१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ कार्तिक ५ मंगलबार १०:१९:००
Read Time : > 2 मिनेट
सेयर बजार

नेप्से ओरालो लाग्ने क्रम जारी

Read Time : > 2 मिनेट
२०७६ कार्तिक ५ मंगलबार १०:१९:००

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव १२ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेले ओरालो लाग्ने क्रमलाई निरन्तरता दिए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । नवीकरण शुल्क नतिरेका कारण नेप्सेले ८२ कम्पनीहरूको सेयर कारोबारमा रोक लगाएपछि बजार प्रभावित भएको छ । सोमध्ये ३२ कम्पनीहरूले नवीकरण शुल्क तिरेका छन् । 

बजार निरन्तर ओरालो लागेका कारण लगानीकर्ता निराश भइसकेका छन् । दसैँका लागि खर्च जोहो गर्न सेयर बिक्री गरी बजारबाट बाहिरिएका लगानीकर्ता अहिले बजार प्रवेश गर्न तयार नभएको एक ब्रोकरले बताए । लगानीकर्ताले दसैँपछि बजार बढ्ने अपेक्षा गरेका थिए । तर, दसैँपछि पनि नेप्से सुस्त गतिमा रहेका कारण लगानीकर्ता बजार प्रवेश गर्न नचाहेको उनको भनाइ छ । लगानीकर्ताको फेस्टिभ मुड अझै खुल्न नसकेका कारण पनि बजारले गति नलिएको एक लगानीकर्ताले बताए । दसैँ सकिएपछि केही लगानीकर्ता तिहारको तयारीमा लागेका छन् । त्यसैको प्रभाव अहिले बजारमा परेको उनको भनाइ छ । 

बजार सारांश
सोमबार नेप्से परिसूचक १ दशमलव ३३ अंक घटेर १ हजार १ सय ३२ दशमलव ४० बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ३७ अंक घटेर २ सय ४७ दशमलव ९८ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव शून्य ९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव १५ अंक घटेको छ । यस दिन १ सय ४५ कम्पनीको ३ हजार ४ सय २५ पटकको कारोबारमा १६ करोड ४३ लाख ४९ हजार ५ सय ३६ रुपैयाँबराबरको ६ लाख ८ हजार ६ सय १ कित्ता सेयर खरिद–बिक्री भएको छ ।

सर्वाधिक कारोबार हुनेमा प्रभु बैंक
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । वाणिज्य बैंकको यस दिन १ सय ८० पटकको कारोबारमा १ करोड ८९ लाख ३७ हजार रुपैयाँबराबरको ७१ हजार ६ सय १८ कित्ता सेयर खरिद–बिक्री भएको छ । गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेका कारण लगानीकर्ता सो बैंकतर्फ आकर्षित भएका हुन् । यस दिन नेपाल बैंक र मेगा बैंकको कारोबार रकम ७ करोड नाघेको छ भने शिवम् सिमेन्ट्स र नेपाल लाइफ इन्स्योरेन्सको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन पनि रसुवागढी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन २ सय ६ पटकको सेयर कारोबार भएको छ । त्यसैगरी, सान्जेन जलविद्युत् कम्पनीको १ सय ५२ पटक सेयर किनबेच भएको छ । 

६ समूहको परिसूचक बढ्यो
यस दिन कारोबारमा आएका ११ समूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ५ समूहको परिसूचक घटेको छ । जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ४५ प्रतिशत बढेको छ । त्यसैगरी, म्युचुअल फन्ड समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत, अन्य समूहको शून्य दशमलव २७ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव २० प्रतिशत, होटेल समूहको शून्य दशमलव १५ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ४ प्रतिशत बढेको छ । 

थप ३२ कम्पनीले तिरे नवीकरण शुल्क
नेप्सेले कारोबार गर्न रोक लगाएका ८२ कम्पनीहरूमध्ये सोमबारसम्ममा ३२ सूचीकृत कम्पनीहरूले नवीकरण शुल्क तिरेका छन् । नेप्सेले वार्षिक नवीकरण शुल्क नतिरेका कारण ८२ कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । नवीकरण शुल्क तिरेसँगै ती कम्पनीको सेयर कारोबार पुनः सुचारु भएको नेप्सेले बताएको छ । 

धितोपत्र सूचीकरण नियमावली, २०७५ अनुसार ५० करोड रुपैयाँबराबरको सूचीकृत सेयर भएको कम्पनीले वार्षिक ५० हजार र सोभन्दा धेरै चुक्ता पुँजी हुने कम्पनीले १ लाख रुपैयाँ नवीकरण शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ । कम्पनीहरूले आर्थिक वर्ष समाप्त भएको पहिलो त्रैमास अर्थात् पहिलो ३ महिनाभित्र सो नवीकरण शुल्क बुझाउनुपर्नेछ । सो अवधिमा शुल्क नबुझाएका कम्पनीहरूको सेयर कारोबार रोक्का गरिने सो नियमावलीमा व्यवस्था गरिएको छ । कारोबार रोक्का भएका कम्पनीहरूले नवीकरण शुल्क बुझाउनेबित्तिकै कारोबार पुनः सञ्चालन हुनेछ ।