मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ५ मंगलबार ०६:१२:००
Read Time : > 4 मिनेट
मुख्य समाचार

पूर्वगृहराज्यमन्त्री कँडेल भारतीय नागरिक

अख्तियारको निर्देशनमा सिआइबीको टोली गोरखपुरमा

Read Time : > 4 मिनेट
२०७६ कार्तिक ५ मंगलबार ०६:१२:००

नेपालका पूर्वगृहराज्यमन्त्री तथा बहालवाला सांसद उत्तर प्रदेश, महाराजगन्जको कलेज सञ्चालक समितिको अध्यक्षका प्रतिस्पर्धी, चुनावमा स्थानीय पूर्वप्रधान राजेश सिंहलाई हराएपछि कँडेलले आफू गोरखपुरनिवासी भएको प्रमाण जुटाएर खाए शपथ 


पूर्वगृहराज्यमन्त्री तथा सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक पनि भएको खुलेको छ । भारतको उत्तरप्रदेशको गोरखपुरनिवासी उनी त्यहाँको एक कलेजको व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् । उनले भारतीय नागरिककै रूपमा शपथ पनि खाएका छन् । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । 

उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षका लागि कँडेल चुनाव लडेका थिए । सन् २०१६ मा भएको चुनावमा उनी असफल भए पनि गत वर्ष भएको चुनावमा भने उनी निर्वाचित भएका थिए । निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।

शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल (उपप्रबन्धक/उपमन्त्री व कार्यवाहक अध्यक्ष/चेयरमैन) पुत्र स्व. पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’ 

कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । कँडेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ । 

सिआइबीको टोलीले संकलन गरेको विवरणअनुसार कँडेल भारत उत्तरप्रदेश, महाराजगन्ज जिल्लाको ठुठीबारीस्थित राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष भएको स्पष्ट भएको छ । सन् २०१८ को डिसेम्बरमा भएको निर्वाचनमा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । हाल उनी समितिको अध्यक्षकै हैसियतमा बहाल छन् । 

सन् २०१६ अगस्टमा भएको निर्वाचनमा समेत कँडेल उम्मेदवार बनेका थिए । तर, निर्वाचनमा अध्यक्षका उम्मेदवार देवेन्द्रराज कँडेल र ठूटीबारीका पूर्वप्रधान राजेश सिंहले बराबर मत पाएपछि चुनाव निष्कर्षविहीन भएको थियो । कँडेलले आफू भारतको ३३ कसाया रोड वेतिया हाता जनपथ–गोरखपुर निवासी भएको भनी लिएको शपथपत्र पनि सिआइबीले प्राप्त गरेको छ । 

नेपाल प्रहरी स्रोतले कँडेलसँग भारतको आधारकार्ड, मतदाता परिचय पत्रलगायत प्रमाणपत्र रहेको दाबी गरेको छ । उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा पनि छानबिन भइरहेको छ । भारतीय कानुनअनुसार कुनै पनि प्रतिष्ठानमा गैरभारतीय नागरिकले पदाधिकारी बस्न नपाउने प्रावधान छ । आफ्नो विषयमा इलाहावाद उच्च अदालतमा मुद्दा चलिरहेको स्वयं कँडेलले पनि स्वीकारे । ‘भारतको कलेज मेरो राजनीतिक थलो होइन । यही प्रश्न भारतमा पनि उठेको छ । उनीहरूले नेपालीले भारतमा आएर चुनाव लड्यो भनेर मेराविरुद्ध मुद्दा हालेका छन् । त्यहाँको उच्च अदालतमा मेरो विरुद्धको मुद्दा चलिरहेको छ । तर, म आजसम्म नेपाली नागरिककै हैसियतमा गोरखपुरको राधादेवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष छु,’ उनले नयाँ पत्रिकसँग भने । 

तर, कँडेल कलेज सञ्चालक समितिको अध्यक्ष मात्र होइन, भारतीय मतदाता पनि रहेको दाबी हिन्दुस्तान दैनिकले गरेको छ । हिन्नदुस्तानले २ मे २०१९ मा लेखेको छ, ‘२००४ को निर्वाचनमा पनि कँडेल ठुटीबारीका मतदाता थिए । उनको परिवारका तीन सदस्य अहिले पनि सोही क्षेत्रका मतदाता हुन् । उनीहरूले आगामी निर्वाचनमा पनि मतदान गर्न पाउनेछन् ।’

कँडेलले गरेको स्वघोषणाले नै उनले दोहोरो नागरिकता लिएको पुष्टि हुने कानुन्विद बताउँछन् । इलाहावाद उच्च न्यायालयका अधिवक्ता राकेश गुप्ताले नयाँ पत्रिकासँग भएका दस्ताबेजले कँडेल कारबाहीको भागीदार हुने बताए । ‘सम्बन्धित व्यक्ति आफैँले राज्यसमक्ष आफू भारतवासी रहेको भनी जानकारी गराउने व्यहोराको शपथपत्र नै मुख्य प्रमाण हो, फेरि उनले आफूले दिएको विवरण गलत भए कानुनअनुसार कारबाही भोग्छु पनि भनेका छन्,’ गुप्ताले भने । अधिवक्ता गुप्ताले भारतीय नागरिक नभएसम्म कँडेल भारतीय कलेजको समितिमा आबद्ध हुन नसक्ने भएकाले उनी भारतीय नागरिक रहेको पुष्टि हुने दाबी गरे ।

