Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ कार्तिक २ शनिबार ०७:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार

एमबिबिएसको शुल्क दुई लाखले वृद्धि, उपत्यकामा ४० लाख र बाहिर ४४ लाख तिर्नुपर्ने  

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २ शनिबार ०७:३५:००

चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस अध्ययनको शुल्क वृद्धि गरेको छ । अब एमबिबिएस पढ्न विद्यार्थीले उपत्यकाभित्र ४० लाख २३ हजार दुई सय ५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ । त्यस्तै, बिडिएसतर्फ भने आयोगले उपत्यकाबाहिर र भित्र समान २० लाख १९ हजार पाँच सय ८० रुपैयाँ शुल्क तोकेको छ । 

यसअघि शैक्षिक सत्र ०७५/७६ का लागि उपत्यकाभित्र एमबिबिएसतर्फ ३८ लाख ५० हजार र उपत्यकाबाहिर ४२ लाख ४५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । बिडिएसको शुल्क भने १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ थियो । 

यससँगै एमबिबिएस अध्ययन करिब दुई लाख रुपैयाँले महँगिएको छ भने बिडिएसका लागि विद्यार्थीले करिब एक लाख बढी तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष ०७५ को मुद्रास्फीति प्रतिवेदनका आधारमा नयाँ शुल्क कायम गरिएको आयोगले जनाएको छ । 

आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले चार दशमलव पाँच प्रतिशत शुल्क बढेको देखिए पनि वास्तविकतामा घटेको दाबी गरे । नयाँ शुल्क निर्धारणसँगै कलेजहरूले परीक्षा शुल्क, पुस्तकालय शुल्क, सामुदायिक शुल्कका रूपमा लिँदै आएको रकम लिन नपाउने उनको भनाइ छ । मेडिकल कलेजहरूले कानुनविपरीत विद्यार्थीबाट लाखौँ रकम असुल्दै आएका छन् ।

विद्यार्थीबाट लिइने रकम किस्ताबन्दीमा
चिकित्सा शिक्षा ऐनको दफा १८ को उपदफा (ख) मा विद्यार्थीबाट लिइने एकतिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा लिनुपर्ने उल्लेख छ ।  सोही दफाको उपदफा (ग) मा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउनुपर्ने उल्लेख छ । जसअनुसार एमबिबिएसतर्फ विद्यार्थीले पहिलो वर्ष काठमाडौं उपत्यकाभित्र १३ लाख ४१ हजार र उपत्यकाबाहिर १४ लाख ७८ लाख ६ सय ७५ रुपैयाँ विश्वविद्यालयमा तिर्नुपर्ने हुन्छ । त्यस्तै, बिडिएसतर्फ ६ लाख ७३ हजार एक सय रुपैयाँ पहिलो वर्ष विश्वविद्यालयमा जम्मा गर्नुपर्छ । 

न्याम्सले रोक्यो प्रवेश परीक्षा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले लिने एमडी/एमएस/एमडिएमएस स्नात्तकोत्तरको प्रवेश परीक्षा स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा अन्तिम समयमा परीक्षा स्थगित गर्नुपरेको न्याम्सका डिन प्राडा पीयूष दाहालले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ । 

न्याम्सले शनिबार शैक्षिक वर्ष ०७६/७७ को एमडी/एमएस/एमडिएमएस स्नात्तकोत्तरको प्रवेश परीक्षा गर्ने तय गरेको थियो । न्याम्सले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित भएको जनाएको छ ।