१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
युवराज भट्टराई
२०७६ कार्तिक ८ शुक्रबार ०९:११:००
Read Time : > 6 मिनेट
दृष्टिकोण

जब सत्ताले माचिस्मो ओकल्छ

माचिस्मोले नारीलाई हेर्ने दृष्टिकोण, बोल्ने भाषा, देखाउने बिम्ब र गर्ने व्यवहार आदि सबै लैंगिक रूपमा विभेदकारी हुन्छ

Read Time : > 6 मिनेट
युवराज भट्टराई
२०७६ कार्तिक ८ शुक्रबार ०९:११:००

‘खोइ त तिम्री स्वादिष्ट छोरी ?’ जुनोट डियाजको उपन्यास ‘द ब्रिफ एन्ड वन्डर्स लाइफ अफ ओस्कार वाओ’ उपन्यासमा तानाशाह राफेल त्रुजिलोले आफ्नै सल्लाहकार डा. अबेलार्ड काब्राललाई सोधेको प्रश्न हो यो । स्वादिष्ट छोरी भन्नाले काब्रालकी १४ वर्षीया किशोरी छोरी ज्याकलिन हुन् । शासक, ज्याकलिनलाई भोग गर्न चाहन्छ ।

मानौँ उनी एक व्यञ्जन हुन् र सर्वप्रथम तिनलाई त्रुजिलोले नै चाख्न पाउनुपर्छ । किनकि, उनी डोमिनिक रिपब्लिकका एक मात्र शासक हुन् । यो प्रश्न त्रुजिलोको पार्टीमा सोधिएको हो, जसको केही दिनअघि काब्राललाई श्रीमती र छोरीसहित पार्टीमा सरिक हुने निम्तो दिइएको थियो । काब्राललगायत सबै अभ्यस्त थिए कि श्रीमती र छोरीसहित त्रुजिलोको भोजको निम्तो पाउनु भनेको विनासर्त आफ्ना श्रीमती र छोरीलाई छानी–छानी त्रुजिलोलाई भोग्न दिनु हो । डा. काब्राल विनाश्रीमती र छोरी पार्टीमा जान्छन् । यसको केही दिनमा काब्राललाई जेल हालिन्छ । उनकी श्रीमती तेस्री छोरीलाई जन्म दिएर आत्महत्या गर्छिन् भने दुई छोरी ज्याकलिन र उनकी बहिनी रहस्यमय ढंगबाट मारिन्छन् । 

तानाशाह त्रुजिलो सन् १९३० मा सत्तामा आए । राज्यका सम्पूर्ण स्रोत साधन हातमा लिएर विरोधीको नरसंहारमा उत्रिए । उनका पिछलग्गुहरूले उनलाई ‘सिभो’ अर्थात् गोट (बोका)को उपमा दिइरहे । ल्याटिन अमेरिकी परम्परामा गोटलाई ‘शक्ति’ ‘सामथ्र्य’ र ‘विशेष व्यक्ति’ भन्ने बुझिन्छ । सन् १९६१ मा हत्या नहुन्जेल त्रुजिलो डोमिनिक रिपब्लिकको ‘बोका’ अझै भनौँ कुकुरको सबैभन्दा बलियो डाँगोजस्तै भएर रहे । राज्यका जुनसुकै स्त्री र किशोरी भोग गर्न उनी स्वतन्त्र थिए । उनका आसेपासे मन्त्री, वरिष्ठ कर्मचारी सबैले त्रुजिलोलाई रिझाउन आफ्ना श्रीमती र किशोरी छोरी चढाउँथे । 

सिंगो राज्य माचिस्मोबाट ग्रस्त थियो । डोमिनिकका महिलाको हैसियत एउटा यौनदासीभन्दा माथि थिएन । समग्रमा त्रुजिलो सत्तामा सबैभन्दा प्रताडित महिला नै थिए । एउटा चर्चित उपन्यास छ– मारियो भार्गास लोसाको ‘द फिस्ट अफ द गोट’ । उपन्यासको सन्दर्भ किन पनि सान्दर्भिक छ भने यो ऐतिहासिक उपन्यास हो र समीक्षकले पनि यसका घटनाहरूको ऐतिहासिक सत्यता पुष्टि गरिसकेका छन् । यो उपन्यासको प्रमुख पात्र गोट त्रुजिलो आफैँ हुन् ।