यता, संविधानविद् भीमार्जुन आचार्य नेपाली सांसदले भारतीय संघसंस्थामा गएर चुनाव लड्नु र भारतीय कानुनअनुसार शपथ खानु गम्भीर अपराध भएको बताउँछन् । सांसद कँडेलले शपथ खाँदा प्रयोग गरेका शब्द आपत्तिजनक रहेको र त्यसका आधारमा अनुसन्धान गर्नुपर्ने टिप्पणी आचार्यको छ ।

‘शपथमा सांसद कँडेलले भारतीय ठेगाना दिएर त्यहाँको बासिन्दा हुँ भन्नु गम्भीर अपराध हो,’ आचार्यले भने, ‘नेपालको गृह प्रशासनले उनीमाथि अनुसन्धान गरेर उनीसँग दोहोरो नागरिकता रहेको हो वा होइन, कानुनी निष्कर्ष निकाल्नुपर्छ । र, आवश्यक कारबाही गर्नुपर्छ ।’ 

सांसद कँडेलले गोरखपुर निवासी भनेरै भारतीय सवारीचालक अनुमतिपत्रसमेत लिएका छन् । ‘युपी ५३ २०१४००१४७७३४’ नम्बरको चालक अनुमतिपत्र उनले सन् ११ जुन २०१४ मा नवीकरण गरेका हुन् । 

भारतीय झन्डा पृष्ठभूमिमा राखेर देवेन्द्रराज कँडेल उर्फ मुन्ना बाबुको शुभकामना

तर, नेपालमा नागरिकतामा महिलाको समान अधिकारको विषयमा बहस हुँदा राज्य व्यवस्था समितिमा कँडेलले भनेका थिए, ‘छोरीलाई समान हुन सिकाउनुहुन्न, त्यसो गरे परिवार विघटन हुन्छ, समाज भाँडिन्छ ।’

पूर्वगृहराज्यमन्त्री कँडेल भन्छन्, ‘म त्यहाँको अस्थायी बासिन्दा हो, त्यहाँ जाँदा त्यो ठेगानामा बस्छु’

नेपालको बहाल सांसद, पूर्वराज्यमन्त्री भइसकेको तपाईं भारतको एउटा कलेज व्यवस्थापन समितिको अध्यक्षका लागि निर्वाचन लड्नुभयो । र, शपथपत्रमा आफू भारतीय नागरिक भएको उल्लेख गर्नुभयो, तपाईं अब नेपाली कि भारतीय नागरिक ? 
त्योे सामाजिक संस्था हो । मेरा हजुरबुवाको पालामा स्थापना भएदेखि नै हामीले रेखदेख गर्दै आएको क्याम्पस हो । क्याम्पसको सम्पत्ति पनि हाम्रो परिवारले दिएको हो । मेरी हजुरआमा आजीवन त्यहाँको संरक्षक हुनुहुन्थ्यो । अहिले त्यसको निरन्तरतामा म त्यहाँको व्यवस्थापन समितिको अध्यक्ष बनेको हुँ । सामाजिक संस्था जहाँ तलब हुन्न, त्यहाँ बसेर काम गर्न त्यहाँको नागरिक हुनुपर्दैन । मैले भारतीय नागरिक हुँ भनेको छैन । नेपाली नागरिकका रूपमा त्यहाँ रहेको छु । 

तपाईंले चुनावी प्रक्रियामा भाग लिनुभएको छ, नेपाली नागरिकले भारतको चुनावी प्रक्रियामा भाग लिएर निर्वाचित हुन सम्भव छ ?

त्यहाँको प्रबन्धक समितिमा अहिले पनि ७० प्रतिशत नेपाली छन् । त्यो राजनीतिक थलो पनि होइन । यही प्रश्न भारतमा पनि उठेको छ । उनीहरूले नेपालीले भारतमा आएर चुनाव लड्यो भनेर मेरा विरुद्ध मुद्दा हालेका छन् । त्यहाँको उच्च अदालतमा मेराविरुद्ध मुद्दा चलिरहेको छ । म आजसम्म नेपाली नागरिककै हैसियतमा गोरखपुरको राधा देवी इन्टरकलेजको आर्य विद्या प्रसार समितिको अध्यक्ष छु । 

भारतको ३३ कसाया रोड वेतिया हाता जनपथ गोरखपुरको बासिन्दा हुँ भनेर शपथ खानुभएको छ, आफूले दिएको विवरण गलत भए कानुनअनुसार कारबाही भोग्छु भन्ने पनि उल्लेख गर्नुभएको छ नि ?

म त्यहाँको अस्थायी बासिन्दा हो । त्यहाँ जाँदा त्यो ठेगानामा बस्ने गर्छु । पत्राचारका लागि त्यो ठेगाना दिएको हुँ । त्यसको आशय स्थायी ठेगाना भन्ने होइन । 

त्यसो भए, सन् २००४ को भारतीय लोकसभा निर्वाचनको मतदाता सूचीमा तपाईंको नाम कसरी समावेश भयो ? 

मेरो ठूला बुबाको परिवार अहिले पनि भारतीय नागरिकको हैसियतमा छन् । पहिलेदेखि उनीहरू उतै बसेकाले भारतीय भए । तर, म भारतको मतदाता सूचीमा रहेको कुरा झुटो हो । त्यहाँ अर्को कुनै कँडेलको नाम मसँग जोडिएको हो भने मेरो भन्नु केही छैन । हो, मैले गोरखपुरमा पढेको हुँ । त्यहाँ रहँदा जनगणनाका क्रममा मेरो नाम लेखियो र त्यसकै आधारमा मतदाता सूचीमा लेखिएको हो भने यसबारे मलाई जानकारी छैन । त्यस अवस्थामा बाहेक म भारतको मतदाता सूचीमा छैन ।