१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जनार्दन बराल
२०७६ कार्तिक २ शनिबार ०७:४२:००
Read Time : > 2 मिनेट
अर्थ

देउखुरीका आलु राख्न चिस्यान केन्द्र

Read Time : > 2 मिनेट
जनार्दन बराल
२०७६ कार्तिक २ शनिबार ०७:४२:००

दाङको देउखुरी उपत्यका कृषि उत्पादनका हिसाबले अत्यन्तै उर्वर । अझ लमही क्षेत्र त आलुको पकेट क्षेत्र नै मानिन्छ । तर, आलु रोपेदेखि पसिना बगाउने किसान फसल लिने वेला आलुको भाउ नआउने समस्याबाट लामो समयदेखि पीडित बन्दै आएका थिए । त्यति मात्र होइन, उत्पादन गरेअनुसार बिक्री पनि नहुने, केही समय राखेर बेचौँ भन्दा पनि भण्डारणको व्यवस्था नहुँदा व्यापारीले जति भन्यो, त्यतिमा आफ्ना उत्पादन बिक्री गर्न यहाँका किसान विवश थिए । पसिना चुहाएर गरेको मिहिनेत निकै सस्तोमा बेच्नुपर्दाको पीडा भनिसाध्यै थिएन, किसानको । 

बिक्री नभएको आलु भण्डारण गर्न घोराही मात्रै होइन, नारायणगढसम्म पनि पुग्नुपथ्र्यो । तर, त्यहाँ पनि भण्डारण गर्न पाइन्छ नै भन्ने कुनै ग्यारेन्टी हुँदैनथ्यो । भण्डारण गर्न नपाएर आलु त्यसै छोडेर आउनुपर्ने बाध्यतासमेत किसानको थियो । यस्तो समस्या भोगिरहेका किसानहरू आफू–आफू मिलेर चिस्यान केन्द्र खोल्ने निर्णयमा पुगे । र, १ सय ६ जना किसानको संयुक्त लगानीमा लमहीमा राप्ती कोल्ड स्टोर खोले । स्टोरमा हरेक किसानले कम्तीमा १ लाखदेखि बढीमा १८ लाख रुपैयाँसम्म लगानी गरेका छन् । 

९ करोड ५८ लाख रुपैयाँ लगानीमा खोलिएको यो कोल्ड स्टोर नेपालकै सबैभन्दा ठूलो चिस्यान केन्द्रमध्येमा पर्छ । ३ हजार २ सय मेट्रिकटन क्षमताको कोल्ड स्टोर खोल्न एसियाली विकास बैंकले ३ करोड रुपैयाँ अनुदान पनि दिएको छ । कोल्ड स्टोर खोलेपछि स्थानीय किसान आलु उत्पादनमा प्रोत्साहित बनेका छन्, व्यक्तिगत रूपमा उत्पादन त बढाएका छन् नै, समूह–समूह मिलेर पनि खेती गरेका छन् । खेतीका लागि एक दर्जनभन्दा बढी महिला समूह बनेका छन् । 

अब किसानले उत्पादित आलु बिक्री नहोला भनेर चिन्तित हुनुपरेको छैन । उचित मूल्यमा बारीबाटै कोल्ड स्टोरले खरिद गरिदिन्छ । यदि फसल उठाउने वेला किसानले बेच्न नचाहेमा कोल्ड स्टोरमा भण्डारण पनि गर्न सक्छन् । एक किलोको ५ रुपैयाँ शुल्क लिएर सिजनभरि कोल्ड स्टोरले आलु राखिदिन्छ । सिजनमा १५ रुपैयाँ प्रतिकिलोमा बेच्नुपर्ने आलु अफ सिजनमा किसानले ३० रुपैयाँ प्रतिकिलोसम्ममा बेच्न पाउँछन् । ‘यसले हामी किसानलाई असाध्यै सजिलो बनाएको छ,’ लमहीको सगरमाथा किसान समूहकी सीता चौधरीले भनिन्, ‘त्यसैले हामीले गत साल १९ बिघामा आलु खेती गरेका थियौँ, यस वर्ष २४–२५ बिघामा खेती गर्दै छौँ ।’ 

१ सय ६ जना किसानले संयुक्त लगानी गरी लमहीमा राप्ती कोल्ड स्टोर खोले । स्टोरमा हरेक किसानले कम्तीमा १ लाखदेखि बढीमा १८ लाख रुपैयाँसम्म लगानी गरेका छन् । ९ करोड ५८ लाख रुपैयाँ लगानीमा खोलिएको यो कोल्ड स्टोर नेपालकै सबैभन्दा ठूलो चिस्यान केन्द्रमध्येमा पर्छ । 

