१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २ शनिबार ०७:३१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

छुवाछुत भोग्ने पीडित नै पक्राउ

झुटा मुद्दा लगाएको भन्दै दलित संघसंस्था आन्दोलित

Read Time : > 2 मिनेट
२०७६ कार्तिक २ शनिबार ०७:३१:००

होटेलमा चिया पिउन जाँदा सानो जातको भन्दै बाहिर निकालिदिएपछि छुवाछुत अपराधविरुद्ध किटानी जाहेरी दर्ता गराउने पीडित डिमोने कामीलाई प्रहरीले पक्राउ गरेको छ । पीडितलाई नै प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेपछि दलित समुदाय आन्दोलनमा उत्रिएको छ ।

गत २० असोजमा मोरङ पथरीस्थित शनिश्चरे बजारमा रहेको टलकबहादुर पाण्डेको चिया पसलमा चिया पिउन गएका डिमोनेलाई होटेल धनी पाण्डे र ग्राहक रुद्रबहादुर कटुवालले सानो जातको भनेर गालीगलौज गर्दै छुवाछुत गरेका थिए । २८ असोजमा डिमोनेले जातीय छुवाछुत कसुर सजाय ऐन २०६८ अनुसार इलाका प्रहरी कार्यालय पथरीमा उनीहरूविरुद्ध किटानी जाहेरी दर्ता गराएका थिए । तर, प्रहरीले आरोपीहरूसँगै बिहीबार डिमोने कामीलाई पनि पक्राउ गरेर अभद्र व्यवहारमा मुद्दा दर्ता गराएको छ । गणेश लम्सालको रिपोर्ट :

 झुटा मुद्दा खारेज गरी प्रहरीलाई पनि कारबाही गर्न माग   
सानो जातको भनेर होटेलमा चिया पिउन नदिई छुवाछुत गर्ने दुईजनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गराउने पीडितलाई पक्राउ गरेर झुटो मुद्दा लगाएको भन्दै जिल्लाका दलित समुदाय आन्दोलित भएका छन् । पीडितलाई नै अभद्र व्यवहार मुद्दा लगाएको भन्दै दलित समुदाय तथा संघसंस्था न्यायिक संघर्ष समिति गठन गरेर आन्दोलनमा उत्रिएका छन् ।

दलित अगुवाहरूले कुबेरमान घतानीको नेतृत्वमा २७ सदस्यीय ‘डिमोने कामी न्यायिक संघर्ष समिति’ गठन गरेका छन् । निष्पक्ष छानबिन गरेर झुटा मुद्दा लगाउने र दर्ता गर्नेलाई कारबाही नगरे संघर्ष देशव्यापी बनाउने उनीहरूले चेतावनी दिएका छन् । घटनाको निष्पक्ष छानबिन गरेर छुवाछुत पीडितलाई न्याय दिनुपर्ने, झुटा मुद्दा खारेज गरी पीडितलाई तुरन्त रिहाइ गर्नुपर्ने माग गर्दै संघर्ष समितिले शुक्रबार जिल्ला प्रशासन मोरङमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।

झापा, मोरङ र सुनसरीबाट आएका दलित अगुवाहरूले शुक्रबार सहायक सिडिओ सुरेश सुनारलाई ज्ञापनपत्र बुझाउँदै घटनाको निष्पक्ष छानबिनका लागि समिति बनाउन र पीडित डिमोने कामीलाई तुरुन्त विनासर्त रिहाइ गर्न माग गरे । दलित अधिकारकर्मी तथा नेकपा प्रदेश नम्बर १ का सदस्य डिबी शाहशंकरले भने, ‘पीडित डिमोने कामीलाई रिहा गरेर झुटा मुद्दा लगाउनेलाई कारबाही नगरे देशभरिका दलित समुदाय सडकमा उत्रन बाध्य हुनेछौँ ।’ 

प्रभावकारी अनुसन्धान गरेर छुवाछुतको व्यवहार भोग्ने पीडितलाई पक्राउ गरेपछि आक्रोशित दलित समुदायले बिहीबार साँझ पनि मोरङको पथरी बजारमा प्रदर्शन गरेका थिए । दलित गैरसरकारी संस्था महासंघका वरिष्ठ केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्रीले पीडित डिमोने कामी प्रेसर र दमको बिरामी भएकाले उनलाई उपचारका लागि अस्पताल लैजान माग गरे । ‘झुटा मुद्दामा पक्राउ गरेका पीडितको अवस्था ज्यादै नाजुक छ, जिउज्यान तलमाथि होला, तुरुन्त अस्पताल भर्ना गरियोस्,’ ज्ञापनपत्र बुझाउने क्रममा उनले भने ।  

