१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ९ शनिबार १०:०४:००
Read Time : > 3 मिनेट
खेलकुद

सन्दीप लामिछाने : आइपिएलदेखि द हन्ड्रेडसम्म

Read Time : > 3 मिनेट
२०७६ कार्तिक ९ शनिबार १०:०४:००

नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा आफ्नो उचाइ निरन्तर अघि बढाइरहेका छन् । उनले आफ्नो उचाइ कहाँसम्म पुर्‍याउनेछन्, त्यो भविष्यलाई नै छोडौँ । १९ वर्षे यी नेपाली स्टारसँग अझै पर्याप्त समय छ । छोटो समयमा गरेको उल्लेख्य प्रगतिकै कारण विश्वचर्चित फ्रेन्चाइज लिगका अधिकांश ड्राफ्टमा उनी निर्विकल्प खेलाडीका रूपमा स्थापित भएका छन् । 

एकछिन कल्पना गरौँ, सन्दीपले यही रफ्तारमा १० वर्ष अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग खेलिरहे भने धनी खेलाडीको सूचीमा आफूलाई उभ्याउने पक्का छ । अहिले नै विश्व क्रिकेटको नजरमा उनी नछुट्ने खेलाडीका रूपमा स्थापित भइसकेका छन् । पछिल्लो दुई वर्षमै उनी नेपालका सर्वाधिक कमाउने खेलाडीमा दर्ज भइसकेका छन् । नेपालबाट विदेशी क्लबमा आबद्ध भएर सर्वाधिक कमाइ गर्ने खेलाडीमा उनी पहिलो नम्बरमा छन् । त्यसो त नेपालबाट भलिबल र फुटबलका खेलाडी पनि विदेशी क्लबमा अनुबन्ध नभएका होइनन् । तर, सन्दीपको तुलनामा उनीहरूको अनुबन्ध रकम निकै न्यून छ । छोटो समयमा विदेशी क्लबमा अनुबन्धन भएर करोडभन्दा बढी आर्जन गर्ने सन्दीप एक्ला नेपाली खेलाडी हुन् ।

सन्दीपको सफलताको पछाडि दुई वर्ष विभिन्न फ्रेन्चाइज लिग र राष्ट्रिय टोलीबाट गरेको प्रदर्शन नै मुख्य छ । पछिल्लो समय सन्दीप अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिताकै हटकेट लेगस्पिनरका रूपमा स्थापित भइसकेका छन् । उनी अब स्टार खेलाडीको सूचीमा सम्मिलित भएका छन् । राम्रो वा नराम्रो फर्ममै रहे पनि उनले खेलमा जुनसुकै समयमा टिमलाई समाल्न सक्ने विश्वास क्लबहरूको छ । यसको प्रमाणका रूपमा दुई वर्षदेखिको उनको अनुबन्धलाई लिन सकिन्छ । सन् २०१८ देखि सन्दीप निराश बनेका छैनन्, बरु प्रत्येक वर्ष उनको मार्केट भ्यालु र अनुबन्धित रकम अकासिएको छ । विश्व चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)बाट टी–२० फ्रेन्चाइज लिगमा डेब्यु गर्दाको क्षण सायदै उनले यो सफलताको कल्पना गरेका थिए । केवल २० लाख भारुमा आइपिएलमा दिल्ली डेयरडेभिल्समा आबद्ध हुनुको पछाडि अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको भूमिका महत्वपूर्ण मान्नेहरू धेरै थिए । सन्दीपमाथि क्लार्कले त्यत्तिकै नजर लागाएका थिएनन् भन्ने उनले प्रमाणित गरिसकेका छन् । 

दुई वर्षको प्रदर्शनका कारण सन्दीप अहिले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा एक लाख पाउन्डका खेलाडी बनिसकेका छन् । यसै साता मात्र द हन्ड्रेड बलमा सन्दीप नेपाली रुपैयाँ करिब एक करोड ४७ लाखमा अनुबन्धित भए । क्रिकेट खेलकै नयाँ फम्र्याटका रूपमा आएको द हन्ड्रेड बलमा सन्दीपलाई ओभल इन्भिन्सिबलले एक लाख पाउन्डमा अनुबन्ध गर्‍यो । द हन्ड्रेड बलको ड्राफ्टमा एक लाख २५ हजार पाउन्डको समूहपछि सन्दीप रहेको समूह दोस्रो महँगो थियो । सन्दीपलाई ओभलले किन्दा स्थानीय तथा अन्तर्राष्ट्रिय मिडियासमेत चकित परेका थिए । धेरैजसो अन्तर्राष्ट्रिय मिडियाले द हन्ड्रेडमा अनुबन्ध हुने विदेशी खेलाडीलाई भाग्यमानीको संज्ञा दिए र दिइरहेका छन् । ‘अनुबन्धित युवा खेलाडीलाई भाग्यमानी नै भन्नुपर्छ, यस किसिमको फर्म्याटकै उत्कृष्ट खेलाडी टोलीमा परेनन्,’ ड्राफ्ट सम्पन्न भएपछि बिबिसीले गेल र मलिंगा छनोट नहुँदा आश्चर्य जनाउँदै लेख्यो । हो, आठ टोलीले कोटाअनुरूप विदेशी खेलाडी अनुबन्ध गर्दा टी–२० बेसका धुरन्धर खेलाडी स्तब्ध मात्र भएनन्, उनीहरू पहिलो संस्करणबाट बाहिर रहे । यसलाई हेर्दा अब सन्दीप विश्व नम्बर वान हुन मूल्यकै आधारमा पनि धेरै टाढा छैन ।

