मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ कार्तिक ९ शनिबार ०८:१५:००
Read Time : > 2 मिनेट
समाचार

सहरका ठूला मिठाई पसलकै मिठाई दूषित, गुलाब र बाग्मतीलाई कारबाही सिफारिस

Read Time : > 2 मिनेट
२०७६ कार्तिक ९ शनिबार ०८:१५:००

काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ठूला मिठाई  पसलबाट उत्पादन भएका मिठाईजन्य खाद्यवस्तु दूषित र कम गुणस्तरका पाइएका छन् । शुक्रबार महानगरको कृषि तथा पशु सेवा विभागको अगुवाइमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्च र पत्रकारहरूको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा मिठाई पसलमा लेबल नराखिएका वस्तु बेच्न राखिएको, मिठाई बनाउने सामानको गुणस्तर र सफाइमा ध्यान नदिएको पाइएको हो । 

अनुगमन टोली सुन्धारास्थित गुलाब मिठाईमा पुग्दा तिहारका लागि मिठाई प्याकिङ गरेर दिइने बक्सहरू भुइँमा राखेर पट्याउने काम भइरहेको थियो । यसरी बक्स बनाउन खटिएका कर्मचारीहरू भुइँमा पलेँटी कसेर बसेका थिए । उनीहरूका अगाडि बक्स र कागजको थुप्रो थियो । उनीहरूले जुत्ता लगाएका थिए तर हातमा पञ्जा, शरीरमा एप्रोन तथा टाउको छोप्ने कुनै सामान प्रयोग गरेका थिएनन् । गुलाबको पहिलो तलामा मिठाई बनाउने काम गरिरहेका कामदारहरू खाली हातले लड्डु बनाइरहेका थिए । छेउमा ठूला ठूला भाँडामा लालमोहन र रसबरी राखिएको थियो ।

तेश्रो तला राखिएका सामानहरू हेर्दा दुगड कम्पनीबाट उत्पादन भएका एक किलोग्रामका १० वटा म्याद गुज्रेका बेसनका प्याकेट भेटिए । अर्को तलामा पुग्दा भण्डारको छेउ अँध्यारो कुनामा आधा बोरामा कीरा परेको बेसन भेटियो । यसलाई जोखेर हेर्दा २६ किलोग्राम थियो । अनुगमन टोलीले यसरी भेटिएका अखाद्य बेसनलाई फोहोरमा मिसाएर नष्ट गरिदियो । टोलीले सामान नष्ट गरिरहँदा सालिमार हस्पिटालिटी एन्ड फुड प्रडक्ट प्रालिका व्यवस्थापनका भरत रावल बिग्रिएका सामान आफूले प्रयोग नगरेको दाबी गरिरहेका थिए । गुलाब मिठाई यसै फुड प्रडक्टको एउटा उत्पादन हो । गुलाबले बिक्रीका लागि तयार पारेका अन्य मिठाईमा उत्पादन भएको तथा म्याद सकिएको मिति र मूल्य राखेको ट्याग थिएन । टोलीले यी विवरणसहितको ट्याग राखेर मात्र बिक्री गर्न र उत्पादन गर्दा सरसफाइमा ध्यान दिन सचेत गरायो । 

