१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
 नवीन प्यासी काठमाडाैं
२०७६ कार्तिक ९ शनिबार १०:१८:००
Read Time : > 2 मिनेट
सप्तरंग

पात्र र पारिश्रमिकमा  भद्रगोल विवाद

Read Time : > 2 मिनेट
 नवीन प्यासी काठमाडाैं
२०७६ कार्तिक ९ शनिबार १०:१८:००

६ वर्षदेखि नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएकोे हास्य टेलिशृंखला ‘भद्रगोल’को टिम गत असारदेखि विभाजित भयो । त्यसका मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ले अर्को टेलिशृंखला ‘सक्किगोनि’को प्रसारण थाले । तर, ‘सक्किगोनि’ पाँच एपिसोड प्रसारण भइसकेपछि ‘भद्रगोल’का पात्र र पारिश्रमिकसम्बन्धी विवाद प्रहरीमा पुगेको छ ।

‘भद्रगोल’को लगानीकर्ता कम्पनी मिडिया हबले जिग्री, पाँडेलगायत आफ्ना पात्र ‘सक्किगोनि’ले प्रयोग गरेको जिकिर गर्दै महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएको छ । मिडिया हबका कार्यकारी प्रमुख सोमप्रसाद धितालले भने प्रहरीमा उजुरी नगरिएको दाबी गरे । ‘सक्किगोनि’का कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले आफूहरूविरुद्ध प्रहरीमा उजुरी परेको बताए । प्रहरी परिसरका नायब उपरीक्षक (डिएसपी) होबिन्द्र बोगटीले पनि उजुरी दर्ता भएको पुष्टि गरे । ‘दुई पक्षबीच छलफल गराउँदै छौँ । सहमति होला,’ उनले भने । 

मिडिया हबका कार्यकारी प्रमुख धिताल भने आफूहरूले प्रहरीलाई ‘नेगोसिएसन’का लागि अनुरोध मात्र गरेको बताउँछन् । भन्छन्, ‘समाधान निस्किएन भने सर्वोच्च, पुनरावेदन या जिल्ला अदालत कहाँ जाने भनेर फाइनल भइसकेको छैन ।’ ‘सक्किगोनि’का कलाकार घिमिरेले मिडिया हबले उजुरी फिर्ता लिएर माफी माग्दै बाँकी रकम भुक्तानी दिनुपर्ने बताए । उनले भने, ‘नत्र अदालत छँदै छ ।’

के हो विवाद ?
‘भद्रगोल’को सम्पूर्ण प्रोडक्सन खर्च मिडिया हबले व्यहोर्दै आएको छ । सुरुदेखि नै ‘भद्रगोल’का कलाकारले सुबी फिल्मस्बाट मिडिया हबसँग कारोबार गर्थे । दुई वर्षअघि दुई कम्पनीको सहकार्य टुट्यो । पछि कलाकारको टिमले ‘जेपिटी क्रिएसन’ कम्पनी दर्ता गरेर त्यसैबाट कारोबार गर्न थाले ।

‘सुबी फिल्मस् र मिडिया हबबीच विवाद भएपछि भद्रगोलको २०–३० भागको एक रुपैयाँ पनि मिडिया हबले हामीलाई दिएन । त्यसपछि हामीले जेपिटी क्रिएसन दर्ता गरेर त्यहाँबाट सिरियल चलाएका हौँ,’ कलाकार घिमिरेले भने । मिडिया हबका कार्यकारी प्रमुख धितालको भनाइमा सुबी फिल्मस्सँगको विवाद कलाकारहरूको थियो । ‘विवादपछि उहाँहरूले हामी अर्कै संस्था ल्याउँछौँ भन्नुभयो । मैले ठीकै छ भनेँ,’ उनले भने ।

सोही बिन्दुबाट कलाकार र मिडिया हबबीच सम्बन्ध चिसिँदै गयो । सोही क्रममा जेपिटी क्रिएसन र मिडिया हबबीच १ साउन ०७४ मा सम्झौता भयो । सम्झौता ०७६ असार मसान्तसम्मको थियो । त्यसबीचमा पनि आर्थिक कुरा नमिल्दा ‘भद्रगोल’का केही शृंखला प्रसारण भएनन् । ०७६ असार मसान्तदेखि भने ‘भद्रगोल’ नै रोकियो । कलाकार घिमिरेले मिडिया हबले कुनै पनि कलाकारलाई पारिश्रमिक नदिएको भने पनि मिडिया हबका कार्यकारी प्रमुख धिताल भने उक्त दाबी स्विकार्दैनन् । 

सम्झौताअनुसार मिडिया हबले प्रत्येक एपिसोडको एक लाख पाँच हजार रुपैयाँ दिने गरेको धिताल बताउँछन् । ‘वर्षको ४०–५० लाख रुपैयाँ युट्युबको र ६० लाखजति प्रोडक्सन खर्च दिन्थेँ,’ धितालले भने, ‘त्यो रकम कहाँ, कसरी खर्च हुन्थ्यो, मलाई थाहा भएन ।’

पात्र कसका ?
मिडिया हबसँग पात्रहरूबारे सम्झौता नभएको कलाकार घिमिरे बताउँछन् । भन्छन्, ‘उहाँहरूलाई प्रसारण अधिकार मात्र दिइएको थियो ।’ धिताल भने ‘भद्रगोल’का पात्रहरू मिडिया हबबाट बाहिर जानै नमिल्ने बताउँछन् । ‘पात्र जन्माउन मिडिया हबको लगानी छ,’ उनी भन्छन्, ‘त्यस्तै प्रकृतिको सिरियलमा पात्रलाई हुबहु लानुभएन भन्ने मेरो माग हो ।’

सम्झौतापत्रमा भने चरित्र र कन्टेन्टको अधिकार दोस्रो पक्ष अर्थात् जेपिटी क्रिएसनमा निहित रहने उल्लेख छ । मिडिया हबमार्फत ‘भद्रगोल’ प्रसारण गर्नुअघि नै सन् २०१२ मा अर्जुन घिमिरे, कुमार कट्टेललगायत कलाकारले ‘सिस्नुपानी झ्याम्मै’ टेलिशृंखला नेपाल टेलिभिजनबाट प्रसारण गरेका थिए । त्यो शृंखला १८ एपिसोडसम्म प्रसारण भयो र रोकियो । ‘सिस्नुपानी झ्याम्मैमा पनि ती पात्र थिए भन्ने उहाँहरूको कुरा छ । तर, हुबहु छ कि छैन, त्यो हेर्नुप¥यो । छ भने उहाँहरूको दाबी रहला,’ धितालले भने, ‘गेटअप र बोल्ने शैली त हामीकहाँ आएर जन्मिएका हुन् ।’ धितालको यो भनाइमा कलाकार घिमिरे सहमत छैनन् । भन्छन्, ‘ती पात्र हामीले भद्रगोलअगावै जन्माएका हौँ ।’

अधिवक्ता सतीशराज मैनाली व्यवसायमा रोक लाग्ने गरी करार गराउन नमिल्ने बताउँछन् । भन्छन्, ‘करार भनेको करार अवधिभरका लागि हो । करारको उद्देश्य बाँचुन्जेल अर्को ठाउँमा अर्को व्यवसाय गर्न नपाउने भन्ने होइन ।’