१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ कार्तिक २ शनिबार ०७:११:००
Read Time : > 1 मिनेट
समाचार

पक्राउ परेका विप्लवका नेताबाट हतियार र दस्ताबेज बरामद

Read Time : > 1 मिनेट
२०७६ कार्तिक २ शनिबार ०७:११:००

देउखुरीको राजपुर गाउँपालिका–४ मुंग्रेठाबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूका साथबाट बरामद सामग्री प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरी ती सामग्री सार्वजनिक गरेको हो । 

पक्राउ परेका २१ नेता तथा कार्यकर्ताबाट ६ थान पेस्तोल, दुई थान म्यागजिन, ९ वटा गोली, एउटा सुतली बम, तीन लाख ८४ हजार पाँच सय ३० रुपैयाँ नगद, ३७ थान मोबाइल फोनसेट, ४ थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै, २१ वटा झोला, १६ वटा डायरी, लेटर प्याड र रबर स्ट्याम्प बरामद भएको प्रहरी प्रवक्ता डिएसपी विनोदविक्रम शाहले जानकारी दिए । 

पक्राउ परेका सबै नेता–कार्यकर्ताविरुद्ध दाङ प्रहरीले संगठित अपराध तथा राज्यविरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको पनि उनले बताए । पक्राउ परेकाहरूलाई सार्वजनिक गरिएको छैन । 

माथिल्लो तहका नेताको उपस्थितिमा महत्वपूर्ण बैठक बसिरहेको भन्ने सूचना पाएपछि प्रहरीले घेरा हालेर २१ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंग भनिने चन्द्रबहादुर चन्द पनि छन् । उनी विप्लवका दाजु हुन् । पक्राउ पर्ने अन्य नेताहरूमा राप्ती ब्युरो इन्चार्ज केशवबहादुर बाठामगर, राप्ती ब्युरो संयोजक रामबहादुर थापा, राप्ती ब्युरो कार्यालय सचिव सविन पोख्रेल, दाङ जिल्ला इन्चार्ज यमलाल कटुवाल, जिल्ला सेक्रेटरी प्रदीप वली, युवा संगठनका केन्द्रीय अध्यक्ष बबिन केसी (पाटन) छन् । 

त्यस्तै, बुद्धिजीवी संगठनका सुनील पौडेल, जिल्ला जनपरिषद् सदस्य एकराज चौधरी र राजपुर गाउँपालिका सेक्रेटरी धनबहादुर बोहोरा पक्राउ परेका छन् । यसैगरी, राष्ट्रिय दलित मोर्चाका जिल्ला अध्यक्ष सुरज विक, राप्ती ब्युरोका सदस्य तिलक पुन, हितप्रसाद रोका, पोस्टमान घर्ती, दलबहादुर खत्री, अमित घर्तीमगर, बालकृष्ण शर्मा, जीत क्षेत्री, रमेश आचार्य, विष्णु थापा र कुलबहादुर ओली पनि पक्राउ परेका छन् ।

विप्लवको चेतावनी
एकैपटक ठूलो संख्यामा नेताहरू पक्राउ परेपछि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वैज्ञानिक समाजवादसम्म पुग्ने यात्रामा अवरोध गर्नेलाई खरानी बनाउने चेतावनी दिएका छन् । केन्द्रीय नेतृत्वसहित राप्ती क्षेत्रका नेतृत्व तहका धेरैजसो नेता पक्राउ परेपछि विप्लवले विज्ञप्ति जारी गरी चेतावनी दिएका हुन् ।