सिजनमा बेचेको भए १५ रुपैयाँ प्रतिकिलो मात्रै मूल्य पाइनेमा अहिले (दसैँअघि) ३० रुपैयाँका दरले बिक्री गरिरहेको किसान माया चौधरीले बताइन् । ‘कोल्ड स्टोरले भण्डारण गरेको ५ रुपैयाँ प्रतिकिलो लिने गरेको छ, तर त्यसबाट पनि फाइदा नै भएको छ,’ उनले भनिन् । कोल्ड स्टोरमा पर्याप्त आलु तथा अन्य तरकारी भण्डारणका लागि आओस् भनेर एसियाली विकास बैंक र नेपाल सरकारले सञ्चालन गरेका साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाले किसान समूह बनाएर खेती गराइरहेको छ ।

व्यक्तिगत रूपमा खेती गर्नुभन्दा समूहमा खेती गर्दा उत्पादकत्व बढेको पनि किसानहरूले अनुभव गरेका छन् । ‘पहिला–पहिला एक बिघामा ५ क्विन्टल हाराहारीमा आलु उत्पादन हुन्थ्यो, अहिले साढे ७ क्विन्टलसम्म उत्पादन हुने गरेको छ,’ प्रगतिशील किसान समूहले जानकारी दिएको छ । उत्पादन अझै बढाउने गरी काम गरिरहेको किसान माया चौधरीले बताइन् । ‘किसान समूहमा आबद्ध भएपछि तालिम पाइएको छ, प्राविधिक सहयोग पाइएको छ,’ उनले भनिन् । 

कोल्ड स्टोरले बिउ संरक्षणमा पनि सहयोग गरेको प्रगति किसान समूहकी गौरी चौधरीले बताइन् । ‘देउखुरीमा असाध्यै मीठो लोकल थारू आलु उत्पादन हुन्छ, यो आलुको उत्पादन बढाउन पनि कोल्ड स्टोरले ठूलो भूमिका निर्वाह गरेको छ,’ उनले भनिन् । कोल्ड स्टोरले अपेक्षा गरेअनुरूप आलु भण्डारणका लागि अझै नआएको अध्यक्ष देवानसिंह चौधरीले बताए । ‘१ हजार ५ सय मेट्रिकटन आलु आउने अपेक्षा थियो, तर साढे ८ सय मेट्रिकटन मात्रै आएको छ,’ उनले भने, ‘उत्पादन बढाउनेतर्फ ध्यान दिइरहेका छौँ ।’ 

 न भन्सार छुट, न बिजुलीमा सुविधा
किसानहरूले समूह बनाएर कृषिको व्यावसायीकरण गर्न काम गरे पनि सरकारले भने सहयोग नगरेको राप्ती कोल्ड स्टोरका अध्यक्ष देवानसिंह चौधरीले बताए । ‘बजेटमा कोल्ड स्टोर निर्माणमा आवश्यक सामग्री १ प्रतिशत भन्सार दरमा आयात गर्न दिने घोषणा गरियो, सोअनुसार सुविधा दिन कृषि मन्त्रालयले चिठी पनि लेखिदियो, तर अर्थले भन्सार छुट सुविधा दिएन,’ उनले भने । त्यस्तै, मुलुकमा बनेका कोल्ड स्टोरहरूलाई विद्युत् महसुल भुक्तानी गर्दा डिमान्ड शुल्क मिनाहा गर्ने निर्णय चैत ०७३ मै भएको थियो । सो सुविधा लिन चौधरी पटक–पटक सरकारका विभिन्न निकाय धाए । तर, हालसम्म पनि सुविधा पाउन नसकेको उनको भनाइ छ । 

 सँगसँगै यान्त्रीकरण पनि
कोल्ड स्टोरसँगै सनराइज एग्रिकल्चर रिसर्च प्रालिले देउखुरी क्षेत्रमा कृषिमा यान्त्रीकरण गर्ने उद्देश्यले विभिन्न मेसिनहरू ल्याएको छ । कोल्ड स्टोरको समूहमै आबद्ध तुलप्रसाद चौधरी, सुनीता चौधरी र अनुज चौधरीले १ करोड १८ लाख रुपैयाँ लगानी गरी सो कम्पनी खोलेका हुन् । त्यसमध्ये साढे ५८ लाख रुपैयाँ अनुदानमा प्राप्त भएको हो । कम्पनीकी सञ्चालक सुनीता चौधरीका अनुसार आलु ग्रेडिङ गर्ने मेसिन, मल्टिपर्पोज ग्रेडिङ गर्ने मेसिन, आलु रोप्ने मेसिन ल्याइएको छ, जुन स्थानीय किसान र समूहलाई भाडामा प्रयोग गर्ने सुविधा दिइनेछ । ‘यस क्षेत्रको कृषिको यान्त्रीकरणमा सघाउने उद्देश्य छ,’ चौधरीले भनिन् ।