मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोनामछोकी शेर्पा क्याप्टेन, यती एयरलाइन्स
कञ्चन न्यौपाने
२०७६ कार्तिक १ शुक्रबार ०८:०९:००
Read Time : > 1 मिनेट
नयाँCity

ककपिटबाट काठमाडौं

Read Time : > 1 मिनेट
कञ्चन न्यौपाने
२०७६ कार्तिक १ शुक्रबार ०८:०९:००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उत्तरतर्फ अर्थात् बौद्धतिरबाट उडान र अवतरण गर्दा स्वयम्भू चैत्य निकै सुन्दर देखिन्छ । आकाशबाट टुँडिखेलमा प्रशिक्षणरत नेपाली सेनाको पंक्ति पनि सानदार देखिन्छ । खासगरी, मध्यचैतदेखि मध्यजेठ (अप्रिल–मे)को समय काठमाडौं आकाशबाट साह्रै सुन्दर देखिन्छ । त्यतिवेला फुल्ने रंगिबिरंगी ज्याकारान्डाले बढाउने सहरको सौन्दर्य शब्दमा बयान गर्न सक्दिनँ ।

यस्तै, सूर्यास्तको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दा काठमाडौं सुन्दर देखिन्छ । त्यतिवेला थानकोटको जामले यात्री र स्थानीय बासिन्दालाई सास्ती दिए पनि त्यसमा पंक्तिबद्ध सवारीसाधनको दृश्य लोभलाग्दो देखिन्छ, आकाशबाट । सहरमा सवारीसाधनको चापले आकाशमा पनि असर पार्छ । दसैँको लामो बिदामा जसरी सहरी इलाकाका सडक खाली हुन्छन्, त्यसरी नै आकाश पनि सफा हुन्छ । अन्य समयमा सवारीसाधनको धुवाँबाट सहर मात्र होइन, आकाश पनि प्रदूषित हुने गर्छ ।

रात्रि उडानमा काठमाडौंबाट बाहिरिँदा या भित्रिँदै गर्दा तारामण्डलभन्दा माथिबाट उडिरहेझैँ आभास हुन्छ । काठमाडौं–भक्तपुर ६ लेन सडकमा उज्यालो छर्दै हुइँकिइरहेका सवारीसाधनको दृश्य आकाशबाट झनै मनमोहक देखिन्छ ।
 

अहिले उपत्यकाका इँटाभट्टा बन्द भएकाले आकाशमा प्रदूषण पनि कम भएको छ । इँटाभट्टा सञ्चालनमा हुँदा बिहानैदेखि आकाशमा धुवाँको मुस्लो पुग्थ्यो । ती बन्द हुँदा आकाश निकै सफा भएको छ । जतिवेला लोडसेडिङ चरम अवस्थामा थियो, साँझपख काठमाडौं अवतरण गर्दैगर्दा कुन इलाकामा बत्ती छ, कुनमा छैन भन्ने प्रस्टै देखिन्थ्यो । बत्ती नभएको क्षेत्र उजाड देखिन्थ्यो, बत्ती भएको इलाकाको दृश्य मनमोहक हुन्थ्यो ।

अहिले लोडसेडिङ छैन, त्यसैले साँझपखको काठमाडौं झिलिमिली देखिन्छ । धन्यवाद कुलमान घिसिङज्यू ! आजकाल त काठमाडौंबाहिरका विमानस्थलबाट पनि रात्रि उडान हुने गर्छ । रात्रि उडानमा काठमाडौंबाट बाहिरिँदा या भित्रिँदै गर्दा तारामण्डलभन्दा माथिबाट उडिरहेझैँ आभास हुन्छ । काठमाडौं–भक्तपुर ६ लेन सडकमा उज्यालो छर्दै हुइँकिइरहेका सवारीसाधनको दृश्य आकाशबाट झनै मनमोहक देखिन्छ ।

मैले व्यावसायिक उडान थालेको आठ वर्ष भयो । यसबीचमा काठमाडौं धेरै फेरिइसक्यो । आकाशबाट हरियाली निकै कम देखिन्छ । आठ वर्षअघिसम्म सहरी क्षेत्रमा मात्र घरहरू देखिन्थे । अहिले भने त्यसबाहिर पनि घरैघर देखिन थालेका छन् । अब त दिउँसो आकाशबाट देखिने सुन्दर ठाउँ औँलामा गन्न सकिने मात्र बाँकी छन् । नगरकोट इलाकामै पनि हरियाली देखिन कम भइसक्यो ।

कंक्रिटको जंगल काठमाडौं । तारेभीर  नजिक र नगरकोटमा पनि घरैघर बनेका छन् । दरबार स्क्वायरहरूलाई अग्ला भवनहरूले ढाक्न थालेका छन् । ती आठ वर्षअघिसम्म साँझपख आकाशबाट सुन्दर देखिन्थे ।

कंक्रिटको जंगल काठमाडौं । तारेभीरनजिक र नगरकोटमा पनि घरैघर बनेका छन् । भूकम्पले दरबार स्क्वायर भत्किएपछि भक्तपुर क्षेत्र पनि खासै राम्रो देखिँदैन । भूकम्प आइरहेका वेला आफ्नै आँखाले भक्तपुरमा घरहरू ढलेको देखेकी थिएँ । दरबार स्क्वायरहरूलाई अग्ला भवनहरूले ढाक्न थालेका छन् । रात्रि उडानमा पनि दरबार स्क्वायरहरू प्रस्ट देखिन छाडेका छन्, खोजी–खोजी हेर्नुपर्ने भएको छ ।

आठ वर्षअघिसम्म साँझपख आकाशबाट ती सुन्दर देखिन्थे । अक्टोबर महिना माउन्टेन फ्लाइटका लागि निकै उत्तम समय हो । यतिवेला ठिक्क हिउँ पर्न थालेको हुन्छ । आकाश पनि सफा देखिन्छ । तर, माउन्टेन फ्लाइटमा क्याप्टेन बढी कामको प्रेसरमा रहने भएकाले ढुक्क भएर त्यस्तो सौन्दर्यमा रमाउन पाउँदैन ।

सगरमाथाबाट देखिने सूर्योदयको निकै चर्चा हुने गर्छ । तर, खासमा माउन्टेन फ्लाइटमा सगरमाथामा सूर्योदय नै देख्न पाइँदैन । सूर्योदय भइसकेपछि मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्छ । त्यसपछि उडेर सगरमाथातिर पुगुन्जेलसम्ममा घाम निकै माथि आइसकेको हुन्छ । सूर्यास्त भने निकै सुन्दर देखिन्छ । सूर्यास्तको वेला सातै रङको मिश्रित स्वरूप देखिनुको मजा नै बेग्लै । माउन्टेन फ्लाइटमा रहेका विदेशी पर्यटकहरू हिमालनजिक पुग्दा दंग मात्र पर्दैनन्, भक्कानिँदै रुन्छन् पनि । हामी नेपालीले भने आफ्नै देशमा भएका हिमाललाई त्यति महत्व नदिएझैँ लाग्छ ।