मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अर्जुन श्रेष्ठ धादिङ
२०७६ कार्तिक १ शुक्रबार ०७:२१:००
Read Time : > 1 मिनेट
प्रदेश

धादिङमा लागुऔषध नियन्त्रण अभियान : तीन महिनामा एक सय ७४ बिघाको गाँजा फँडानी

Read Time : > 1 मिनेट
अर्जुन श्रेष्ठ धादिङ
२०७६ कार्तिक १ शुक्रबार ०७:२१:००

जिल्ला प्रहरी कार्यालय धादिङले लागुऔषध नियन्त्रणमा अभियान सञ्चालन गरेको छ । दक्षिणी धादिङका विभिन्न ठाउँमा स्थानीयले लगाएको गाँजा धमाधम फँडानी गरिरहेको छ । 
धादिङमा पर्ने दुई ठूला राजमार्ग भएर दैनिक हजारौँ यात्रु आवतजावत गर्छन् । त्यस क्रममा लागुऔषधको ओसारपसार पनि उत्तिकै भएको पाइन्छ । यसै कुरालाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय धादिङले सवारीसाधनमा चेकजाँच, छड्ने रूपमा अनुगमनसमेत गरिरहेको छ । गाउँघरमा पसेर नेपाल प्रहरीले गाँजा फँडानी कार्य सुरु गरेको छ । अन्य बालीजस्तै दक्षिणी धादिङका चेपाङ समुदायमा एकै परिवारले ६०÷६५ रोपनीमा गाँजा लगाएका छन् । धादिङको बेनीघाट, रोराङ, गजुरी, गल्छी गाउँपालिकामा गाँजा खेती हुँदै आएको छ । 

गाउँगाउँमा प्रहरी परिचालन
दक्षिणी धादिङमा बसोबास गर्दै आएको चेपाङ समुदायका अधिकांशले खेतबारीमा गाँजा लगाउने गरेका छन् । अघिल्लो वर्षसम्म यो समयमा गाँजा मौलाएको भेटिन्थ्यो । तर, तीन महिनादेखि प्रहरीले गाँजा फँडानी अभियान चलाएकाले अहिले अधिकांशका खेतबारीमा गाँजा देखिँदैनन् । चालू आर्थिक वर्ष ०७६/७७ को असोजसम्ममा एक सय ७४ बिघा ३ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरिसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए ।

 ‘अवैध रूपमा गाँजा खेती गरिरहेका स्थानीयलाई हामीले गाँजाको सट्टा दैनिक उपभोग्य सामग्री अन्नबाली लगाउन भन्दै आएका छौँ,’ एसपी बैदवारले नयाँ पत्रिकासँग भने, ‘तर उहाँहरू मान्नुहुन्न । त्यसैले बाध्य भएर गाँजा फँडानी गर्नुपरेको छ ।’ उनले गत आर्थिकमा पनि पाँच रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फँडानी गरेको जानकारी दिए ।

 यस्तो छ लागुऔषध  बरामदको तथ्यांक 
आर्थिक वर्ष ०७६/७७ को पहिलो तीन महिनामा ९६० ग्राम चरेससहित २५ किलो १६० ग्राम गाँजा बरामत गरी नष्ट गरेको एसपी बैदवारले बताए । लागुऔषधसहित एक–एक वटा मोटरसाइकल तथा स्कुटरसहित १२ जना पक्राउ गरेको उनले बताए । गत आर्थिक वर्ष ०७५/७६ मा ५२ जनासहित एक हजार ४२८ किलो ३७९ ग्राम गाँजा, एक हजार ३१ किलो ८५ ग्राम चरेस, ९७८ ग्राम अफिम जस्ता लागुऔषध तथा साना ठूला गरी ८ वटा सवारीसाधन धादिङका विभिन्न ठाउँबाट नियन्त्रणमा लिइएको थियो । 

एसपी बैदावरले भने, ‘धादिङमा रहेका दुई ठूला राजमार्ग हँदै ६५ भन्दा बढी जिल्लाका मानिस आवतजावत गर्छन् । यस कारण पनि खटिएर अभियान नै सञ्चालन गरेका छौँ ।’ नागरिक आफैँ सचेत नहुँदासम्म लागुऔषध न्यूनीकरण हुन नसक्ने उनले बताए । ‘हामी निरन्तर लागिरहेका छौँ, तर, नागरिकले सहयोग नगर्दासम्म पूर्णरूपले नियन्त्रण गर्न कठिन हुन्छ,’ उनले भने । गाँजाको बोटदेखि मानिसको ओठसम्म पुग्नु पहिले बरामत गर्ने गरेको एसपी बैदवारले बताए ।