१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
उज्ज्वल थापा
२०७६ कार्तिक १ शुक्रबार ०८:४२:००
Read Time : > 4 मिनेट
दृष्टिकोण

न ‘सी पथ’ न ‘मोदी पथ’

कसैले ‘मोदी पथ’ त कसैले ‘सी पथ’को ‘कपीपेस्ट’ गर्न चाहे पनि आमनेपाली नागरिक भने यस्तो कपीपेस्ट चाहँदैनन्

Read Time : > 4 मिनेट
उज्ज्वल थापा
२०७६ कार्तिक १ शुक्रबार ०८:४२:००

दुई पृथक  र शक्तिशाली छिमेकीबीच नेपालले आफ्नै सम्भावनालाई परिपूर्ति गर्न सही नीति, रणनीति वा मार्ग खोज्नैपर्छ । २१औँ शताब्दीमा नेपाल विश्वकै केन्द्रबिन्दुमा पर्ने तीन प्रबल सम्भावनाबारे यहाँ विश्लेषण गर्न खोजिएको छ । यिनै सम्भावनालाई समाधान दिने मार्ग, नीति र रणनीति बनाउन सके हाम्रो देश शान्त, समृद्ध र सार्वभौम रहन सक्छ भन्ने हाम्रो विश्वास हो । यी तीन सम्भावना हेर्दा अबको नेपाल विश्वको केन्द्रबिन्दुमा पर्दै छ ।

पहिलो, नेपाल आर्थिक रूपमा विश्वको एक केन्द्रबिन्दु : विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्रबीच रहेर पनि हामी खाली परनिर्भर अर्थतन्त्र बनिराख्ने कि हाम्रो लाहुरेमुखी समाजलाई उद्यमशील समाज बनाई उत्पादनमुखी दिगो अर्थतन्त्र बनाउने नीति लिई अघि लम्कने ? समवृद्धिमुखी वातावरणका लागि दिगो (स्वतन्त्र, स्वच्छ र जिम्मेवार) बजार र यससँग सापेक्ष नीति र नेतृत्व बनाउनतर्फ लाग्ने वेला हो यो । अब पनि यही लुटतन्त्र (सिन्डिकेट, अस्वस्थ दोहनकारी प्रतिस्पर्धा) लाई प्रोत्साहन दिइराख्ने कि उदार (उन्नत) लोकतन्त्रका मूल्य–मान्यतालाई आत्मसात् गरी संघीयताको मर्मअनुसार हरेक नेपालीले उपभोग गर्न चाहेको ‘समतामूलक वृद्धि’ अर्थात् ‘समवृद्धि’लाई प्रोत्साहन गर्ने ?

दोस्रो, नेपाल पर्यावरणीय परिवर्तनमा विश्वको एक केन्द्रबिन्दु : नेपालभरि फैलिएको हिमाली क्षेत्रलाई तेस्रो ध्रुव भनिन्छ, उत्तरी र दक्षिणी ध्रुवपछि ।  किनकि, यो यसवरिपरि बस्ने झन्डै एक अर्ब मानिसका लागि अपार खानेपानीको स्रोत हो । मानव जातिको इतिहास पल्टाएर हेर्दा, चाहे त्यो सिन्धु उपत्यकादेखि मेसोपोटेनियाको सभ्यता होस् वा ‘आँगकोर’ होस् वा ‘इन्का’, पहिलेका ठुल्ठूला सभ्यता यस्तै पर्यावरणीय परिवर्तनकै चपेटामा परी नाश भएका प्रमाण वैज्ञानिकले पटक–पटक दिइरहेका छन् ।