अर्का प्रमुख पात्र म्यानुअल अल्फोन्सो तत्कालीन त्रुजिलोका सल्लाहकार म्यानुअल डि ला गोया हुन् । यद्यपि, यस उपन्यासकी प्रमुख पात्र भने अल्फोन्सोकी छोरी युरानिया हुन् । त्रुजिलोको हत्या हुनुभन्दा केही हप्ताअघि युरानिया १४ वर्षीया किशोरी हुन्छिन् । त्रुजिलोले अल्फोन्सोलाई छोरी युरानियालाई आफूसँग पठाउन लगाउँछ । ज्यान जोगाउन अल्फोन्सो त्यसै गर्छ । नपुंसक भइसकेको त्रुजिलोले औँलाले युरानियाको बलात्कार गर्छ । 

यी दुई घटनाले प्रस्ट पार्छ कि त्रुजिलो युगमा डोमिनिक महिलाको स्थिति कस्तो थियो । तिनताका महिलाहरू पुरुषका खेलौनाका सामानजस्ता मात्रै थिए । सिंगो डोमिनिक अझै ल्याटिन अमेरिकी समाज माचिस्मोबाट ग्रसित थियो, जसले नारीलाई फगत एउटा वस्तुका रूपमा मात्रै लिइरह्यो । त्रुजिलो शासन आफैँमा माचिस्मो अर्थात् ‘मर्दवाद’को उत्सर्ग थियो । ल्याटिन अमेरिकी समाजमा माचिस्मोको एउटा छुट्टै अवधारणा छ ।

माचिस्मो शब्दले सामान्यतः पुरुषत्व शब्दलाई जनाउँछ । यद्यपि, यो पुरुषत्व वा ‘मस्कुलानिटी’ चाहिँ मात्र होइन । बरु यो पुरुषलाई श्रेष्ठतम स्थानमा विराजमान गराउँदै, नारीलाई दास बनाउँदै शताब्दियौँदेखि दमनमा राखिरहने लैंगिक विभेदकारी अवधारणा हो । जसले कहिल्यै नारीलाई मानिसको रूपमा स्विकार्दैन । माचिस्मोग्रसित समाजमा लैंगिक हिंसा, बलात्कार, नारीमाथिको दमनलाई अत्यन्त सामान्यसँग लिइन्छ ।

सिंगो राष्ट्र, समाज र समुदायले नारीलाई अत्यन्त तुच्छ र घृणित स्थानमा बसाल्छ । माचिस्मोले नारीलाई हेर्ने दृष्टिकोण, बोल्ने भाषा, देखाउने बिम्ब र गर्ने व्यवहार आदि सबै लैंगिक रूपमा विभेदकारी हुन्छ । माचिस्मो कुनै बलात्कारी व्यक्तिविशेषमा सीमित हुँदैन । यो त राज्य, समाज, समुदाय, संस्कृति, रीतिरिवाज, भाषा–साहित्य सबै थोकमा छ्यापछ्याप्ती घुसेको हुन्छ । ल्याटिन अमेरिकी, अफ्रिकी र दक्षिण एसियाली विकासशील समाजमा त माचिस्मो सर्वसम्मत रूपमा हावी भइरहन्छ । 

ओक्टाभियो गिराल्डोका अनुसार आक्रामक हुनु र शारीरिक हिंसामा उत्रन सक्नु माचिस्मोको एउटा विशेषता हो । अर्को विशेषता भनेको धेरैभन्दा धेरै महिलामाथि भोग र नियन्त्रण गर्नु हो । जति सक्दो धेरै निरीह किशोरी र युवतीमाथि शारीरिक सुखभोग गर्न सक्यो, त्यति नै त्यो ‘माचो म्यान’ बन्दै जान्छ । यसमा पुरुषले लज्जा र हीनताबोध गर्नुपर्दैन । बरु यसले त ऊ झन् खतरा र वरिष्ठ बन्दै जान्छ ।

माचिस्मोको अवधारणा पनि सबै परम्परागत नारीवादीले भन्दै आएको महिला–पुरुषबीचको विभेदकारी लैंगिक भूमिकामा आधारित छ । व्यवहार, बोलीचाली, दैनिक कामधन्धा, आचरण, चरित्र एवं पेसा व्यवसायमा मात्र होइन, माचिस्मोले महिला–पुरुषबीचको यौनिकतामा समेत आकाश–जमिनको विभेद सिर्जिएको छ । फलस्वरूप जबरजस्ती भोग गर्ने बलात्कारी पुरुष समाजमा कहिल्यै नैतिक रूपमा पतन हुँदैन । तर, बलात्कृत नारी माचिस्मो समाजमा आजीवन कलंकित भएर बाँच्नुपर्छ । 

