मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ कार्तिक ४ सोमबार ०८:०१:००
Read Time : > 2 मिनेट
अर्थ

देशकै पहिलो सडक सुरुङमार्ग र फ्लाई ओभर निर्माण आजदेखि

नागढुंगा–सिस्नेखोलामा अढाई किलोमिटर सुरुङमार्गसँगै दुई फ्लाई ओभर पनि बन्ने

Read Time : > 2 मिनेट
२०७६ कार्तिक ४ सोमबार ०८:०१:००

नेपालमै पहिलो सडक सुरुङमार्ग र फ्लाई ओभर निर्माण सोमबारबाट थालनी हुँदै छ । सोमबार अपराह्न ३ बजे प्रधानमन्त्री केपी ओलीले नागढुंगा–सिस्नेखोला सुरुङको शिलान्यास गर्दै छन् । त्यससँगै पहिलो सडक सुरुङमार्ग निर्माणको औपचारिक थालनी हुने सडक विभाग अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । सुरुङमार्ग निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जग्गा भाडामा लिएर क्याम्प निर्माण थालिसकेको छ । ‘हाज्माले सोमबारदेखि निर्माण थाल्दै छ,’ थापाले भने । 

सुरुङमार्गकै अंग हुने गरी दुई फ्लाई ओभर निर्माण हुँदै छन् । नेपालमा फ्लाई ओभर पनि पहिलो पटक निर्माण हुन लागेको हो । दुई फ्लाई ओभरमध्ये एउटा अहिलेको सडक ट्राफिकलाई अवरोध नपुगोस् भनेर कलंकी–नागढुंगा सडक खण्डको बलम्बुमा निर्माण गरिनेछ । यसले त्रिभुवन राजपथमा सवारी आवात–जावतलाई सुचारु गर्नेछ । अर्को फ्लाई ओभर भने नागढुंगा जोड्ने स्थानीय सडकमा रहनेछ । यसले पनि सडक ट्राफिक सहज बनाउन भूमिका खेल्ने विभागका अन्तर्राष्ट्रिय सहयोग महाशाखा प्रमुख थापाले जानकारी दिए । सुरुङ निर्माणले नेपालमा जापानी प्रविधि भित्र्याउन  पनि महत्वपूर्ण  भूमिका खेल्ने सडक विभागको भनाइ छ । 
 
 सुरुङमार्ग निर्माणमा ऐतिहासिक फड्को
नेपालमा पहाडी र हिमाली भूभाग धेरै भए पनि हालसम्म सडक बनाउँदा सुरुङमार्गको प्रयोग गरिएको छैन । वातावरणीय संरक्षण र दीर्घकालिन विकासका लागि पहाडी क्षेत्रमा सुरुङमार्ग उत्तम हुने विज्ञहरूले जोड दिँदै आएका थिए । निर्माण थालनी हुन लागेको नागढुंगा–सिस्नेखोला  सुरुङमार्गले अन्य ठाउँमा पनि सुरुङ निर्माणमा गति प्राप्त गर्ने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । ‘देशभर अन्य एक दर्जन सुरुङमार्गको पनि अध्ययन थालनी भइसकेको छ,’ उनले भने । 

 ४२ महिनामा सुरुङ निर्माण सम्पन्न हुने
५दशमलव १३ किलोमिटर लामो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माणपूर्वको सम्पूर्ण तयारी पूरा भइसकेको छ । तीन लेनको यस मार्गमा सुरुङको कुल लम्बाइ २.६८८ किमि र सडकको लम्बाइ २.४५ किमि हुनेछ । कम्पनीसँग सुरुङमार्ग निर्माणबारे ६ असोजमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले ४२ महिनामा निर्माण सम्पन्न गर्नेछ । 

तोकिएको समयभन्दा झन्डै २ वर्ष ढिलो गरी भएको ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ मा सम्पन्न हुनेछ । यसअघि सन् २०१६ मा सहुलियत दरमा जापानसँग ऋण सम्झौता हुँदा २०१८ मध्यदेखि नै आयोजना निर्माण थालेर २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर खरिद सम्झौताका विभिन्न प्रक्रिया, जग्गाप्राप्ति र अन्य कारणले ढिलाइ हुँदा ठेक्का सम्झौता नै सन् २०१९ को अन्तिममा हुन पुग्यो । 

उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन् । बाहिरिने सवारीसाधन एक लेनबाट जानेछन् । सडक विभागका अनुसार सुरुङमार्ग निर्माण गर्न ठेक्काको प्रतिस्पर्धामा चीन, भारत, टर्की, कोरिया, जापान र नेपालका ३९ कम्पनी टेन्डर प्रतिस्पर्धामा थिए । सवा १३ अर्ब रुपैयाँमै सुरुङमार्ग निर्माण गर्न सहमत भएपछि हाज्मा आन्दो कर्पोरेसनले निर्माणको जिम्मा पाएको थियो ।

सडक विभाग वैदेशिक महाशाखाका प्रमुख अर्जुनजंग थापाकाअनुसार सहभागीमध्ये हाज्माको ठेक्का रकम कम थियो । हाज्मा आन्दोका महाप्रबन्धक सिओसी हिरोसेले तोकिएकै समयमा आयोजना पूरा गर्न बताएका छन । कम्पनीले यसअघि कोटेश्वर–सूर्यविनायक सडक र बिपी राजमार्ग निर्माण गरेको रेकर्ड छ । कम्पनीले समयमा काम सक्नेमा विश्वस्त छौँ,’ महाशाखा प्रमुख थापाले भने । 

 कलंकी नागढुंगा नौबिसे जाम घट्ने
यो सुरुङमार्ग निर्माणपछि कलंकी नागढुंगा हुँदै नौबिसेसम्म अधिकांश समय भइरहने जाम घट्नेछ । यो सडक पार गर्न लाग्ने समय घटाउनेछ भने इन्धनको बचत गर्नेछ । साथै, वातावरणीय स्वच्छता राख्न पनि सहयोग पुग्नेछ ।

सुरुङमार्ग हाम्रो भूबनोटको आवश्यकता हो

केशवकुमार शर्मा
महानिर्देशक, सडक  विभाग


सडकलाई छोटो बनाउनुपर्ने आवश्यकता छ । धेरै फन्का लगाएर उकालो चढ्ने र झर्ने गर्दा धेरै बेफाइदा छन् । सुरुङ मार्गले सडक सुरक्षामा पनि टेवा पु-याउनेछ । दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्नेछ । त्यसकारण नेपालको भूबनोटअनुसार पनि सुरुङमार्ग निर्माण महत्वपूर्ण छ । तर, यससम्बन्धी हामीसँग दक्ष जनशक्ति छैन । अब सुरु भएको छ । यसबाट हाम्रा इन्जिनियरले पनि सिक्न पाउँछन् । निर्माण व्यवसायीले पनि सिक्छन् । थप केही सुरुङ निर्माण गरेपछि हामी आफैँ पनि निर्माण गर्ने क्षमतामा पुग्नेछौँ ।

जग्गाप्राप्तिसमेत आयोजनाको लागत २२ अर्ब
सुरुङमार्गको लागत रकम १६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ । निर्माणमा लाग्ने सबै रकम जापानी सहुलियत ऋण हो । सरकारले १० वर्षसम्म यसको ब्याज तिर्नुपर्दैन । त्यसपछि भने शून्य दशमलव ०१ प्रतिशतका दरले प्रतिवर्ष ब्याज भुक्तानी गर्नुपर्नेछ । ३० वर्षभित्र ऋण चुक्ता गरिसक्नुपर्नेछ । त्यस्तै नेपाल सरकारले ६ अर्ब रुपैयाँ लगानी गर्नेछ । 

काठमाडौंको बलम्बुबाट सुरु हुने सुरुङमार्ग धादिङको सिस्नेखोलामा पुगेर टुंगिनेछ । कुल ६ करोड रुपैयाँको मुआब्जाबापत बुझाउने क्रम अन्तिम चरणमा रहेको छ । महाशाखाले काठमाडौंमा मुआब्जा वितरणका लागि दुई सय ८० घरपरिवार निर्धारण गरेको छ । त्यसमध्ये दुई सय ५० ले मुआब्जाका लागि निवेदन दिएका थिए । प्रतिआना नौदेखि ४२ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको छ ।