त्यसपछि टोली त्रिपुरेश्वरस्थित बाग्मती स्विटस्मा पुगेको थियो । सुरु टोलीले सरसफाइ नहुनु र मिठाईमा ट्याग नहुनुको कारण सोध्यो । त्यस क्रममा सञ्चालकहरू तत्काल बिक्री हुने भएकोले मिठाईमा ट्याग राख्नु नपर्ने आफूलाई लागेको तर राख्नुपर्ने हो भने त्यसमा आफू तयार रहेको बताउँदै थिए । पसल सञ्चालन भएको ठाउँमा बिक्रीका लागि राखिएका तारेको आलुको प्याकेट र भुजियामा उत्पादित मिति नपाएपछि टोलीले १८ प्याकेट आलु जफत गर्‍यो । त्यसपछि नजिकै भएको भान्सामा पुग्दा सरसफाइमा ध्यान नगएको देखिन्थ्यो । भान्सामा मिठाई पकाउने चूलाहरू फोहोर थिए भने पकाइसकिएका मिठाईहरू पत्रिकाले छोपेर राखिएका थिए । त्यस्तै, सबै सामाजहरू एकै ठाउँमा गजमज्ज पारेर राखिएको थियो । भुइँ चिल्लो भएर हिँड्न कठिन हुने अवस्थामा थियो । विभिन्न कोठामा राखिएका मिठाईमध्ये भित्री कोठाको कुनामा राखिएको चमचम (गुलियो मिठाई) मा साङ्ला भेटिपछि टोलीले करिब १० किलोग्राम (सञ्चालक इन्द्रप्रसाद घिमिरेका अनुसार करिब १६० वटा) मिठाई नष्ट गर्‍यो । 

अनुगमनको जिम्मा स्थानीय तहलाई
नेपालको संविधान, ०७२ को अनुसूची ८ ले उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनको जिम्मेवारी स्थानीय तहलाई तोकेको छ । उपभोक्ताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न, उपभोग्य वस्तु तथा सेवाको गुणस्तर, परिमाण र मूल्यको अनियमितताबाट उपभोक्तालाईं संरक्षण प्रदान गर्न बजार अनुगमन आवश्यक रहन्छ । अनुगमनका क्रममा वस्तु वा सेवाको उत्पादन स्थल वा भन्सार विन्दु, ढुवानी मार्ग, भण्डारण तथा सञ्चय स्थल, थोक तथा खुद्रा बिक्री स्थल, उपभोग स्थललगायतका ठाउँहरू वस्तु वा सेवा प्रदायक, बिक्रेताको व्यावसायिक कारोबारको दर्ता, नवीकरण, आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापनलगायतका व्यापारिक क्रियाकलाप हेरिन्छ । 

महानगरले गरिरहेको अनगुमनमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले नेतृत्व गरेकी छिन् भने टोलीमा वाणिज्य तथा आपूर्ति विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपभोक्ता अधिकारकर्मी, पशु चिकित्सकलगायत सदस्य छन् । उपभोक्ता हित संरक्षण ऐन २०७५ को दफा ३९ मा बजार अनुगमन, निरीक्षण, जाँचबुझ, वा खानतलासीका क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले कसुर गरेको देखिएमा निरीक्षण अधिकृतले तत्काल पाँच हजार रुपैयाँदेखि बढीमा तीन लाख रुपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ ।

नियमित निगरानीको खाँचो
जनस्वास्थ्यमा गम्भीर समस्या सिर्जना हुन सक्ने खानेकुरा उत्पादन र बिक्री गर्नेमाथि नियमित निगरानी गर्ने बताउँदै महानगरको कृषि तथा पशु सेवा विभागका प्रमुख हरिबहादुर भण्डारीले तिहारका समयमा बिक्री हुने दूधजन्य खाद्यवस्तु, सुक्खा प्याकिङ गरिएका बदाम, काजु, किसमिसजस्ता प्याकिङ फुड, तरकारी, फलफूल र फूलको बजारमा गुणस्तर र मूल्यलाई केन्द्रमा राखेर अनुगमन गरिएको बताए । अनुगमनका क्रममा भेटिएका गल्ती गर्नेलाई खाद्य ऐन २०२३ को दफा ५(२) र ५(३) बमोजिम दूषित खानेकुरा बिक्री गर्ने तथा कम गुणस्तरका सामान उत्पादन गर्ने कसुरमा कारबाही अघि बढाइन्छ । अनुगमनमा रहेका खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले भने, ‘यसै व्यवस्थाबमोजिम गुलाब र बाग्मती स्विटस्माथि मुद्दा चलाइन्छ ।’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले काठमाडौंमा भएका सबैखाले मिठाई पसलमाथि निगरानी राख्नुपर्ने बताए ।