१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ कार्तिक १ शुक्रबार ०८:१२:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

दृष्टिविहीन सुशीलको थेरापी सेन्टर

सहरमा उद्यमशीलता

Read Time : > 1 मिनेट
२०७६ कार्तिक १ शुक्रबार ०८:१२:००

३१ वर्षीय सुशील अर्याल दृष्टिविहीन हुन् । ठूलो शरीरका कारण हिँडडुल गर्न पनि कठिन छ, शारीरिक रूपमा फरक क्षमताका यी व्यक्ति परनिर्भर भने छैनन् । कलंकीस्थित घरबाट दैनिक बस चढेर बसुन्धरा पुग्छन्, अनि दिनभर मसाज र थेरापी गर्न व्यस्त हुन्छन् । बसुन्धरा चोकस्थित चाइनिज हस्पिटलको ग्राउन्डफ्लोरमा उनले ‘कोरियन थेरापी सेन्टर’ सञ्चालन गरेका छन् ।

उनी अकुपेसर थेरापिस्ट हुन् । ढाड, कम्मर, हात, खुट्टा, जोर्नी, गर्दन दुखेका बिरामीको मसाज र थेरापी गर्छन् । प्यारालाइसिस भएका बिरामी पनि उनलाई खोज्दै आउँछन् । उनी भन्छन्, ‘थकान मेट्न, आलस्यपन, निद्रा नलाग्ने, नसा च्यापिएको, हात–खुट्टा झमझमाउने रोग निको पार्न सक्छु ।’ उनी प्राकृतिक तरिकाले मसाज र थेरापी गर्छन् । 

सुशीलको थेरापी सेन्टरमा मसाज र थेरापी गर्न लुगा खोल्नुपर्दैन । दृष्टिविहीन हुनुका बाबजुद उनले बाहिरैबाट नसाको प्वाइन्ट–प्वाइन्ट थिचेर मसाज गरिदिन्छन् । ‘मैले बाहिरी आँखाले नदेखे पनि भित्री आँखाले देख्छु,’ उनी भन्छन््, ‘भित्री आँखाले हेरेर बिरामी निको पार्नुको मजा बेग्लै छ ।’

उनले कोरियन मसाजले मात्र नपुग्ने बिरामीलाई अकुपेसर थेरापी गर्छन् । ‘यहाँ कुनै मेसिन र औषधि प्रयोग हुँदैन, मेसिन भनेकै मेरा हात हुन्,’ उनी सुनाउँछन्, ‘मैले मसाज गरिदिँदा मान्छे उठ्नै मान्दैनन्, एकदमै रिल्याक्स महसुस गर्छन्, पूरै थकान मेटिन्छ ।’ उनको मसाज सेन्टरमा नेपाली र विदशी दुवैथरी आउँछन् । एकपटक आएका ग्राहक पटक–पटक फर्किएर आउने गरेको उनी बताउँछन् । औषधि उपचार गर्दा पनि निको नभएका दुखाइ आफूले मसाज र थेरापी गरेरै निको पारिदिएको उनले दाबी गरे । 

१५ दिने प्याकेज 
सुशीलकहाँ आउने ग्राहकले १५ दिनको प्याकेजमा मसाज वा थेरापीमध्ये एक मात्रै मात्र गर्दा १० हजार ५ सय रुपैयाँ तिर्नुपर्छ । मसाज र थेरापी दुवै गर्नुपरे २१ हजार तिर्नुपर्ने उनी बताउँछन् । एक दिन मात्र मसाज वा थेरापी गर्नलाई एक हजार लाग्छ । उनले एक घन्टाभित्र टाउकोदेखि खुट्टासम्म पार्ट–पार्टको मसाज गरिदिन्छन् । ‘सुरुको एक हप्ता शरीर दुख्छ, बिस्तारै दुखाइ कम हुँदै जान्छ,’ उनी सुनाउँछन्, ‘कतिलाई १५ दिनमै निको हुन्छ, कतिलाई अलि लामो समय पनि लाग्न सक्छ । कुन रोग र कति पुरानो भन्नेमा भर पर्छ ।’

कतिपय बिरामी हस्पिटलमा निको नभएर यहाँ आउँछन् । कतिपय मसाज वा थेरापी गरेर थकान र आलस्य मेटाउन आउने पनि हुन्छन् ।


बसुन्धराको थेरापी सेन्टर पनि आफैँले कमाएको पैसाबाट खोलेको सुशीलले बताए । ‘मैले अरूकोमा काम गरेर अलिअलि पैसा जम्मा गरेर आफ्नै कम्पनी खोलेको हुँ,’ उनले भने । सुशीलले सन् २०१३ मा धोबिघाटमा रहेको न्यु लाइट ब्लेन्ड सेन्टर नेपालबाट मसाज र थेरापीको १८ महिने तालिम लिएका थिए । यो संस्थाले दृष्टिविहीनलाई मात्र व्यावसायिक तालिम दिने गर्छ ।

तालिमपछि उनले यही संस्थामा झन्डै ६ महिना अभ्यास गरे । ‘त्यसपछि गोंगबुको अकुपेसर हेल्थ सेन्टरमा १० महिना काम गरेँ,’ उनले भने, ‘त्यहाँ १० महिना काम गर्दा तीन हजारभन्दा बढीको ढाड निको पारेँ हुँला । त्यसयता, बसुन्धराको एसिया आयुर्वेद उपचार केन्द्रमा साढे दुई वर्ष र बसुन्धराकै सहिद स्मृति आयुर्वेदिक हस्पिटलमा दुई महिना काम गरेँ ।

मैले घरमै पुगेर पनि बिरामीको मसाज र थेरापी गरेको छु ।’ मसाज र थेरापीको लामो अनुभवलाई उद्यमशीलतामा परिणत गरेका सुशील भविष्यमा चर्चित थेरापिस्ट बन्न चाहन्छन् । ‘कतिपय बिरामी हस्पिटलमा निको नभएर आउँछन् । कतिपय मसाज गरेर थकान र आलस्य मेटाउन आउने पनि हुन्छन् । मैले राम्रो काम गरेर उनीहरूको विश्वास जित्ने हो,’ उनले भने ।