मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ कार्तिक ७ बिहीबार ०७:३५:००
Read Time : > 3 मिनेट
सेयर बजार

नाफा प्रक्षेपणले  सुधारियो सेयर बजार 

Read Time : > 3 मिनेट
२०७६ कार्तिक ७ बिहीबार ०७:३५:००

उच्च दरमा घटेको बजारमा ठूला चाडपर्वपछि पुनः सुधार हुने अपेक्षामा बुधबार सेयर बजार परिसूचक नेप्से बढेको छ । सूचीकृत कम्पनीहरूको वित्तीय विवरण प्रकाशित हुने समयावधि आएको र नाफामा राम्रो वृद्धि भएको अनुमानमा बजार बढेको हो । हालसम्म दुई कम्पनीले मात्रै पहिलो त्रैमासिक अवधिको वित्तीय विवरण प्रकाशित गरेका छन् । 

कम्पनीहरूको त्रैमासिक अवधिको नाफासम्बन्धी खबरहरू प्रकाशनमा आउनुअघि नै समेत बजारमा चुहावट हुने गरेको छ । यसले पनि बजारमा केही समय मोलमोलाइ उच्च बनाउने गरेको एक लगानीकर्ताले बताए । 

‘पहिलो त्रैमासिक अवधिको नाफासम्बन्धी विवरणले बजारमा ठूलो प्रभाव पार्दैन,’ एक ब्रोकरले भने, ‘तर, बजार बढ्न नसकिरहेको अवस्थामा यसले समेत ऊर्जाको काम गर्छ ।’ 

एक वर्षदेखि सेयर बजार न्यून बिन्दु १ हजार १ सय र उच्च बिन्दु १ हजार ३ सय २१ बिन्दुको बीचमा रहेर तल–माथि गरिरहेको छ । बुधबार नेप्से ७ दशमलव ७९ अंकले बढेर १ हजार १ सय ४२ दशमलव ६० बिन्दुमा पुगेको छ । कतिपय कम्पनीहरूको सेयर निकै घटेकोले समेत त्यसमा कतिपयले लगानीको अवसर देखेका छन् । कतिपय कम्पनीहरूको लाभांश घोषणा भइरहेको र तिहारपछि बजारमा पुनः लगानीकर्ता बढ्ने अपेक्षामा समेत बजार बढेको हो । लाभांश घोषणा गरिरहेकाहरूमा समेत कतिपयको बुक क्लोज मिति नजिकिएकाले पनि मूल्यमा सुधार देखिन थालेको हो । बुक क्लोज मितिको अघिल्लो दिन सेयर खरिद गर्नेले लाभांशसमेत प्राप्त गर्छ ।
  
जलविद्युत् समूहमा वृद्धि 
अंकित मूल्य (एक सय रुपैयाँ) भन्दा पनि कममा जलविद्युत् कम्पनीहरूको सेयर कारोबार हुन थालेपछि बुधबार यही समूहमा लगानीकर्ताहरूले मूल्य बढेर सेयर खरिद गरेका छन् । हिमालयन पावर, रसुवागढी हाइड्रोपावर, सानिमा माई हाइड्रो, चिलिमे हाइड्रो, नेसनल हाइड्रोपावर कम्पनीलगायतको सेयर मूल्य बढेको हो । 

बुधबार बजारमा सबै समूहको परिसूचक बढेकोमा जलविद्युत् समूहको सबैभन्दा धेरै १ दशमलव ७३ प्रतिशतले मूल्य बढेको हो । यस दिन १६ करोड ३७ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको छ । एक सय ५३ कम्पनीको ६ लाख ४ हजार कित्ता सेयरको कारोबार भएको छ । 

प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको आरएसआई यस दिन ५७ दशमलव ८४ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । न्युट्रल जोनमा पनि यो सूचक भने बढ्दो क्रममा छ । 

एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन २ दशमलव ३० रहेको छ । यसले नेप्से बुलिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय ५३ कम्पनीमध्ये ८७ कम्पनीको सेयरमूल्य बढेको छ भने ३९ कम्पनीको मात्र सेयरमूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । 

मुभिङ एभरेज क्रसओभर : नेप्से परिसूचकको ७ दिने सिम्पल मुभिङ एभरेज र २१ दिने रेखामा केही समयअघि क्रसओभर भएको छ । ७ दिने रेखा तल र २१ दिने रेखा माथि छ । हाल बजार बियरिस प्रवृत्तिमै रहेको यसले संकेत गर्छ । 

यस दिनको पिभट विश्लेषण गर्दा आगामी कारोबार दिन नेप्से थप उकालो लागे नेप्सेले १ हजार १ सय ४७ दशमलव ५ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । बजार घटेमा भने पहिलो टेवा १ हजार १ सय ३७ दशमलव ८ बिन्दुमा 
पाउने देखिन्छ ।

प्रभु बैंकको सर्वाधिक कारोबार
१६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको प्रभु बैंकको सेयर कारोबार सबैभन्दा धेरै भएको छ । कारोबार भएको सेयर संख्या र कारोबार रकमका आधारमा बैंक अग्रस्थानमा रहेको हो । बैंकको १ लाख २ हजार सेयर किनबेच भएर २ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार उच्च हुने प्रमुख १० कम्पनीहरूमा ५ वाणिज्य बैंक रहेका छन् । एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बैंक र बैंक अफ काठमाण्डुको सेयर कारोबार अत्यधिक भएको हो । 

एनएमबि लघुवित्तको १:१.५ हकप्रद
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक २४ गतेदेखि १ बराबर १ दशमलव ५ अनुपातमा हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २४ लाख ३० हजार ९३ दशमलव ७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयरमा कात्तिक ६ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम साबिक सेयरधनीले आवेदन दिन सक्नेछन् । निष्कासन बन्द मंसिर २९ गते हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड छ । 

सेन्ट्रलको कम्पनी सचिवमा श्रेष्ठ
सेन्ट्रल फाइनान्सले कम्पनी सचिव पदमा रजोजमान श्रेष्ठलाई नियुक्त गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सो पदमा नियुक्त गरेको हो । 

मेरो माइक्रोको ३० प्रतिशत लाभांश 
मेरो माइक्रोफाइनान्समा कात्तिक १९ गतेसम्म लगानी गर्नेले कम्पनीले प्रस्ताव गरेको ३१.५८ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले ३० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो भने कात्तिक २० गतेदेखि बुक क्लोजको मिति सार्वजनिक गरेको छ । कम्पनीले कात्तिक २९ गते हुने साधारणसभामा लाभांश प्रस्ताव पारित गर्न पेस गर्दै छ ।

बोटलर्स नेपाल तराईको साधारणसभा 
बोटलर्स नेपाल तराईको कात्तिक २८ गते ३३औँ वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीले ४० प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत सभामा लगेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज मिति सार्वजनिक गरेको छ । सभामा कम्पनीको सञ्चालक समितिका लागि समेत मतदान कार्यक्रम तय गरिएको छ ।

इन्फिनिटीले घटायोे लाभांश
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले यसअघि प्रस्ताव गरेको लाभांशमा ०.७९ प्रतिशत घटाएको छ । राष्ट्र बैंकबाट लाभांश स्वीकृतिका क्रममा घटाउन निर्देशन भएसँगै कम्पनीले लाभांश दर केही घटाएको हो । अब लगानीकर्ताले १० प्रतिशत बोनस र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । कम्पनीको यो प्रस्ताव अब साधारणसभाबाट मात्र पारित हुन बाँकी छ ।