बंगलादेशदेखि भारतको पश्चिम बंगाल डुब्न थाले त्यहाँका दसौँ करोड स्थानीयवासी कहाँ जालान् ? सुक्दै गइरहेको उत्तर प्रदेश, बिहार, हरियानामा खडेरी परे कहाँ जालान् त्यहाँका किसान परिवार ? वा हामी नै कहाँ जान्छौँ होला ? वैज्ञानिकको चेतावनी, बालबालिकाको सडक–सडकबाट खबरदारी, मौसमको गडबडी सबै देखी–भोगिरहेको सन्दर्भमा हामीले हाम्रो जीवनशैलीदेखि देशकै शैलीलाई ‘दिगोपन’सँग जोड्न सकेनौँ र ‘वातावरण पहिलो’ नीति लिन आँट गरेनौँ भने हामी तीन करोड नेपाली मात्र होइन, त्यो भन्दा ३० गुणा बढी दाजुभाइ, दिदीबहिनीकै अस्तित्व मेटाउन सक्ने षड्यन्त्रकारी कहलिनेछौँ । 

तेस्रो, नेपाल अध्यात्मको एक विश्व केन्द्रबिन्दु : ‘मक्का र जेरुसलम’ जस्ता स्थल एकै देशभित्र प-यो भने के हुन्छ ? यो प्रश्न मैले स्टानफोर्ड विश्वविद्यालयमा भर्खरै त्यहाँ फेलोसिप गरिरहेका २७ देशका उदार लोकतन्त्रमा विश्वास राख्ने नेतृत्वकर्ता, अभियानकर्ता र अनुसन्धानकर्ताबीच राखेको थिएँ । हजारौँ वर्षदेखि नेपाल आध्यात्मिक विचारको धनी रहेको भूमि हो, जहाँ बुद्धदेखि कैयौँ रिन्पोचेले मध्यमार्ग अनुशरण गरेका थिए ।

वाल्मीकिदेखि व्यासजस्ता सन्तले यही गुरुभूमिबाट महाकाव्य लेखी मानवजातिमा विवेक जगाउने यात्रा सुरु गरेका थिए । यो पनि स्मरण गराउन चाहेँ कि यहाँ शिखगुरु ननाकदेखि जैनगुरु भाद्रबहु र किराँत महागुरु फागुनन्दसम्मले करुणादायी ज्ञान बाँडेका थिए । विभिन्न धर्म, विचार बोकेका फकिरदेखि बाबाहरूले ज्ञान हासिल गरी बाँड्ने काम भइरहेको भूमि पनि हो नेपाल । उनीहरूले मानवतादेखि जीवनको उद्देश्यबारे सोधेका प्रश्नले मानव जातिलाई झक्झकाए । यी ऋषिमुनि र गुरुहरूले सदियौँदेखि सत्य, समानुभूति, विनम्रता, अहिंसा, उदारता र करुणाका नरम विचार र प्रश्नले हामीलाई उत्तर खोज्न अहिलेसम्म झक्झकाइरहेका छन् ।

हामीले नेपाललाई नरम, मध्यमार्गी मर्ममा उभिएर सबैलाई आआफ्नै उत्तर खोज्न किन मद्दत नगर्ने ?  यसरी नै जटिल व्यक्तिगत र सामाजिक समस्याको समाधान खोज्ने केन्द्रबिन्दुका रूपमा हाम्रा छिमेकका लागि उदाहरण किन नबन्ने ? किन विश्वलाई चाहिने विविधताबीचको एकतालाई प्रोत्साहन गर्ने संवाद र समानुभूतिको केन्द्रबिन्दु नबनाउने ? किन अध्यात्मको केन्द्रबिन्दुका रूपमा पुनर्निर्माण गरेर नदेखाउने नेपाललाई ? २५ सय वर्षदेखि आध्यात्मिक स्वतन्त्रता प्रोत्साहन गर्ने गुरुहरूले भरिएको भूमिलाई समयसापेक्ष र सान्दर्भिक नीति, नेतृत्व दिलाउन सके, हाम्रो औचित्य र सार्वभौमसत्ता दुवै सुरक्षित हुने थियो । दुई गगनचुम्बी भवनबीचको एक गुरुको आश्रम नेपाललाई किन नबनाउने, जहाँ छिमेकले हामीलाई सत्कार गरिरहोस्, श्रद्धाले हेरिराखोस्,  हाम्रो प्रेरणादायी भूमिकाले ढुक्क भइराखोस् ?

