१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक ५ मंगलबार ०८:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समितिले भन्यो– प्रतिबन्ध हटाए वार्ताप्रति ‘सकारात्मक’

Read Time : > 1 मिनेट
२०७६ कार्तिक ५ मंगलबार ०८:००:००
  •  चारमहिने चन्दा अभियान चलाउने निर्णय, पार्टी शुद्धीकरणमा जोड
  •  जनसेनामा भर्ती बढिरहेको दाबी, अझै तदारुकताका साथ सञ्चालन गर्ने निर्णय


सरकारद्वारा प्रतिबन्धित नेकपाले आफ्ना गिरफ्तार नेता–कार्यकर्ता रिहा गरेर प्रतिबन्ध हटाए सरकारसँग वार्ता गर्नेबारे सकारात्मक हुने निर्णय गरेको छ । असोजमा बसेको प्रतिबन्धित नेकपाको आठौँ केन्द्रीय समिति बैठकले चारमहिने ‘स्वेच्छिक आर्थिक अभियान’ चलाउने पनि निर्णय गरेको छ । 

सरकारले वार्ता भन्दै दमनलाई ढाकछोप गरिरहेको नेकपाको आरोप छ । विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले षड्यन्त्रपूर्ण वार्ता प्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाई गिरफ्तार कमरेडहरूलाई छाडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ ।’ उसले केन्द्रीय समिति बैठक कहिले र कहाँ बस्यो भन्ने पनि खुलाएको छैन ।

पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’द्वारा मिति नलेखी जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘मैत्रीपूर्ण तरिकाले आमनागरिकबाट स्वेच्छिक आर्थिक सहयोगका लागि चारमहिने आर्थिक अभियान सञ्चालन गर्ने साथै पार्टीका आर्थिक कार्यहरू अगाडि बढाउने निर्णय गरियो ।’ उसले केपी ओली नेतृत्वको सरकारले प्रतिबन्धित नेकपालाई ‘आर्थिक नाकाबन्दी र दमन’ गरेको आरोप लगाएको छ ।

पार्टी स्रोतका अनुसार प्रतिबन्धित नेकपाले पार्टी शुद्धीकरण र नेताहरूको रूपान्तरणमा बढी ध्यान दिएको छ । उसले पार्टीको प्राथमिकतामा जनमुक्ति सेनाको भर्ना, भरणपोषण, तालिम र हातहतियारको बन्दोबस्तीलाई पारेको छ । यसबारे विज्ञप्तिमा छ, ‘पार्टीका सम्पूर्ण क्षेत्रहरू, तल्ला कमिटी, जनसेना, जबस, मोर्चा, विभागहरूमा तदारुकताका साथ सञ्चालन गर्ने निर्णय गरियो ।’

नेकपाले ‘आफैँलाई रूपान्तरण गर्दै पार्टीलाई शुद्धीकरण गरौँ, फासीवादको प्रतिरोध गर्दै एकीकृत जनक्रान्तिलाई नयाँ उचाइमा उठाऔँ’ नामको राजनीतिक प्रस्ताव पारित गरेको पनि जनाएको छ । उसले प्रचार र प्रकाशनलाई महत्वका साथ उठाएको छ । 

पार्टी पुनर्गठन दिवस मनाउने 
नेकपाको केन्द्रीय समिति बैठकले ८ मंसिरमा पार्टी पुर्नगठनलाई भव्य रूपमा मनाउने निर्णय पनि गरेको छ । गत वर्ष ८ मंसिरमा भृकुटीमण्डपको आमसभामा प्रवक्ता खड्गबहादुर विश्वकर्माले सम्बोधन गरेका थिए । यस वर्ष पार्टी पुनर्गठनको उपलक्ष्यमा सभा सम्मेलन, सांस्कृतिक कार्यक्रम, उपहार आदान–प्रदान शुभकामना आदान–प्रदान, सहिद परिवार, जनयुद्धका घाइते अपांगलाई सम्मान गर्ने निर्णय छ । 

‘दुःखी नेपाली, गरिब नेपाल’ 
सरकारको ‘सुखी नेपालीः समृद्ध नेपाल’ नारा असफल भएको भन्दै विप्लवले सरकार संकटको चुलीमा पुगेको दाबी गरेका छन् । सरकारको नारा ‘दुःखी नेपाली, गरिब नेपाल’मा परिणत भएको नेकपाको आरोप छ । उसले विज्ञप्तिमा भनेको छ, ‘हाल जनता र देशको अवस्था ‘दुःखी नेपाली र गरिब नेपाल’मा बदलिएको छ । यसको पछाडि मुख्य रूपले केपी सरकारको दलालीकरण र फासीवादी हस्तक्षेप दोषी रहेको निष्कर्ष निकालिएको छ ।’

केन्द्रीय समिति बैठकमा महासचिव विप्लवसहित हेडक्वार्टर सदस्य, केन्द्रीय समिति सदस्य र उपलब्ध ब्युरो सदस्यहरू बैठकमा सहभागी भएको एक केन्द्रीय सदस्यले बताए । गत फागुनमा प्रतिबन्ध लागेदेखियता विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक बसेको थिएन । यसअघि अघिल्लो वर्ष २०७५ साउन पहिलो साता केन्द्रीय समिति बैठक बसेको थियो । 

‘लोहनी केन्द्रीय समितिबाट बिदा’

पार्टीमा यसअघि प्रचार विभागमा रहेका गुणराज लोहनीलाई नेकपाले बिदाइ गरेको छ । उनलाई अघिल्लो हेडक्वार्टर बैठकले जिम्मेवारी हेरफेर गरेको थियो भने केन्द्रीय समिति बैठकले स्वास्थ्य समस्या देखाई बिदाइ गरेको जनाएको छ । ‘स्वास्थ्य समस्याका कारण पार्टीको केन्द्रीय समितिमा रहेर काम गर्न कठिनाइ भएकाले गुणराज लोहनीलाई केन्द्रीय समितिको जिम्मेवारीबाट बिदाइ दिइयो ।’