मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ असोज ३० बिहीबार १०:२०:००
Read Time : > 1 मिनेट
प्रदेश

गड्डाचौकीमा पहिलोपटक हेल्पडेस्क स्थापना

Read Time : > 1 मिनेट
२०७६ असोज ३० बिहीबार १०:२०:००

पश्चिम नेपालबाट भारतको राजधानी नयाँ दिल्ली आउजाउ हुने मूल नाका कञ्चनपुरको गड्डाचौकीमा सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक हेल्पडेस्क स्थापना गरेको छ । हरेक दसैँ–तिहारका वेला भारतबाट काम गरेर नेपाल फर्किने मजदुरमाथि सीमा क्षेत्रमा लुटपाटका साथै ज्यादती हुन थालेपछि यस वर्ष सीमा क्षेत्रमा प्रदेश सरकारसहित सुरक्षा निकायले हेल्पडेस्क स्थापना गरेको हो ।  

आन्तरिक मामिला तथा कानुन मन्त्रालयसहित सुरक्षा निकायले भीमदत्त नगरपालिका–१० गडडचौकीमा नागरिक सहायकता कक्ष स्थापना गरेर भारतबाट काम गरेर फर्कनेलाई सघाइरहेका छन् ।  भारतबाट घर फर्किने नेपाली मजदुर लुटिन थालेपछि मन्त्रालयले विशेष चासोका साथ नागरिक सहायता कक्ष स्थापना गरेको छ । नागरिक सहायता कक्षका कर्मचारीले भारतमा लुटिएका एवं नशालु पदार्थ खुवाएर बेहोस बनाएका नेपालीको उद्धार गर्ने र सीमा क्षेत्रमा जनचेतनामूलक अभिमुखीकरण गराउने काम थालिएको बताएका छन् । पीडित हेल्पडेस्कमा पुगेपछि उसको पीडा बुझेर सहयोग गरिँदै आएको कर्मचारीले बताए ।

सीमा क्षेत्रमा नेपाल प्रहरीले पनि छुट्टै हेल्पडेस्क स्थापना गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक पदमबहादुर बुढाले चाडपर्वलाई ध्यानमा राखेर हेल्पडेस्क स्थापना गरिएको बताए । उनका अनुसार हेल्पडेस्कमार्फत भारतबाट घर फर्किने नेपालीको यात्रा सहजता बनाइन लागिएको छ । 

‘यताबाट पीडित भएकालाई हामीले यता उद्धार गछौँ,’ उनले भने, ‘पीडितको घरसम्म पुर्‍याउन व्यवस्थापन गछौँ ।’ यस्तै, सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले संयुक्त हेल्पडेस्क स्थापना गरेको छ । सशस्त्र प्रहरी बल नम्बर ५६ गुल्म गड्डाचौकी राजस्व भन्सार गस्ती र सीमा सुरक्षा बल एसएसबीले नेपाल–भारत ७ नम्बर सीमा पिलर क्षेत्रमा हेल्पहेस्क स्थाना गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ५६ गुल्म गड्डाचौकीका इन्चार्ज एवं सशस्त्र प्रहरी नायब उपरीक्षक राजकुमार कँडेलले दुवै देशका सीमा सुरक्षा बलले संयुक्त हेल्पडेस्क स्थापना गरेको बताए ।  

रिक्साटाँगा समिति बनबासाका अध्यक्ष किशन चन्दले लुटिएर आएका यात्रुलाई सित्तैमा महेन्द्रनगरसम्म पुर्‍याइदिने गरेको बताए । रिक्साटाँगामा यात्रुलाई सास्ती दिए कारबाही गर्ने चेतावनीसमेत उनले दिए ।