कमला भसिनको एउटा भनाइ चर्चित छ, ‘पुँजीवादले घरमा श्रीमती राखेर बजारमा सेक्स खरिद गर्छ ।’ कुरा एकदमै सही छ । पुरुषले पुँजीपतिले झैँ सम्पूर्ण उत्पादनका साधन स्रोतमाथि कब्जा जमाउँछन् र संकलित पुँजीको सहारामा नारीमाथि कब्जा जमाउँछन् । कब्जा जमाउनु अर्थात् कज्याउनु आफैँमा शासन जमाउनु हो । यद्यपि, दोष पुँजीवादको मात्र होइन । पुँजीवादले पुरुषले जस्तै नारीलाई पनि बजारमा सेक्स खरिद गर्ने अधिकार दिएको छ ।

पुँजीवाद आफैँमा माचिस्मोको कठपुतली बनेको छ भन्दा ठीक होला । एकातिर पुँजी आफैँमा पुरुषको नियन्त्रणमा छ र यसमा नारीको नियन्त्रण एकदमै न्यून छ । त्यसैले पुँजीवादले पनि नारीलाई एउटा वस्तुको रूपमा मात्र लिएको छ । यो विगतदेखि वर्तमानसम्म नारीको देहलाई बजारीकरण र वस्तुकरण गर्न उद्वेलित छ । त्यसैले त यसले पुरुषले प्रयोग गर्ने कन्डमदेखि खाने ह्विस्कीसम्मको विज्ञापनमा नारी देहलाई प्रधानता दिन्छ । मानौँ नारी एउटा वस्तु मात्र हो– पुरुषको उपभोग्य वस्तु । यसमा भोग्याको इच्छा र आवश्यकताको कुनै कदर गरिँदैन । यौनिक स्वतन्त्रता पुरुषका लागि गर्वको कुरा हो र नारीका लागि घृणाको । माचिस्मोको यौनिकतामाथिको लैंगिक विभेदकारी दृष्टिकोण नै नारी शोषणको सबैभन्दा जड कारण हो ।

नपुंसक भइसकेको त्रुजिलो किन किशोरी युरानियालाई बलात्कार गर्न उद्वेलित हुन्छ ? कुरा प्रस्ट छ– ताकि जबरजस्ती भोग गरिएपछि ऊ आफ्नो जीवनभर कलंकित र प्रताडित भएर अभिसप्त जिन्दगी बाँचिराखोस् । अर्कोतर्फ त्रुजिलो जबरजस्ती भोग गरेको दम्भ देखाउन चाहन्छ । ऊ माचिस्मोबाट ग्रसित राज्यको एक मात्र ‘माचो म्यान’ मै हुँ भन्ने सन्देश दिन चाहन्छ ।

युरानियालाई बलात्कार गरेको केही हप्तापछाडि बीचसडकमा गोली हानेर त्रुजिलोलाई मारिन्छ । लाखौँ डोमिनिक महिलाले एउटा बलात्कारीबाट त उन्मुक्ति पाउँछन्, यद्यपि त्रुजिलो युगले सशक्तसँग स्थापित गरेको माचिस्मोको राजबाट भने उनीहरू झन् बढी ग्रसित हुन्छन् । यो युगले महिलामाथि हेर्ने दृष्टिकोण झन् नकारात्मक पारिदिएको छ । नारी फगत एउटा भोग्या वस्तु हो भन्ने गलत नजिर सिंगो डोमिनिक रिपब्लिकमा र ल्याटिन अमेरिकी समाजमा जरो गाडेर बसेको छ । 

पैसा र राजनीतिक शक्तिले निरीह महिलामाथि कतिसम्म लैंगिक हिसा गर्न सक्छ भन्ने एउटा दृष्टान्त हो, यो । सुन्दा अचम्म लाग्छ, तानाशाहको शासनमा मात्र होइन, लोकतान्त्रिक भनिएका मुलुकमा समेत यो प्रवृत्ति छ्यापछ्याप्ती देखिन्छ । सन् २०१७ को कुरा हो, उत्तरप्रदेशको उन्नाव विधानसभाबाट निर्वाचित बिजेपीका विधायक कुलदीप सिंह सेंगरले नाबालिक किशोरीलाई बलात्कार गर्छन् ।

