मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ असोज ३० बिहीबार १०:०८:००
Read Time : > 1 मिनेट
प्रदेश

दसैँमा लागेको ऋण तिर्न नदीतिर लागे बोटे

Read Time : > 1 मिनेट
२०७६ असोज ३० बिहीबार १०:०८:००

आयो दसैं ढोल बजाई 
गयो दसैँ ऋण बोकाई... 

यो उखान टुक्का व्यास नगरपालिका–१० कुमालटारीका बोटे समुदायमा ठ्याक्कै मेल खाएको छ । ऋण लिएर दुःख, सुख दसैँ मनाएका बोटेहरू ऋण तिर्नकै लागि भनेर साबेल, चाल्नु बोकेर नदी किनारतिर लागेका छन् । केही बोटे गाउँदेखि टाढाको नदीतिर जाने तयारीमा लागेका छन् । 

आर्थिक अवस्था निकै कमजोर यहाँका बोटेहरूले दसैँ मनाउन स्थानीय साहुमहाजनसँग ऋण लिएका थिए । ऋण लिएर भए पनि दसैँ त मनाए तर, दसैँमा लागेको ऋण कसरी तिर्ने भन्ने उनीहरूलाई चिन्ता छ । यही ऋण तिर्ने चिन्ताले उनीहरू सुन खोज्न विभिन्न नदीहरूतिर लागेका हुन् । 

स्थानीय जितबहादुर बोटेका अनुसार कोजाग्रत पूर्णिमा सकिएलगत्तै बोटे समुदायका सदस्यहरू नदी किनारातिर सुन खोज्न जान थालेका छन् । उनले भने, ‘केही गइसकेका छन् भने केही जाने तयारीमा छन् ।’ उनीहरू कालीगण्डकी, बुढीगण्डकी, मस्र्याङ्दी र त्रिशूलीको बालुवामा सुनका कणहरू खोज्न जान्छन् । 

जीविका चलाउने माध्यम : माछा मार्नु र सुन खोज्नु
पर्याप्त जमिन भएका यहाँका बोटे समुदाय विभिन्न नदीनालासम्म पुगेर सुन खोज्ने र माछा मारेर जीविका चलाउँदै आएका छन् । नदीमा पानीको बहाब कम भएको वेला सुन खोज्ने गर्छन् भने अन्य वेला माछा मार्ने गर्छन् । पानी कम हुँदा बालुवामा सुन खोज्न सजिलो हुने बोटेहरूको भनाइ छ ।

स्थानीय हर्कबहादुर बोटेले दसैँ मान्न ५० हजार रुपैयाँ ऋण लागेको बताए । उनका अनुसार छोराछोरीलाई नयाँ कपडा, नुनतेल र मासु किन्दा ऋण लागेको हो । उनले भने, ‘दसैँ त सकियो तर साहुलाई पैसा कसरी तिर्ने भन्ने चिन्ता छ । त्यसैले कालीगण्डकीमा सुन खोज्न जाने तयारी गरेका छौँ ।’ उनीहरू सुन खोज्नका लागि घरबाटै डुँड, पाटी र चनौटजस्ता सामग्री लिएर जानेगर्छन् । सुन चाल्न जाँदा नदी किनारामै पाल टाँगेर बस्ने गरेको उनले सुनाए । सुन चालेर एक महिनामा २०–२५ हजार रुपैयाँसम्म कमाउने गरेको उनले बताए ।

‘नदीमा माछा भेटिन छाडे’
पछिल्लो समय नदीमा सुनका टुक्रा र माछा पाउन छाडेको बोटेहरूको दुखेसो छ । नदीमा जथाभावी करेन्ट लगाएर माछा मार्ने, विष हाल्ने गर्दा माछा भेटिन छाडेको उनीहरूको भनाइ छ । कुमालटारीमा बोटे समुदायका २६ घर छन् । यस क्षेत्रका करिब आधाजसो परिवार भने सुन खोज्न अन्यत्रै नदीमा जाने गर्छन् ।

पहिले मादी नदीमा पनि सुनका कणहरू भेटिने गरे पनि अहिले भेटिन छाडेको उनीहरूको भनाइ छ । त्यसैले पनि यहाँका बोटेहरू टाढाटाढाका नदीमा जाने गरेका हुन् । पछिल्लो समय नदीमा अवैध गिट्टीबालुवा उत्खनन गर्दा पनि माछासमेत भेटिन छोडेको उनीहरूको गुनासो छ । सुन खोज्न हिँडेकाहरू तीन चार महिनापछि मात्रै फर्कन्छन् ।