मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ कार्तिक २ शनिबार ०९:३३:००
Read Time : > 2 मिनेट
साहित्य

चन्द्रागिरिमा सात देशका साहित्यकार

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २ शनिबार ०९:३३:००

मंगलबारदेखि राजधानीमा सुरु भएको दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको तेस्रो दिन अर्थात् ३० असोजको कार्यक्रम कुनै नयाँ र पर्यटकीय स्थानमा गर्ने उद्देश्य थियो । नेपाल प्रज्ञा–प्रतिष्ठान आयोजक भएको सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट संस्थागत रूपमा कवि, लेखक, साहित्यकार, शिक्षाविद् एवं पत्रकारको प्रतिनिधित्व थियो । भर्खरै मात्र चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आएर फर्किएको माहोल सेलाउन नपाउँदै राजधानीलाई यो सम्मलेलनले फेरि अर्को रौनक थपेको छ । 


सम्मेलनको तेस्रो दिन चन्द्रागिरिको डाँडामाथि कार्यक्रम तय भएको थियो । विभिन्न देशका पाहुनासहित एक सय दुईजनालाई लिएर बिहीबार बिहान आठ बजे दुईवटा टुरिस्ट बस नेपाल एकेडेमीको आँगनबाट प्रस्थान गरे । एकेडेमीदेखि चन्द्रागिरिसम्मको यात्रामा विदेशी कवि, लेखक, साहित्यकार निकै रमेका थिए । उनीहरूलाई काठमाडौंको कलाकृति र प्रकृतिले निकै आकर्षित गरेको आभाष हुन्थ्यो । 

यात्रा सुरु भएको एक घन्टा नबित्दै गाडी चन्द्रागिरि पुगिसेकेको थियो । बिहानीको समय भएकाले पनि राजधानीको जामको अनुभूति विदेशी कवि, लेखक, साहित्यकारहरूले गर्नुपरेन । चन्द्रागिरिको फेदीमा ओर्लिएपछि  सम्मेलनका सहभागीहरूले  लाइनमै बसेर टिकट लिए । एकपटकमा आठजना सयर गर्न मिल्ने केबलकारमा हामी नौ टोली भएर यात्रा ग-यौँ । यात्राको केही मिनेटमा मनोरम दृश्यको अवलोकन गर्दै केबलकार चन्द्रागिरि हाइटमा पुग्यो । चन्द्रागिरिमा पुनः चियापानलगत्तै सभाहलमा कार्यक्रम सुरु भयो । 

लेखक तथा प्राध्यापक महेश पौड्यालले सञ्चालन गरेको कार्यक्रमको सुरुवातमा पाकिस्तानी शिक्षाविद् तथा लेखक मुहम्मद हसन हसरतले पाकिस्तानी संस्कृति, सम्पदाबारे कार्यपत्र प्रस्तुत गरे । बीचबीचमा अडियो श्रव्यदृश्यसहित  त्यसबारे प्रस्ट पारे । 

पर्यटन बोर्डका प्रतिनिधि सुनील शर्माले पर्यटन वर्ष २०२० लाई लक्षित गरेर नेपालको विविध कल्चर, म्युजियम, आर्किटेक, डिजाइन, हिमाल, सगरमाथा, फ्लावर, चरा, लालीगुँरास, नेसनल पार्क, मन्दिर, ताल, कुमारी जात्रा, पेन्टिङ, नेपाली परिकार, रारा, कुलेखानी, डाँफे, ट्रेकिङ, प्याराग्लाइडिङ आदिलाई दृश्यसहित प्रस्तुत गरेका थिए ।  शर्माको प्रस्तुतिलाई विदेशी पाहुनाहरूले चाखपूर्वक हेरेका थिए ।  

चाइनिज लेखक तथा पत्रकार चउ स्युआन्फुले आफ्नो होम टाउनको लेखनबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् । नेपालका तर्फबाट अंग्रेजी साहित्यका प्रोफेसर डा. अम्मराज जोशीले नेपालको लोकसाहित्य र लोककथाबारे कार्यपत्र प्रस्तुत गरेका थिए । यी तिनैवटा कार्यपत्रमाथि टिप्पणी पूर्वसांसद हिरण्यलाल श्रेष्ठले गरेका थिए । समापन कार्यक्रमको प्रमुख आथिति रहने भनिएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाल प्रज्ञा प्रतिष्ठानका संरक्षक योगेश भट्टराई काम विशेषले उपस्थित हुन नसकेपछि निर्धारित समयभन्दा डेढ घन्टाअघि नै कार्यक्रम समापन भएको थियो ।