हो, यी तिनै सम्भावनालाई नेपालले सदुपयोग गरी विश्वको एक केन्द्रबिन्दु बन्न दत्तचित्त हुने हो भने नेपालको मार्ग, आचरण र दर्शन कस्तो हुनुपर्ला त ? यसका लागि चाहिने मौलिक दर्शन, मार्ग र आचरणको खोजीमा हामीले सात वर्षदेखि नेपालभित्रै अनुसन्धान गर्दै आएका छौँ । यस यात्रामा हामीले देशभरि लाखौँ नेपालीसँग कुनाकाप्चामा संवाद ग-यौँ र मूलतः एउटै खाले प्रश्नको सेरोफेरोमा ध्यान दियौँ । ‘तपाईंको सपना के हो ? तपाईंको परिवारको इच्छा के हो ? तपाईंको समाजको आकाँक्षा के हो ?’ यसबाट आएका विविध उत्तरलाई जमाएर बनायौँ एक दर्शन— ‘गतिशील मध्यमार्ग’, जसले समयसापेक्ष रूपमा समाजको सुधार गर्दै अगाडि बढ्छ र नेपाललाई गुरुराष्ट्र बनाउन सक्छ ।

यिनै सपनालाई आधार बनाई आमनेपालीले चाहेका तीन चुरो सपनालाई आत्मसात् हामीले विवेकशील नेपाली दलमा पनि गरेका छौँ । यी तीन सपना र अपेक्षा हुन्—  ‘तीन स’– १) स्वतन्त्रता २) स्वाभिमान ३) र समवृद्धि (समतामूलक वृद्धि सबैको) । तीनवटै मान्यता एकअर्काका परिपूरक हुनुपर्ने हाम्रो निष्कर्ष छ । अझ यी तीन मान्यताबीचको सम्बन्ध पनि औधी महत्वपूर्ण हुने निष्कर्ष हामीले निकालेका छौँ । यी तीनैबीच अर्को ‘तीन स’ को सम्बन्ध जरुरी हुन्छ । यिनीहरूबीच ‘सन्तुलन’ हुनुपर्ने,‘समन्वय (सहकार्य)’ भइरहनुपर्ने र तिनैको ‘सहअस्तित्व’ सुनिश्चित गरिनु अपरिहार्य छ । यही मार्गलाई हामीले ‘गतिशील मध्यमार्ग’ भनी संज्ञा दिएका छौँ ।

नेपालीको स्वतन्त्रता र स्वाभिमानलाई उच्च राखी समवृद्धिको अवसर दिलाउन अहिले नेपाललाई एक गतिशील मध्यमार्गमा राखेर एक गुरुराष्ट्रमा रूपान्तरण गर्नु जरुरी छ । गुरुराष्ट्रमा राज्यले आमनागरिकको पक्ष उभिने ‘हितकारी’ व्यवहार देखाउँछ न कि अहिलेको जस्तो ‘दोहनकारी’ । गुरु राष्ट्रमा सरकार सेवक हुन्छ, न कि अहिलेजस्तो शासक (भक्षक) । यहाँ समाज उद्यमशील हुन्छ, सिर्जनशीलता र नवीनता अँगाल्ने, न कि अहिलेजस्तो परनिर्भर (लाहुरमुखी र परजीवी) । अनि यहाँ नागरिक विवेकशील (विवेकी) मान्यतामा जिउन रुचाउँछन्, न कि अहिलेजस्तो स्वार्थमुखी र अल्पकालीन हुलजसरी ।

नेपालीको स्वतन्त्रता र स्वाभिमानलाई उच्च राखी समवृद्धिको अवसर दिलाउन अहिले नेपाललाई गतिशील मध्यमार्गमा राखेर एक गुरुराष्ट्रमा रूपान्तरण गर्नु जरुरी छ

