मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०८:३५:००
Read Time : > 1 मिनेट
सम्पादकीय

एनआरएनएको तमासा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ कार्तिक १ शुक्रबार ०८:३५:००

गैरआवासीय नेपालीलाई एउटै छातामुनि ल्याई संगठित गर्ने र उनीहरूले विदेशमा रहँदा–बस्दा सिकेको सीप र आर्जन गरेको धन नेपालको आर्थिक सामाजिक उन्नतिमा लगाउने उद्देश्य राख्दै गठित एनआरएनएको अधिवेशन सकिएको छ । दसैँको छेको नेपाल आउने, आफन्तलाई भेट्ने, घरव्यवहार मिलाउने र संगठन पनि बनाउने गर्दै आएका एनआरएनएबाट राष्ट्रले ठूलो अपेक्षा राखेको बुझिन्छ ।

हरेक अधिवेशनमा राज्यको उपल्लो निकायको उपस्थिति हुने, उद्घाटन र अरू कार्यक्रममार्फत उनीहरूलाई नेपाललाई माया गर्न अनुरोध गर्ने, लगानी भित्र्याऊ, नेपालको सद्भावना दूत बन, विदेशी लगानीका लागि वातावरण बनाउन या पर्यटन प्रवद्र्धन गर्न सहयोग गर भनेर राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मले उनीहरूलाई उच्च सम्मान दिने गरेका छन् । विदेशी नागरिक भइसकेका या नभए पनि लामो समय विदेशमा रहेका नेपालीलाई नेपाल आउन, जान र यता घरजग्गा किन्न, उद्योग व्यवसायमा लगानी गर्न सजिलो होस् भनेर सरकारले अनेक कानुनी र नीतिगत व्यवस्था पनि गरेको छ ।

निकै तामझाम र हल्लाखल्लाबीच हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने परम्परा पनि बसेको छ । तर, यस अवधिसम्म उनीहरूले गरेको काम र नेपालमा ल्याउने आशा गरिएको लगानीको नगण्य प्रगति हेर्दा भने यो ढस्सायुक्त देखिँदै गएको छ । नेपालीलाई एकताको सूत्रमा उन्ने हो कि अनेकता र विभाजनका रेखा कोर्दै जाने हो भन्नेसमेत प्रश्न उठ्न थालेको छ ।

हरेक देशका एनआरएनए, चाहे ती नेपाली नागरिकता त्यागेका होऊन् या नत्यागेका, नेपालका सबैखाले राजनीतिक दलसित आबद्ध छन् । त्यसमाथि अनेक जाति, थर, गोत्र र क्षेत्रगत रूपले पनि संगठित हुँदै यताको राजनीतिक विभाजनका अनेक जायज–नाजायज परिघटनामा यो या त्यो कित्तामा उभिने गरेका छन् ।

वैयक्तिक स्वतन्त्रताका दृष्टिले यस्तो गर्नु उनीहरूको अधिकार भए पनि कमसेकम विधिपूर्वक नेतृत्व चयनपछि त्यसलाई आफ्नो मियो मानेर सहयोग गर्नु तथा नेपाल र नेपालीप्रति आफ्नो कर्तव्य निर्वाह गर्नु उनीहरूसँग स्वाभाविक रूपमा गरिने अपेक्षा हो । तर, उनीहरूमा भने राजनीतिक कित्ताकाट गरेर एकले अर्कालाई कमजोर बनाउने, नेतृत्वको पद कब्जा गर्न जायज–नाजायज तरिका अपनाउने, आफूलाई परिस्कृत लोकतान्त्रिक चरित्रअनुरूप ढाल्नुको साटो पैसा र यताका राजनीतिक दलको साथ सहयोग लिएर पद कब्जा गर्ने नसुहाउँदो प्रवृत्ति विकास भएको छ ।

एनआरएनएको अधिवेशनस्थलमा शक्ति प्रदर्शन, मतदातालाई प्रभावित गर्न पैसाको अत्यधिक प्रयोगजस्ता प्रसंगले संगठनको औचित्य र भविष्यमाथि प्रश्न उठेको छ

यसपालिको अधिवेशनमा देखिएको राजनीतिक खिचातानी र अत्यधिक पार्टीकरणबाट असन्तुष्ट भएर संस्थापक अध्यक्षले कार्यक्रम बहिष्कार गरेको समाचार अवश्य पनि निराशाको सूचक हो । त्यसमाथि अधिवेशनस्थलमा शक्ति प्रदर्शन, मतदातालाई प्रभावित गर्न पैसाको अत्यधिक प्रयोगजस्ता विषयले संगठनको औचित्य र भविष्यमाथि समेत प्रश्न उठेको छ । स्वच्छ प्रतिस्पर्धा गर्ने र जसले जिते पनि त्यसलाई नेपाली समुदाय र नेपालको हितमा प्रयोग गर्ने परम्परालाई विश्वासिलो ढंगले प्रयोग नगर्ने हो भने एनआरएनएप्रतिको लगाव र आकर्षण घटेर जानेछ ।

सन् २०२० लाई नेपालले भ्रमण वर्ष घोषणा गरेको छ । एनआरएनएका नेताले यस अवसरमा आफू बसिरहेको देशमा प्रचारप्रसार गरेर पर्यटक पठाउन मद्दत गर्न सक्छन् । नेपालीको विदेशमा गएर अध्ययन या व्यवसाय गर्दै धन आर्जन गर्ने पुस्ता भर्खर विकास हुँदै छ । त्यसबाट उनीहरू आफ्नो देशलाई माया गर्छन् र यता आएर लगानी गर्दै नाफा कमाउन सक्छन् भन्ने अपेक्षा देशले राखेको हो । तर, असम्भव गुड्डी हाँकेर यो गर्छु र त्यो गर्छु भन्ने तर काम गरेर उदाहरण देखाउन भने पछि सर्ने जस्तो भएको छ । केही हुँदै नभएको अवश्य होइन । तर जति गर्न सम्भव थियो, त्यो पनि हुन नसकेकोतर्फ नयाँ नेतृत्वले अहिल्यैदेखि ध्यान देओस् ।