१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ७ बिहीबार १०:३०:००
Read Time : < 1 मिनेट
समाचार

नेकपा नेतामाथि विप्लव कार्यकर्ताको आक्रमण

Read Time : < 1 मिनेट
२०७६ कार्तिक ७ बिहीबार १०:३०:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य निरज आचार्यको टोलीमाथि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले आक्रमण गरेका छन् । बारेकोट गाउँपालिकाको लिम्सामा हुन लागेको नेकपा गाउँ कमिटीको शपथग्रहण गराउन हिँडेका केन्द्रीय सदस्य आचार्य र कर्णाली प्रदेश कमिटी सदस्य डम्बर सिंह, विद्यार्थी नेता सूर्यकिरण बस्नेतमाथि आक्रमण भएको हो ।

विप्लव कार्यकर्ताले नलगाड नगरपालिकाको खारा र बारेकोट गाउँपालिका–८ लैखमबीचमा रहेको रापनी झरना उकालोमा आक्रमण गरेको आचार्यले बताए । विप्लव कार्यकर्ताले विद्युतीय धराप राखेको भन्दै स्थानीय बासिन्दालाई त्यो बाटो हिँडडुल गर्न दिएका थिएनन् । त्यसपछि पुगेका नेकपा नेतामाथि आक्रमण गरिएको आचार्यले बताए । यस घटनापछि नेकपा कार्यक्रम स्थगित गरिएको छ । 

त्यस्तै, नेकपा नेताहरूको गाउँ जाने कार्यक्रम पनि रोकिएको छ । कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहको नलगाड नगरपालिका वडा नं. ५ र ६ मा रहेका योजनाका अनुगमनको कार्यक्रम पनि स्थगित गरिएको छ । 

विप्लव नेताहरूले घटनाको जिम्मा लिएका छन् । सरकारले प्रतिबन्ध लगाएपछि जवाफस्वरूप नेकपा केन्द्रीय नेतामाथि कारबाही गरिएको विप्लव पार्टीका जाजरकोट इन्चार्ज प्रेमप्रकाश ओली ‘धमिल’ बताए । ‘जिल्लामा कुनै पनि कार्यक्रम हुन नदिइने र यदि अटेर गरेर कार्यक्रम गरेमा त्यसको प्रतिरोध गरिनेछ,’ उनले भने ।