मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ४ सोमबार ११:२९:००
Read Time : > 3 मिनेट
सेयर बजार

११ करोडमा सीमित कारोबार रकम

Read Time : > 3 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ कार्तिक ४ सोमबार ११:२९:००

साताको पहिलो दिन नेप्से परिसूचक शून्य दशमलव ३५ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । बिहीबार १८ करोडको सेयर खरिद–बिक्री भएको बजारमा यस दिन ११ करोडको मात्र सेयर किनबेच भएको छ । बजार नबढेका कारण निराश भएका लगानीकर्ता लगानी गर्न अघि नसरेपछि कारोबार रकम दैनिक घटिरहेको छ ।

यसका साथै वित्तीय बजारमा लगानीयोग्य पुँजी अभाव भएका कारण पनि कारोबार रकममा कमी आएको एक ब्रोकरले बताए । चालू आवको पहिलो त्रैमासमा नै न्यून सरकारी खर्चका कारण वित्तीय क्षेत्रमा तरलताको समस्या देखिएको उनको भनाइ छ । नेप्सेले केही सूचीकृत कम्पनीहरूको सेयर कारोबारमा लगाएको रोकका कारण पनि यस दिनको कारोबार रकम घटेको हो । चालू आवको नवीकरण शुल्क नतिरेका कारण नेप्सेले शुक्रबार ८२ कम्पनीहरूको सेयर कारोबार रोक्का गरेको थियो । सोमध्ये ६ कम्पनीहरूले मात्र यस दिन नवीकरण शुल्क तिरी कारोबार पुनः सुचारु गराएका थिए । 

 बजार सारांश
आइतबार नेप्से परिसूचक ४ दशमलव शून्य ३ अंक घटेर १ हजार १ सय ३३ दशमलव ७१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ७७ अंक घटेर २ सय ४८ दशमलव ३५ बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ३२ अंक घटेर ८३ दशमलव ९७ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३२ अंक घटेर ७९ दशमलव ६७ बिन्दुमा पुगेको छ । यस दिन १ सय २८ कम्पनीको ३ हजार ५ पटकको कारोबारमा ११ करोड ३३ लाख ५९ हजार ९ सय ५६ रुपैयाँबराबरको ४ लाख २१ हजार ४ सय ७४ कित्ता सेयर खरिद–बिक्री भएको छ । 

 प्राविधिक विश्लेषण
आरएसआई : नेप्सेको १४ दिने आरएसआई ३९ दशमलव ९८ स्केलमा पुगेको छ । आरएसआई न्युट्रल जोनमा रहनुले बजारमा सेयर खरिद चापको तुलनामा बिक्री बढेको संकेत गर्छ । 
एडी रेसियो : नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव ४२ रहेको छ । यसले बजार बियरिस प्रवृत्तिमा रहेको संकेत गर्छ । यस दिन कारोबारमा आएका १ सय २८ कम्पनीमध्ये ३३ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने ७७ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिनको पिभट विश्लेषण गर्दा भोलि नेप्से ओरालो लागे पहिलो टेवा १ हजार १ सय ३१ दशमलव शून्य ५ बिन्दुमा पाउने देखिन्छ । सो टेवा बिन्दुबाट पनि तल ओर्लिए नेप्सेले १ हजार १ सय २८ दशमलव ३९ बिन्दुमा दोस्रो टेवा पाउने देखिन्छ । त्यसैगरी, भोलि बजार उकालो लागे नेप्सेले १ हजार १ सय ३७ दशमलव ६८ बिन्दुमा पहिलो प्रतिरोधको सामना गर्नेछ । सो बिन्दुभन्दा माथि गए नेप्सेले १ हजार १ सय ४१ दशमलव ६५ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । यस दिन नेप्सेको पिभट बिन्दु १ हजार १ सय ३५ दशमलव शून्य २ बिन्दु रहेको छ । 

 सर्वाधिक गुमाउने सिनर्जी पावर
यस दिन सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य सर्वाधिक ५ दशमलव ३३ प्रतिशत घटेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ४ रुपैयाँ घटेर ७१ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिटी एक्सप्रेस फाइनान्स कम्पनीको सेयरमूल्य यस दिन ४ दशमलव ३१ प्रतिशत घटेको छ ।

गुराँस लघुवित्त वित्तीय संस्था, आँखुखोला जलविद्युत् कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन डिस्टिलरी र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ । यस दिन सेयरमूल्य बढेका कम्पनीहरूको वृद्धिदर भने न्यून रहेको छ । सर्वाधिक सेयरमूल्य बढ्ने १० कम्पनीहरूको सूचीमा पहिलो स्थानमा रहेको एनआइबिएल प्रगति फन्डको इकाइमूल्य यस दिन ३ दशमलव ८४ प्रतिशत बढेको छ भने दोस्रो स्थानमा रहेको सानिमा माई हाइड्रोपावरको ३ दशमलव २१ प्रतिशत बढेको छ । यस दिन सगरमाथा इन्स्योरेन्सको सेयरमूल्य र एनआइबिएल समृद्धि फन्ड १ को इकाइमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ । 

 प्रभु बैंकको सर्वाधिक कारोबार
यस दिन कारोबार रकम र सेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । वाणिज्य बैंकको यस दिन १ सय १८ पटकको कारोबारमा १ करोड ९ लाख ४६ हजार रुपैयाँबराबरको ४१ हजार ३ सय २५ कित्ता सेयर खरिद–बिक्री भएको छ । बैंकले गत आवको मुनाफाबाट १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । सोही कारण लगानीकर्ता सो बैंकतर्फ आकर्षित भएका हुन् ।

यस दिन एभरेष्ट बैंकको कारोबार रकम ७ करोड नाघेको छ भने नेपाल बैंक लिमिटेडको ५ करोडभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा यस दिन रसुवागढी हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ३ पटकको सेयर कारोबार भएको छ । त्यसैगरी, सान्जेन जलविद्युत् कम्पनीको २ सय ७४ पटक सेयर किनबेच भएको छ । 

सबै समूहको परिसूचक रातो
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेर रातो भएको छ । म्युचुअल फन्ड समूहको परिसूचक यस दिन सर्वाधिक ३ दशमलव २५ प्रतिशत घटेको छ । उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ५५ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४७ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४२ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ३६ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ३८ प्रतिशत, होटेल समूहको शून्य दशमलव ३२ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव २२ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव १७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव १७ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत घटेको छ ।