छोरीका लागि न्याय माग्दामाग्दै उनका पिता हिरासतमा मारिन्छन् । पीडित र उनका आफन्ती चढेको गाडीलाई शंकास्पद ट्रकले ठक्कर दिन्छ र सबैको हत्या गरिन्छ । तर, संयोगवश पीडित किशोरी बाँच्न सफल हुन्छिन् । यसअघि, उनले न्याय माग्दै विधायकनिवास अघिल्तिर आत्महत्याको प्रयास गरिसकेकी हुन्छिन् । यो एउटा प्रवृत्ति हो । उन्नावजस्ता कैयौँ घटना पैसा र शक्तिको आडमा दबाइए होलान् । यी सब पक्षको हिसाब गर्ने ठेक्का माचिस्मो सत्ताले कहिल्यै लिँदैन । यस्तोमा अधिकांश पीडित आवाज निकाल्न सक्दैनन् । साम, दाम, दण्ड, भेद सबै प्रयोग गरेर माचिस्मो सत्ताले बलात्कारीलाई उन्मुक्ति दिने बाटो खोलिदिन्छ । 

पीडितलाई कानुनी प्रक्रियाका दौरान पटक–पटक बयान फेराउनु, पीडितलाई ‘बौलाही’ करार गराउनु कानुनी राज्यमा माचिस्मोले बालात्कारीलाई उन्मुक्ति दिने सबैभन्दा प्रचलित मार्ग हो, कानुनी राज्यमा मञ्चन गरिने सबैभन्दा सस्तो प्रहसन । महरा–रोशनी प्रकरण अहिले ठ्याक्कै यही चरणबाट गुज्रिरहेको छ । अदालती प्रक्रिया चलिरहँदा यसबारे चर्चा गर्नु हतारो होला । तर, यस्ता घटना र यसको परिदृश्यले नेपाली सत्ता, समाज, संस्कृतिमा माचिस्मोले जरा गाडेको छर्लंग देखिन्छ ।

एक महिना पनि भएको छैन, झापामा बलात्कारीलाई कारबाही त परै जाओस्, पीडितको परिवार नै थातथलोबाट विस्थापित हुनुप-यो । यस्तोमा मुख्यतः पीडक पीडितभन्दा सामाजिक, राजनीतिक र आर्थिक हिसाबले पहुँचवाला हुँदारहेछन् । यो माचिस्मोबाट ग्रसित समाजका लागि गर्वको कुरा हो । यस्तो समाजमा शक्तिमा रहेका पुरुषले गरेको गल्तीको माफी माग्नुपर्दैन, स्पष्टीकरण दिनुपर्दैन । यसको ज्वलन्त उदाहरण प्रदेश नम्बर १ का मुख्यमन्त्रीमाथि लागेको यौन दुव्र्यवहारको घटना हो ।

विगत डेढ वर्षमा लैंगिक हिंसा र ‘फेमिनोसाइड’का विरुद्ध थुप्रै अभियान चले । निर्मलाका लागि न्याय त बलात्कारविरुद्धको मुलुककै अहिलेसम्मको विशाल प्रदर्शन हो । ठ्याक्कै भारतको ‘जस्टिस फर निर्भया’ र दक्षिण अमेरिकाको ‘नी उना मेनस’ जस्तो । सत्तासीनहरूको कुकर्म लुकाउन माचिस्मो सत्ता न्वारनदेखिको बल लगाउँदै छ भन्ने आममानिसलाई घामजत्तिकै छर्लंग छ । नमिता–सुनीता काण्डले यसलाई थप पुष्टि गर्छ । र, महराकाण्ड बाहिरिएपछि सत्ता झन् उदांगो भएको छ । 

एउटी ‘बौलाही’ रोशनीले सत्ताको माचिस्मोले देखाउने नग्न नृत्य बाहिर ल्याएकी छिन्, यो एकदमै सराहनीय छ, त्यसैले यौन र यौनिकताका आधारमा नारीको चरित्र निर्धारण गर्ने विभेदकारी माचिस्मो अवधारणाको अन्त्य हुनैपर्छ

यही वर्ष अर्को अभियान नेपालमा पनि भित्रियो– ‘मी टु’ । लैंगिक हिंसाविरुद्ध बोल्नुपर्छ भन्ने पीडितको चेतना थियो, त्यो । सम्भवतः सबैभन्दा जागरुक र चेतनशील नारी नेपाली रंगमञ्चमा छन् । त्यसैले रंगमञ्चका केही सत्ताधारीलाई यौन दुव्र्यवहारको आरोप लाग्यो । त्यसो त मी टु अभियानले पीडकलाई कानुनी दायरामा ल्याउँदैन । यसको प्रमुख औचित्य पीडकले लज्जाबोध, आत्मालोचना गरोस् र गल्तीलाई सच्याउँदै ऊबाट अरू थप पीडित नहून् भन्ने हो ।