गुरुराष्ट्र बनाउने यस मार्गलाई हामीले एउटा ‘गतिशील मध्यमार्ग’ भनेका छौँ । नागरिकका यी सपनालाई विपना बनाउन नेपालले आफ्ना दुई शक्तिशाली छिमेकसँग गर्ने व्यवहार र व्यापार पनि महत्वपूर्ण हुन जान्छ । कस्तो व्यवहारभन्दा गतिशील मध्यमार्गमा रहेर ‘उत्तर–दक्षिण’ नीतिका पाँच आधार अंगीकार गर्नु जरुरी छ । प्रथमतः नेपाल र हाम्रो दुवै छिमेकबीच ‘समनिकटता’को सम्बन्ध हुनुपर्छ ।

हामी तीनै छिमेकबीच सहअस्तित्व (सम्मान) स्विकार्ने माहोल बनाइराख्नु पनि जरुरी छ । अनि एक–आपसबीचको अन्तरनिर्भरताबाट दिगो विकास र प्रगतिको माहोल बनाउनुपर्छ । अनि एकआपसको सुरक्षालाई पनि प्रत्याभूति दिने माहोल बनाउन सक्नुपर्छ एक ‘समानूभूति’को वातावरण बनाउन । यस्तो मार्गमा नेपाल हिँड्न सक्यो भने यो विश्वको केन्द्रबिन्दु बन्न लायक पनि हुन्छ र नेपालीले महसुस पनि गर्नेछन् ।  यसका लागि नीति र नेतृत्व दुवैलाई यही गुरुराष्ट्र बनाउने मार्गमा लम्काउनुपर्ने वेला आइसेकको छ ।

तर, यसको ठीक विपरीत दिशामा लान अहिले नेपाली समाजलाई नै दुई अतिवादी ‘धार’मा चिरा पार्न खोजेको देखिदैँ छ, एकातिरबाट उग्रवामपन्थीबाट र अर्कातिर उग्रदक्षिणपन्थीबाट । अझ कसैले ‘मोदी पथ’ त कसैले ‘सी पथ’ को ‘कपीपेस्ट’ गर्न चाहे पनि आमनेपाली नागरिक भने यस्तो कपीपेस्टवाला मार्गमा जान चाहँदैनन् । नेपालीले न लोकतन्त्रका नाममा लुटतन्त्र मच्चेको देखिरहन चाहेका छन्, न त लोकतन्त्रको विकल्पका रूपमा उही पुरानै ‘अधिनायकवाद’ स्विकार्नै चाहेका छन् । नेपालमा लोकतन्त्रको विकल्प भनेको अझ उन्नत लोकतन्त्र हो ।

नेपालीहरू आफू र आफ्नो समुदायले खोजिरहेको स्वाभिमान जोगाउने खालको उदार लोकतन्त्र खोजिरहेछन् । यही लोकतन्त्रभित्र नेपालीले आफ्नो प्रत्यक्ष सहभागिता हुने खालको संघीय गणतन्त्र खोजिरहेछन् । नागरिकहरू शक्ति र नेतृत्वलाई जवाफदेही बनाउने विधिको शासन खोजिरहेछन् । हरेकको समतामूलक वृद्धि अर्थात् समवृद्धि फस्टाउन सक्ने दिगो बजार अर्थतन्त्र खोजिरहेछन् । यही चक्रव्यूह तोड्न अब विवेक पु-याउने नागरिक, समाज र नेतृत्व मिली उन्नत उदार लोकतन्त्रको पक्षमा साहसी भई गुरु बन्ने र बनाउने चेष्टा गर्ने वेला हो यो । 

यसरी दुई धुव्रका अतिवादीबीच मच्चिइरहेको अस्थिर पिङलाई सुरक्षित मध्यमार्गमा अवतरण गराएर, स्थिर गराउने नीति र नेतृत्वको खाँचो टड्कारो छ । विश्वकै केन्द्रबिन्दुमा रहने यस्ता अदभूत सम्भावनाबीच अब तपाईं–हामी मिलेर नेपाललाई हाम्रो उत्तर र दक्षिणले नै आदर गर्ने एक गुरुराष्ट्र बनाउन आँट्ने होइन त ? 
(थापा विवेकशील नेपाली दलका निवर्तमान अध्यक्ष हुन्)