच्ची सडक थियो । बस, निजी गाडी र बाइकको घुइँचो थियो । गाडी छल्दै अगाडि बढ्न कठिन थियो । कतिपय ठाउँमा जाम भइरहेको थियो । हामी मार्फा, लेते, कालापानी हुँदै दिउँसो तीन बजे बेनी झर्‍यौँ । १० दिनमा हामीले करिब ७० घन्टा साइकल चलायौँ । यो यात्राको कुल दूरी दुई सय ३२ किलोमिटर थियो । यो रुटमा साइकल यात्रा गर्ने हामी पहिलो यात्री बन्यौँ । अहिलेसम्म विदेशीले पनि यो रुटमा साइकल यात्रा गरेका छैनन् । बेनीमा हाम्रो प्राडो कुरिरहेको थियो । त्यहाँबाट साइकल गाडीमा राखेर पोखरा पुगेर बास बस्यौँ । तेह्रौँ दिनमा कोजाग्रत पूर्णिमामा काठमाडौं आइपुग्यौँ ।