काथी कारुथको शब्दमा भन्नुपर्दा– यो एक प्रकारको ‘ट्रमा न्यारेसन’ हो । पीडा पोख्न पाएपछि पीडितले केही राहत महसुस गर्छ । तर, यहाँ परिणाम उल्टो भयो । पीडक लज्जित हुनुपरेन, उसले माफी माग्नुपरेन, किनकि दुव्र्यवहारको आरोपले समाजमा उसको इज्जत प्रतिष्ठामा आँच आएन । ऊ त माचिस्मो सत्ता र समाजको एउटा आदर्श माचो म्यान बनेर उभियो । बरु पीडितहरू गरिरहेको कामबाट लाखापाखा लाग्नेसम्मको स्थिति बन्यो । उनीहरूको पीडा घटेन, झन् थपियो । कुरा स्पष्ट छ– अबला नारीलाई न्याय दिनु माचिस्मोको धर्म होइन । 

अहिले माचिस्मोबाट ग्रसित एउटा ठूलो हिस्सा रोशनी शाहीका कमजोरी केलाएर बसेको छ । अर्को एउटा जमात छ, जो महराप्रति खुचिङ गर्दै छ । यी दुवै प्रवृत्तिबीच रोशनी मानिस होइन कि फगत एउटा वस्तु र गोटी बनाइएकी छिन् । यो वर्गलाई रोशनीको भावना र न्यायसँग कुनै सरोकार नै भएन । त्यसैले अहिले उनी नितान्त एक्लिएकी छिन् । उनको भन्नु केही छैन ।

माचिस्मो सत्ता र समाज दुवैले उनलाई ‘म्याड ओमन इन द एटिक’ बनाएको छ । उनको फुंग उडेको, रस निचोरिएको अनुहार, काला–नीला भइसकेका आँखाका डिल सबै पर्याप्त छन्, उनको विवशताको बयान गर्न । उनले खाने औषधि, गरेको आत्महत्याका प्रयासजस्ता कैयौँ विषयले उनी गहिरो मानसिक विषादमा थिइन् भन्ने प्रस्ट हुन्छ । तर, कसरी उनी विषादको सिकार भइन् त ? सजिलै अनुमान लगाउन सकिन्छ ।

यसका पछाडि दुई पुरुष छन् । पहिलो उनका श्रीमान्, जसले रोशनीले महरालाई बलात्कार आरोप लगाएपछि मानसिक रोगी भएको आरोपमा पारपाचुके दिइसकेका छन् । दोस्रो पुरुष हुन्– महरा । यी दुवै पुरुषले रोशनीलाई मान्छे नभएर वस्तुको रूपमा लिए । एउटा पुरुष, जसले राजनीतिक शक्ति, पैसा र पहुँचको भरमा रोशनी खरिद गरे, अर्को आफ्नै श्रीमान्, जसले सामाजिक, आर्थिक र राजनीतिक सौदाबाजीका लागि श्रीमती अरूलाई सुम्पे । महराले बलात्कार गरे/नगरेको अदालतले फैसला गर्ला । तर, रोशनीका श्रीमान्ले पारपाचुके दिएर कलमले नराम्रोसँग रोशनीको बलात्कार गरे । जस्तै– नपुंसक त्रुजिलोले युरानियालाई गरेको थियो । खासमा सत्ताले ओकलेको माचिस्मोले रोशनीलाई बर्बाद पारेको हो । ‘म्याड ओमन’ बनाएको हो । 

बौलाहीको संज्ञा दिएर दुवै पुरुष समाजको नजरमा पानीमाथि ओभानो त बन्लान्, तर फुकोको शब्दमा भन्दा ‘पागलपन आफैँमा सबैभन्दा ठूलो प्रतिकार हो ।’ नारीवादीका अनुसार बौलाही आइमाई लैंगिक विभेदविरुद्धको सबैभन्दा ठूलो हतियार हो । एउटी ‘बौलाही’ रोशनीले सत्ताको माचिस्मोले देखाउने नग्न नृत्य बाहिर ल्याएकी छिन्, यो एकदमै सराहनीय छ । त्यसैले यौन र यौनिकताका आधारमा नारीको चरित्र निर्धारण गर्ने विभेदकारी माचिस्मो अवधारणाको अन्त्य हुनैपर्छ ।