मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ६ बुधबार १४:३४:००
Read Time : > 1 मिनेट
समाचार

एक हजार धरौटी बुझाएर थुनामुक्त्त भए डिमोने कामी

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ६ बुधबार १४:३४:००

जातिय छुवाछुतको दुर्व्यवहार भोगेका पीडितलाई नै पक्राउ गरेर अभद्र व्यवहार मुद्दा दर्ता गराइएका डिमोने कामी एक हजार धरौटीमा रिहा भएका छन् । 

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको आदेशबाट मंगलबार उनी थुनामुक्त्त भएका हुन । छुवाछुत गर्ने चिया पसल सञ्चालक टलकबहादुर पाण्डेकी पत्नी कृष्णकुमारी पाण्डेलाई अभद्र व्यहार गरेको आरोपमा इलाका प्रहरी पथरीले ३० असोजमा डिमोनेलाई पक्राउ गरी अभद्र  व्यवहारमा मुद्दा दर्ता गराएको थियो । 

छुवाछुतको व्यवहार भोग्ने पीडितलाई नै पक्राउ गरेर झुठो मुद्दा लगाएको भन्दै दलित संघले डिमोनेलाई रिहा गर्न र घटनाको निष्पक्ष छानविन गर्न माग गरेका थिए । 

छुवाछुत घटनाको मानव अधिकार आयोगबाट अनुगमन  
मोरङको पथरी शानिश्चरेमा भएको जातिय छुवाछुत घटनाको राष्ट्रिय मानव अधिकारले अनुगमन गरेको छ । 

जातिय बिभेद र छुवाछुत घटनामा संघ संस्थाले चासो कम दिने गरेको गुनासो आएपछि मंगलबार राष्ट्रिय मानव अधिकार आयोगको १ नम्बर प्रदेश कार्यालयले स्थलगत अनुगमन गरेको हो । 

आयोगकी निमित्त प्रमुख तथा अनुसन्धान अधिकृत गीता दहालको नेतृत्वमा खटिएको टोलीले छुवाछुत भएको घटनास्थल, प्रत्यक्षदर्शी, स्थानीय र प्रहरीसँग भेटघाट गरी सोधपुछ गरेको छ । 

यस्तो थियो घटना
२० असोजमा डिमोने कामीलाई शनिश्चरे बजार स्थित टलकबहादुर पाण्डेको होटलमा सानो जाति भन्दै  चिया खाने बेलामा छुवाछुत गरिएको थियो । दसैं सकिए लगत्तै पीडित डिमोनले दलित अधिकारकर्मीहरुको सल्लाहमा छुवाछुत गर्ने पाण्डे र कटुबालविरुद्ध २८ असोजमा ईलाका प्रहरी कार्यालय पथरीमा जातिय बिभेद तथा छुवाछुत कसुर ऐन २०६८ अनुसार किटानी जाहेरी दर्ता गराएका थिए । 

किटानी जाहेरी परेपछि प्रहरीले छुवाछुत आरोपीहरुलाई पक्राउ गरेको थियो । यता छुवाछुत आरोपी होटल सञ्चालकका आफन्तले आफूहरुले छुवाछुत नगरेको तर डिमोनले होटलमा जर्बदस्ती पसेर गालीगलौज गरेको भन्दै उजुरी दिएपछि प्रहरीले डिमोनेलाई पनि पक्राउ गरी ३० असोजमा अभद्र व्यवहारमा जिल्ला प्रशासन मोरङमा मुद्दा दर्ता गराएको थियो ।