 कारबाही गर्ने प्रतिबद्धता 
ज्ञापनपत्र बुझ्दै सहायक सिडिओ सुरेश सुनारले छुवाछुतको मुद्दा अदालतले हेर्ने भएकाले प्रभावकारी निर्देशनका लागि प्रहरीलाई आग्रह गर्ने बताउँदै अभद्र व्यवहारको मुद्दामा निष्पक्ष छानबिन गराउने प्रतिबद्धता जनाए । ‘घटनाको निष्पक्ष छानबिन गर्छौँ, यदि झुटो मुद्दा लगाइएको रहेछ भने सबैलाई कारबाही गर्छाँै,’ उनले भने ।

 निष्पक्ष छानबिन गर्न मुख्यमन्त्री र मानवअधिकार आयोगसँग आग्रह 
सार्वजनिकस्थलमा भएको जातीय छुवाछुतको घटनामा संलग्नलाई कानुनी कारबाही अगाडि बढाउनुको साटो उल्टै प्रहरीले पीडितलाई पक्राउ गरेर झन् पीडित बनाएको भन्दै विश्वकर्मा एकता समाज मोरङ, दलित गैरसरकारी संस्था महासंघ १ नम्बर प्रदेश, दलित सेवा संघ मोरङ, मुक्ति समाज र नेपाल दलित संघलगायतले निष्पक्ष छानबिन र अनुसन्धान गर्न राष्ट्रिय मानवअधिकार आयोग र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय १ नम्बर प्रदेशसँग आग्रह गरेका छन् ।

दलित अधिकारकर्मी अमर बराइलीले मोरङको पथरी शनिश्चरे नगरपालिका–८ दोलु शुक्रबारेकी ३० वर्षीया शारदा बराइलीलाई गत ५ चैतमा ऋण दिएको पैसा माग्दा मोसो दलेर अमानवीय व्यवहार गरेको अपराधमा पनि प्रहरीले झुटो अनुसन्धान गरेर पीडकहरूलाई उन्मुक्ति दिएको घटना पनि छानबिन गरिनुपर्ने माग गरे । ‘पीडितले मैले दिएको बयान होइन भन्दाभन्दै पनि प्रहरीले जबर्जस्ती सही गराएर अनुसन्धान फितलो बनाएको थियो, यसबारे पनि छानबिन हुनुपर्छ,’ उनले भने ।

इप्रका पथरी इन्चार्ज डिएसपी लक्ष्मी अधिकारीले किटानी जाहेरीअनुसार रुद्रबहादुर कटुवाल र टलकबहादुर पाण्डेलाई पक्राउ गरेर अदालतबाट छुवाछुत कसुरमा र होटेल सञ्चालककी पत्नीको जाहेरीले डिमोने कामीलाई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार मुद्दामा चार दिनको म्याद थप गराएको बताए । डिमोनेले चिया खाएको ११ हजार रुपैयाँ उधारो नतिरेको र पैसा माग्दा होटेलमा पसेर तोडफोड र गालीगलौज गरेको आरोप होटेलधनीको छ ।   

 उजुरीमा के छ ?
इलाका प्रहरी कार्यालय पथरीमा दर्ता भएको जाहेरीअनुसार २० असोज दिउँसो पथरी शनिश्चरे–९ स्थित बजारमा रहेको टलकबहादुर पाण्डेको चिया पसलमा डिमोने कामी चिया पिउन गएका थिए । आफ्नो पसलमा उच्च जातिका मान्छेहरू चिया पिउन आउने गरेको भन्दै पसलधनी पाण्डेले डिमोनेलाई सानो जाति भएकाले बाहिर बसेर चिया पिउन भनेका थिए । तर, डिमोनेले कानुनमा सबै बराबर हुन्छन्, विभेद र छुवाछुत गर्न पाइँदैन भन्दा कारबाही गर्न सके गर भन्दै होटेल सञ्चालक पाण्डेले उनलाई धकेलेर बाहिर निकालिदिएका थिए ।

होटेलवालाले भित्र बस्न नदिएपछि बाहिर बसेर चिया पिउन लाग्दा सानो जाति भएर आफूसँगै बसेर चिया पिउन लागेको भन्दै ग्राहक रुद्रबहादुर कटुवालले समेत जातीय गालीगलौज गरी उनलाई बाहिर निकालेका थिए । त्यसपछि आफूमाथि अपमानजनक ढंगले जातीय छुवाछुतको अपराध भएको भन्दै डिमोने कामीले न्यायका लागि विभिन्न दलित संघसंस्था गुहारेका थिए । दसैँको समय भएकाले तत्काल जाहेरी दिन नसके पनि दसैँ सकिएलगत्तै दलित अधिकारकर्मीको पहलमा २८ असोजमा इप्रका पथरीमा जातीय विभेद तथा तथा छुवाछुत कसुरअनुसार किटानी जाहेरी दर्ता भएको थियो ।