पछिल्लो १० महिनाको अवधिमा विभिन्न टी–२० खेल खेल्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा सन्दीपले आफूलाई उभ्याएका छन् । उनले १६ खेलबाट २८ विकेट लिएका छन् ।

टी–२० खेलका बादशाह मानिने वेस्टइन्डिजका क्रिस गेल, वेस्टइन्डिजकै किरन पोलार्ड, श्रीलंकाका लसिथ मलिंगा टी–२० का नम्बर एक ब्याट्सम्यान बाबर आजम, दक्षिण अफ्रिकाका क्विन्टन डी कोक तथा तमिम इक्वालजस्ता खेलाडीमाथि द हन्ड्रेडका टोलीले इच्छा देखाएनन् । गेल र मलिंगाले आफूलाई एक लाख २५ हजार पाउन्ड मूल्य तोकेका थिए । धेरैजसो मिडियाले गेल र मलिंगाले आफूलाई ७५ हजारदेखि एक लाख पाउन्डसम्म ड्राफ्टमा राख्दा सहजै अनुबन्ध हुने टिप्पणी गरे । तर, यी दुवै खेलाडी आफ्नो क्षमतासँग ‘कम्प्रोमाइज’ गर्न तयार भएनन् र उनीहरूले सर्वाधिक मूल्य तोके । फलस्वरूप द हन्ड्रेडको पहिलो संस्करणमा उनीहरू अटाउन सकेनन् ।

अन्तर्राष्ट्रिय क्रिकेटमा एक फरक स्थान बनाइसकेका खेलाडीहरू समेत मूल्य घटाएर ड्राफ्टमा समावेश भएका थिए । त्यो पृष्ठभूमिमा सन्दीपले ठूलो जोखिम उठाएको मान्नुपर्छ । सन्दीपले आफूमाथि विश्वास राख्दै एक लाख पाउन्ड मूल्यमा आफूलाई राखेका थिए । सन्दीपको यही हिम्मतले आज उनी करिअरकै सर्वाधिक मूल्यमा अनुबन्ध भएका छन् । यस सफलतालाई उनले जीवनको एक सपना पूरा भएको बताएका छन् । यसको श्रेय उनी नेपाली क्रिकेट र समर्थकलाई दिन्छन् । ओभलमा आबद्ध भएको केही समयमै उनले यस्तो ट्विट गरेका थिए । ‘आज एउटा जीवनको ठूलो सपना पूरा भएको छ, मेरो मात्र नभएर यो नेपाल र समग्र समर्थकको समेत सफलता हो ।’ सन्दीपले ओभलको सदस्य बन्न पाउँदा गौरवान्वित महसुस भएको बताए । यसैक्रममा ओभलका साम कुरानले सन्दीपलाई भित्र्याउँदै ‘द वर्ल्ड क्लास’ बलरको संज्ञा दिए । ‘विश्वस्तरीय बलरलाई अनुबन्ध गर्न पाउँदा खुसी छु,’ ओभलका १२औँ एकदिवसीय विश्वकप च्याम्पियन खेलाडी कुरानले द क्रिकेटर वेभ पोर्टलमा भनेका छन्, ‘ठूलो मैदानमा बललाई सहज टर्न गराउन सक्ने खेलाडी भित्र्याउन पाउँदा हामी खुसी छौँ । मेरो विचारमा सन्दीप र सुनिल नारिन वल्र्ड क्लास स्पिनरमा पर्छन् ।’ कुुरानको विश्वस्तरीय भनाइलाई सन्दीपले प्रमाणित पनि गरेका छन् । सन् २०१९ को टी–२० फ्रेन्चाइज क्रिकेट लिगको डाटाले पनि सन्दीपलाई विश्वस्तरीय बलरका रूपमा परिचित गराएको छ ।

पछिल्लो १० महिनाको अवधिमा विभिन्न टी–२० खेल खेल्दै सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा सन्दीपले आफूलाई उभ्याएका छन् । उनले १६ खेलबाट २८ विकेट लिएका छन् । औसत १३.७१ मा बलिङ गरेका सन्दीपले ५९ ओभर बलिङ गरेका छन् । टी–२० का नम्बर एक बलर अफगानी रसिद खान १३औँ स्थानमा छन् । रमाइलो पक्ष के छ भने सन्दीपलाई पछ्याइरहेका नेपालकै करण केसी २७ विकेटका साथ दोस्रो स्थानमा छन् । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड बल प्रतियोगितामा सन्दीपले एकपटक विश्व चर्चित खेलाडीसँग ड्रेसिङ रुम सेयर गर्नेछन्, जुन अनुभव नेपाली क्रिकेटका लागि समेत महत्वपूर्ण हुनेछ । विश्व क्रिकेटकै एक अनौठो खेलको पहिलो सिजनमा सन्दीपको मुख्य प्रयास नै आफू अनुबन्धित क्लबलाई निराश नपार्नु हुनेछ । सन्दीपले आफ्नो उच्च प्रदर्शन कायम राखेमा अर्को वर्ष थप रकममा अनुबन्धनको ढोकासमेत खोल्नेछन् ।