मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक ६ बुधबार ०९:३९:००
Read Time : > 1 मिनेट
प्रदेश

 यस वर्ष तिहारमा भारतबाट  फूल आयात नहुने

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ६ बुधबार ०९:३९:००

तिहारका वेला बाँकेमा खपत हुने सयपत्री र मखमली फूल भारतबाट नल्याइने भएको छ । बाँके तथा अन्य जिल्लामा उत्पादन भएका फूल पर्याप्त भएपछि व्यवसायीले भारतबाट सयपत्री र मखमली फूल नल्याउने भएका हुन् । 

नेपालगन्जस्थित हिमाली नर्सरीले मात्र झन्डै पाँच क्विन्टल सयपत्री फूल बजारमा पठाउने भएको छ । तिहारका लागि दुई क्विन्टल सयपत्री फूलको माग आइसकेको नर्सरीका प्रोप्राइटर अंकित श्रेष्ठले बताए । उनले दाङ, सुर्खेत, प्युठानका फूल व्यवसायीले माग गरेको बताए । ‘यस वर्ष एक लाख रुपैयाँको सयपत्री फूल बजारमा पठाउने योजना छ,’ उनले भने ।

उनले गत वर्षको तिहारमा ५० हजार रुपैयाँको सयपत्री पूmल बिक्री गरेका थिए । गत वर्षभन्दा दोब्बर फूलको माग आएको र उनले माग बढेकोले सयपत्री फूलको खेती पनि विस्तार गरेको बताए । ‘बाँकेमा उत्पादन भएका सयपत्री फूल भारतको भन्दा गुणस्तरीय पनि छ,’ उनले भने । 

बाँकेमा प्रतिकिलो चार सय रुपैयाँका दरले सयपत्री फूल बिक्री हुँदै आएको छ । तिहारका वेला चार हजार फूलको माला बिक्री गर्ने लक्ष्य रहेको चर्ती फ्लोराकी प्रोप्राइटर बिन्दु घर्तीमगरले बताइन् । उनले दुई हजार सयपत्री र दुई हजार मखमली फूलको माला बिक्री गर्ने लक्ष्यका साथ फूल खरिद गरेको जानकारी दिइन् । ‘तिहारका वेला मात्र झन्डै १६ लाख रुपैयाँको फूलको माला बिक्री गर्ने मेरो लक्ष्य छ,’ उनले भनिन् । 

उनले तिहारका लागि बाँकेको कोहलपुर, दाङ र पाल्पाबाट फूल मगाएको बताइन् । बाँकेबाट तीन सय रुपैयाँ प्रतिकिलो र पाल्पाबाट प्रतिकिलो दुई सय रुपैयाँका दरले सयपत्री फूल खरिद गरेको बताइन् । ‘बाँकेमा उत्पादन भएको फूल अपुग भएपछि पाल्पाबाट पनि फूल मगाएको छु । नेपाली उत्पादनलाई बढावा दिन भारतबाट सयपत्री र मखमली फूल नल्याउने नीति बनाइएको छ,’ उनले भनिन् । उनले फूलको मागलाई मध्यनजर गरी आफैँले पनि सयपत्री फूलको खेती गरेकी छन् । चार कठ्ठा जमिनमा सयपत्री फूल खेती गरेकी छन् । ‘अरूबाट खरिद गरेर बिक्री गर्नुभन्दा आफैँले उत्पादन गरेर बिक्री गर्दा उपयुक्त हुने लाग्यो,’ उनले भनिन् ।   

बाँकेमा फूलको माग बढ्दै
समारोह, जन्मदिन, विवाह, भोज, पूजाआजा, व्रतबन्धलगायतमा फूल प्रयोग हुने गरेको छ । उनले होटल, कार्यालय, पसलमा समेत फूल प्रयोग हुन थालेको उनले बताए । आधनिकतासँगै प्राकृतिक फूल र वातावरणमैत्री सामान प्रयोग हुन थालेको उनको भनाइ छ । नेता वा कुनै पाहुना आएको वेला फूलको माला लगाइदिने प्रचलन पछिल्लो समय बढ्दै गएको उनले बताइन् । 

फूल उत्पादक व्यवसायीले पनि फूलको माग बढ्दै गएको बताएका छन् । फूलको खेती गर्दै आएका हिमानी नर्सरीका प्रोप्राइटर श्रेष्ठले पनि हरेक वर्ष फूलको माग बढ्ने गरेको बताए ।

नेपालगन्ज नाकाबाट फूल नआएको भन्सारको दाबी
नेपालगन्ज नाकाबाट मखमली र सयपत्री फूल अहिलेसम्म नआएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलाले बताए । उनले नेपालगन्ज नाकाबाट आर्टिफिसियल (कृतिम) माला आए पनि सयपत्री र मखमली फूल आएको तथ्यांक नभएको बताए । 

उनले आर्थिक वर्ष ०७४/७५ मा चार लाख ५६ हजार ६ सय ९४ र आर्थिक वर्ष ०७५/७६ मा पाँच लाख ८९ हजार ८ सय ३३ रुपैयाँ बराबरको प्लास्टिकका कृतिम माला नेपाल भित्रिएको जानकारी दिए । ‘वैधानिक रूपमा सयपत्री, मखमलीलगायत अन्य फूल नेपालगन्ज नाका भएर आएको देखिँदैन,’ उनले भने । 

तिहारका वेला भारतीयले साइकलमा राखेर सयपत्री र मखमली फूलको माला नेपालगन्ज ल्याउने गरेका छन् । भारतीयले त्रिभुवन चोक, धम्बोझी चोक, वागेश्वरी मन्दिर क्षेत्रका सडकमा फूलको माला राखेर बिक्री गर्दै आएका छन् । राजस्व नतिरेर ल्याएका कारण भन्सार कार्यालयको तथ्यांकमा फूल आएको नदेखिएको एक भन्सार कर्मचारीले बताए ।