चीन र दक्षिण एसियाको साहित्य, कला संस्कृति तथा सूचनाको सम्बन्ध विस्तारका लागि साउथ एसिया साहित्य फोरमको पनि गठन भएको प्रज्ञा प्रतिष्ठानका  प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बुले बताए ।  विविध देशमा हुने यो सम्मेलन यसपटक नेपालमा भएको हो । भारतले भने कार्यपत्र मात्र पठार आफू उपस्थित हुन नसकेको जानकारी सञ्चार संयोजक लुमुम्बुले जानकारी दिए । 

२८ असोजमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा १५ सय हाराहारीको उपस्थितिमा उद्घाटन भएको सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा चलेको थियो । उद्घाटन कार्यक्रममा पर्यटन मन्त्री योगेश भट्टराई पनि उपस्थित थिए । उद्घाटनमा दक्षिण एसियाकै भाषा, शान्ति, संस्कृतिको प्रवद्र्धन र विकासमा महत्वपूर्ण योगदान पु-याउने कुरा प्रधानमन्त्री ओलीले व्यक्त गरेका थिए । उद्घाटन समारोह सकिएपछि प्राज्ञिक सत्र सुरु भएको थियो । प्राज्ञिक सत्रमा चारवटा कार्यपत्र प्रस्तुत भएका थिए । दोस्रो दिनको सत्रमा  कार्यपत्र प्रस्तुत र त्यसमा छलफल हुने क्रम चलेको थियो । त्यसमा विभिन्न देशका कार्यपत्रमाथि व्यापक प्राज्ञिक विमर्श चलेको थियो । 

तेस्रो दिन श्रीलंका, पाकिस्तान, चाइना, र नेपालका  कार्यपत्र प्रस्तुत भए । तीन दिनसम्म चलेको कार्यक्रमा बौद्धिक बहस, गोष्ठी, कार्यशालामा अन्तरहिमालयन संस्कृति तथा साहित्यको सम्बन्ध विस्तारका लागि कार्यक्रम भएको बताइयो । दक्षिण एसिया विश्वमै संस्कृतिको धनी मानिन्छ, त्यसलाई अझ एक देशदेखि अर्को देशको सम्बन्ध विस्तारका लागि र भाषा, साहित्य, कला संस्कृतिको सम्बन्ध प्रगाढ बनाउन, सहकार्य कसरी गर्ने भन्ने सम्बन्धमा  कार्यपत्र प्रस्तुत भएका थिए । 

सम्मेलनबाट अन्तिममा ६ बुँदे घोषणपत्र प्रस्तुत गरिएको थियो । उक्त घोषणापत्रमा सहभागी देशबाट आएका सदस्यहरूले बहुभाषामा साहित्यको विकास गर्न आ–आफ्नो देशमा साहित्यिक गतिविधि गर्ने, यो फोरमले विभिन्न देशमा साहित्यकारहरूको भ्रमण, साहित्यिक तथा सांस्कतिक रूपमा सँगै काम गर्ने र सबैलाई एउटै छातामुनि ल्याउने, रचनात्मक कार्य तथा पढ्ने संस्कारलाई हरेक देशमा वर्षको दुईपटक केही कार्यक्रम आयोजना गर्ने, साहित्य, कला, नाटकलगायत विधाहरू बालबालिकाको पहुँचमा पु-याई यसै फोरमको माध्यमबाट बढाउने, भाषा सिक्ने सिकाउने, भाषा उल्थाको लागि सभा सम्मेलन आयोजना गर्नेलगायत सदस्य राष्ट्रहरूमा वर्षमा एकचोटि कन्फ्रेन्स आयोजना गर्ने बुँदाहरूसहितको घोषणापत्र गरियो । 

चन्द्रागिरिबाट सोही दिन फर्किएको टोली  १, २ र ३ कात्तिकमा काठमाडौं र पोखराका पर्यटकीय, ऐतिहासिक, पुरातात्विक एवं सांस्कृतिक स्थलको भ्रमणमा निस्किएको छ ।  यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको सिचुवान प्रान्तस्थित छेन्दुमा सम्पन्न भएको थियो । प्रतिष्ठानले आफ्ना गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा पु-याउने र विश्वका नवीनतम् प्राज्ञिक प्रवृत्तिसँग नेपाली स्रष्टा–द्रष्टा एवं लेखकलाई परिचित गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गर्दै आएको हो ।